स्थानीयले संरक्षण गरेको लिम्बूहरुको ऐतिहासिक समाधिस्थल : ‘चारसुरे डाँडा’

इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित आदिवासी लिम्बू समुदायको समाधिस्थल चारसुरे डाँडामा निर्माण गरिएका पक्की चिहान (समाधिस्थल) ।  तस्बिर : राम योङहाङ

पृष्ठभूमि

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक मुलुक हो । यहाँ बसोबास गर्ने सबै जातिजातिको आ-आफ्नै भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचान छ । तीमध्ये लिम्बू समुदाय आफ्नो विशिष्ट सांस्कृतिक र धार्मिक संस्कारका कारण पहिचान स्थापित गर्दै आएको छ । पूर्वी नेपालको आदिवासी भूमिपुत्र दाबी गर्ने लिम्बू समुदायको मृत्युपछि दाहसंस्कार गर्ने आफ्नै परम्परागत संस्कार छ । त्यसमध्ये एक संस्कार हो, मृत्युपछि दाहसंस्कार गर्ने । लिम्बू समुदायको मृत्युपश्चात एक निश्चित समाधिस्थलमा दाहसंस्कार गर्ने परम्परा छ । उनीहरुले सयौं वर्षदेखि कुनै निश्चित क्षेत्रलाई समाधिस्थलका रुपमा संरक्षण गर्दै आफ्ना आफन्तको मृत्यु भएपछि सोही समाधिस्थलमा दाहसंस्कार गर्ने र चिहान बनाउने परम्परा छ ।

यसरी स्थानीय लिम्बू समुदायले सयौं वर्षदेखि सामुहिक दाहसंस्कारका लागि समाधिस्थलका रुपमा संरक्षण र प्रयोग गर्दै आएको ऐतिहासिक स्थल हो, ‘चारसुरे डाँडा’ । इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा अवस्थित ‘चारसुरे डाँडा’ एक ऐतिहासिक, साँस्कृतिक र धार्मिक स्थलको रुपमा रहेको छ । यो समाधिस्थल केवल मृतकको अन्तिम विश्रामस्थल मात्र होइन, लिम्बू समुदायको साँस्कृतिक पहिचान, धार्मिक विश्वास र ऐतिहासिक स्मृतिको केन्द्र पनि हो ।

मुख्य कालोपत्रे ‘गजुरमुखी-इभाङ-चतुरे’ सडकसँगै जोडिएको चारसुरे डाँडा करिब ७ रोपनी क्षेत्रमा फैलिएको छ । अर्को धार्मिक क्षेत्र गजुरमुखी धामदेखि इभाङ हुँदै पर्यटकीय क्षेत्र माङमालुङ पुग्ने पुरानो मूलबाटो (पदमार्ग) को दाँया र बाँयातर्फ गोहीको आकारमा फैलिएको छ । चारसुरे डाँडामा सयौं वर्षदेखि भर्खरै निर्माण गरिएका चिहानसँगै वरपिपलका रुख र वरिपरिका हरीयाली वातावरणले जो कोहीलाई मन्त्रमुग्ध बनाउने गर्दछ ।

‍ऐतिहासिक र सांस्कृतिक महत्त्व

चारसुरे डाँडाको नामाकरणको आफ्नै रोचक इतिहास छ । यस ठाउँमा पुरातन समयमा पैदल यात्रुहरूलाई विश्रामका लागि ढुङ्गाका पर्खाल लगाएर ‘चौतारी’ निर्माण गरिएको थियो । चार वटा सुर (ढुङ्गा) मिलाएर बनेको यस विश्रामस्थललाई ‘चारसुरे’ नाम दिइएको हो । स्थानीय बुढापाकाले पैदल यात्रुहरूलाई विश्राम गर्न दिन्थे र त्यसैले यस ठाउँलाई ऐतिहासिक महत्वका साथै सांस्कृतिक पहिचान पनि प्राप्त भयो ।

स्थानीय ‘जवेगू’ र ‘सम्बाहाम्फे’ दुई थरका लिम्बूहरुले चारसुरे डाँडालाई सयौं वर्षदेखि साझा समाधिस्थलका रुपमा संरक्षण र प्रयोग गर्दै आएका छन् । ‘यहाँ अन्य थरीका लिम्बूहरु पनि बसोबास गर्छन् । तर, जवेगू र सम्बाहाम्फेले मात्र यस क्षेत्रलाई आफ्नो सामुहिक समाधिस्थलका रुपमा सयौं वर्षदेखि संरक्षण र प्रयोग गर्दै आएका छन्,’ स्थानीय पृथीमान जवेगू भन्छन्, ‘यस क्षेत्रलाई हामीले मात्र होइन, राज्यलै नै साँस्कृतिक सम्पदाको रुपमा विकास गरेर संरक्षण गर्नुपर्छ ।’

लिम्बू परम्परा अनुसार मृत्युपश्चात चिहान निर्माण गरिन्छ । चारसुरे डाँडामा नयाँ पुस्ताको सय हाराहारी र साढे दुई सय वर्षसम्म पुराना पाँच सयको हाराहारीमा चिहानहरु छन् । यस स्थलमा रहेका चिहानहरु प्राचीन ढुङ्गाबाट निर्मित, विशिष्ट शैलीमा सजिएका छन् । चारसुरे डाँडामा आधा दर्जनभन्दा बढी विश्रामस्थलहरू (टहरा) पनि रहेका छन्, जहाँ दाहसंस्कारका लागि आएका मानिसहरू आराम गर्ने गर्दछन् । यी टहराहरू पनि मृतकका आफन्तहरूले निर्माण गरेका हुन्, जसले समुदायको सद्भाव र सामाजिक एकताको परिचय दिन्छ ।

‘यस स्थलका रहेका समाधिस्थलहरु लिम्बू समुदायको इतिहासको अमूल्य साक्षी हुन् । हाम्रै पुर्खाको मात्र ७ पुस्तासम्मको चिहान यहीँ छ, कतिपय त भग्नावशेष मात्र बाँकी छन्,’ जवेगू भन्छन्, ‘चारसुरे जस्तो साँस्कृतिक सम्पदा हाम्रो पहिचानको अभिन्न अङ्ग हो, जसलाई संरक्षण गर्न राज्य पनि लाग्नुपर्छ ।’ राज्यले नै त्यस क्षेत्रको सीमाङ्कन र रेखाङ्कन गरी साँस्कृतिक सम्पदाको रुपमा संरक्षण र विकास गर्नु पर्ने उनको भनाई छ ।

चारसुरे समाधिस्थल लिम्बूहरुको धार्मिक आस्था र साँस्कृतिक पहिचानको केन्द्रका रुपमा रहेकाले उनीहरुको इतिहास र परम्पराको जगेर्ना गर्ने स्थलका रुपमा विकसित गर्नुपर्ने अर्का स्थानीय प्रेम सम्बाहाम्फे बताउँछन् । ‘स्थानीय आदिवासी लिम्बूहरुको इतिहास र परम्पराको जगेर्ना गर्नका लागि पनि यस क्षेत्रको संरक्षण गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘त्यसका लागि सरकार र स्थानीय सरोकारवालाबीच सहकार्य पहिलो शर्त हो ।’

विशेषता

इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित आदिवासी लिम्बू समुदायको समाधिस्थल चारसुरे डाँडा । तस्बिर : सुजन तिम्सिना

निकै पुराना चट्टानका चौतारा तथा ठूलठूला वर र पिपल रहेको चारसुरे डाँडाबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका वस्तीहरु, हरियाली फाँटहरु एकैसाथ देखिन्छन् । मौसम सफा भएको बेला कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल समेत देख्न सकिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले स्वर्गीय आनन्द प्रदान गर्ने गर्दछ । भौगोलिक बनावटका कारण चारसुरे डाँडाले प्रकृतिप्रेमी र फोटोग्राफरहरुलाई विशेष आकर्षित गर्ने गर्दछ ।

संरक्षणको आवश्यकता र वर्तमान अवस्था

चारसुरे डाँडाको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका बाबजुद पनि यसको संरक्षणमा स्थानीय सरकारबाट अपेक्षित चासो पाएको छैन । यद्यपि गैर लिम्बू समुदायले भने यस समाधिस्थलको संरक्षणमा सक्रिय भूमिका खेलेका छन् ।

स्थानीय रेडस्टार क्लबले नियमित सरसफाई र वृक्षारोपण गर्दै आइरहेको छ भने समाजसेवी रामबहादुर कार्कीले खानेपानीको सुविधा समेत स्थापना गरिदिएका छन् । तर, विकास निर्माणका नाममा राज्य पक्षबाटै समाधिस्थलहरु भत्काउने, नष्ट गर्ने कार्य बढ्दै गएको छ जसले सांस्कृतिक हानि निम्त्याइरहेको छ । किरात याक्थुङ चम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले समाधिस्थललाई जसरी छ, त्यसै संरक्षित गर्नुपर्ने आग्रह गरेका छन् ।

उनका अनुसार, ‘समाधिस्थल नै नरहे संस्कृति मर्ने हो,’ यसले यो ठाउँको संरक्षणमा राज्यको भूमिका महत्वपूर्ण रहेको स्पष्ट गर्छ । तर हालसम्मको कानुनी संरचना र बजेट विनियोजनमा यो क्षेत्र समेटिएको छैन ।

कानुनी संरक्षण र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यता

राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले साँस्कृतिक सम्पदाको संरक्षणमा विशेष प्राथमिकता दिएको छ । नेपालको संविधान, २०७२ को धारा १८, ३२ र ४२ ले आदिवासी तथा जनजातिका मौलिक हकको व्यवस्था गरेको छ । यसैगरी धारा ५१ को खण्ड (ञ) को (८) ले आदिवासी जनजातिको पहिचानसिहत सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरुमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवहरुलाई संरक्षण र सम्वर्द्धन गर्ने भनी सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ ने आदिवासी तथा जनजातिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार पूर्ण रुपमा उपयोग गर्न पाउने अधिकार सुनिश्चत गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणापत्रले धार्मिक स्वतन्त्रता र साँस्कृतिक अधिकारलाई मौलिक अधिकारको रुपमा मान्यता दिएको छ भने यूनेस्कोको विश्व साँस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण महासन्धीले साँस्कृतिक सम्पदाको संरक्षणका लागि ठोस मापदण्डहरु स्थापित गरेको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनले साँस्कृतिक सम्पदाको संरक्षणमा विशेष प्राथमिकता दिएको छ । नेपालको संविधान, २०७२ को धारा १८, ३२ र ४२ ले आदिवासी तथा जनजातिका मौलिक हकको व्यवस्था गरेको छ । यसैगरी धारा ५१ को खण्ड (ञ) को (८) ले आदिवासी जनजातिको पहिचानसिहत सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न अवसर तथा लाभका लागि विशेष व्यवस्था गर्दै यस समुदायसँग सरोकार राख्ने निर्णयहरुमा सहभागी गराउने तथा आदिवासी जनजाति र स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, संस्कृति, सामाजिक परम्परा र अनुभवहरुलाई संरक्षण र सम्वर्द्धन गर्ने भनी सामाजिक न्याय र समावेशीकरण सम्बन्धी नीतिमा उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं. १६९ ने आदिवासी तथा जनजातिका सामाजिक, आर्थिक र साँस्कृतिक अधिकार पूर्ण रुपमा उपयोग गर्न पाउने अधिकार सुनिश्चत गरेको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको मानव अधिकार घोषणापत्रले धार्मिक स्वतन्त्रता र साँस्कृतिक अधिकारलाई मौलिक अधिकारको रुपमा मान्यता दिएको छ भने यूनेस्कोको विश्व साँस्कृतिक र प्राकृतिक सम्पदा संरक्षण महासन्धीले साँस्कृतिक सम्पदाको संरक्षणका लागि ठोस मापदण्डहरु स्थापित गरेको छ ।

राज्यको दायित्व

तर, त्यस्ता राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाले चारसुरे डाँडालाई छोएको छैन । कानुनले सम्पदाको संरक्षणमा अधिकार सुनिश्चित गरेकाले यस्ता साँस्कृतिक पक्षको संरक्षणमा राज्य गम्भीर बन्नुपर्ने साँस्कृतिक अभियान्ता किरात याक्थुङ चम्लुङका पूर्व केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बू बताउँछन् । ‘समाधिस्थल आदिवासीहरुको आस्था, विश्वास र संस्कृतिसँग जोडिएको हुन्छ । यसलाई जस्तो छ, त्यस्तै रुपमा रुपमा हुन दिनुपर्छ,’ उनी भन्छन्, ‘बरु राज्यले नै रेखाङ्कन र सीमानङ्कन गरेर समाधिस्थलको क्षेत्र छुट्याएर संरिक्षत गरेर राख्यो भने संस्कृतिको संरक्षणमा राज्यको योगदान देखिनेछ ।’ समाधिस्थल नै नरहे संस्कृति नै मर्ने उनको भनाई छ ।

पछिल्लो समय विकास निर्माणका वहानामा राज्य पक्षबाट नै समाधिस्थलहरु भत्काउने तथा मास्ने क्रम बढेको भन्दै त्यस्ता क्षेत्रहरुको संरक्षण गर्न लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङले सरकारको ध्षयानाकर्षण गराउँदै आएको छ । चारसुरे डाँडालाई सरकारले औपचारिक रुपमा संरक्षित सम्पदाको सूचीमा समावेश गरी कानुनी संरक्षण प्रदान गर्न आवश्यक रहेको किरात याक्थुङ चुम्लुङको माग छ । चारसुरे चिहानडाँडा संरक्षणमा राज्यको तर्फबाट आवश्यक बजेट विनियोजन, कानुनी संरचना र प्राविधिक सहयोग उपलब्ध गराउनुपर्दछ ।

साँस्कृतिक पर्यटनको सम्भावना

चारसुरे डाँडालाई साँस्कृतिक पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिन्छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राई यस वर्षदेखि नीति तथा कार्यक्रममा नै समावेश गरेर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र सम्वर्द्धन गरिने बताउँछन् । ‘यसले लिम्बू समुदायलाई आफ्नो पहिचानप्रति गर्व गर्न र एकताको भावना बलियो बनाउन मदत गरेको छ,’ अध्यक्ष राई भन्छन्, ‘यस वर्षदेखि हामी नीति तथा कार्यक्रममा नै समावेश गरी योजनावद्ध रुपमा यहाँको ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रवर्द्धनको काम गर्नेछौं ।’

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले चारसुरे डाँडा समाधिस्थललाई साँस्कृतिक सम्पदाको रुपमा संरक्षण गर्ने प्रयास भइरहेको बताउँछन् । ‘चारसुरे डाँडा समाधिस्थल संरक्षणका लागि पालिका र समुदायबीच सहकार्य आवश्यक छ,’ उनी भन्छन्, ‘स्थानीय समुदायसँग छलफल गरेर आगामी कार्ययोजना बनाउनेछौं ।’

धार्मिक र साँस्कृतिक महत्वलाई दृष्टिगत गरी सबै सरोकारवालाको सहभागितामा उचित योजना बनाई पर्यटन विकास गर्न सकिने वडा अध्यक्ष कृष्णबहादुर बस्नेत बताउँछन् ।

निष्कर्श र सुझाव

चारसुरे डाँडालाई साँस्कृतिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन समग्र, योजनाबद्ध र दिगो दृष्टिकोण आवश्यक छ । यसका लागि स्थानीय सरकार, नीजि क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरुबीच सहकार्य अपरिहार्य पर्छ । चारसुरे डाँडाको साँस्कृतिक पर्यटन प्रवर्द्धनका लागि समाधिस्थल क्षेत्रको घेराबारा, व्यवस्थित खानेपानी, शौचालय, इन्टरनेटजस्ता आधारभूत कामको थालनी स्थानीय स्तरबाट गर्नुपर्छ । त्यस्तै, सरकारको तर्फबाट चारसुरे डाँडाको साँस्कृतिक विशिष्टतालाई मध्यनगर गर्दै त्यस क्षेत्रको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध रुपमा काम गर्नुपर्छ ।

चारसुरेमा रहेका पुराना चिहानहरुले यहाँका समुदायको इतिहास बुझ्न सहयोग गरेको छ । चिहानहरुमा जातीय पहिचान, संस्कार र धार्मिक विश्वास झल्कन्छन् । स्थानीय लिम्बू समुदायले यो क्षेत्रलाई आफ्नो ऐतिहासिक पहिचानको रुपमा लिन्छन् । यसले ती समुदायका साँस्कृतिक तथा सामाजिक सम्बन्धलाई बलियो बनाएको छ । यसको अन्य सम्भावनालाई योजनाबद्ध ढङ्गले व्यवस्थापन गर्दै जिल्लाकै एक साँस्कृतिक सम्पदाको रुपमा विकास गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार