गजुरमुखी धामको ‘बाजबिरे घण्टी’

  बालकृष्ण बस्‍नेत
1.1k Shares

ईलामको माङसेबुङ गाउँपालिका-१ मा अवस्थित गजुरमुखी धाम ।

१. गजुरमुखीको ‘बाजबिरे घण्टी’

पश्चिम ईलामको माङसेबुङ गाउँपालिका-१ मा अवस्थित पर्यटकीयस्थल गजुरमुखी ऐतिहासिक धार्मिक स्थल हो । यस स्थलको नजिकै बग्ने देउमाई खोला पश्चिम र फेवा खोलाको उत्तरमा गजुरमुखी धाम अवस्थित छ । करिब ७० रोपनी क्षेत्रफलमा फैलिएको यस धाम परिसरभित्र संसारी माईथान, बाह्र ज्योतिलिङ्ग, शिवालय, पाथिभरा जस्ता थुप्रै स्थलहरू पनि रहेका छन् । हरियाली रूख बिरुवा, विभिन्न जातका फलफूल, रङ्ङ्गीचङ्गी र फूलहरूले छोपेको गजुरमुखी धाम आफैमा सुन्दरताकी धनी देखिन्छिन् । विभिन्न कालखण्डमा गजुरमुखीलाई अङ्करे भिर भन्ने गरेको किंवदन्ती भनाईहरू छन् । चट्टान माथिको बडेमानको चट्टान नाङ्गो आँखाले सोझै हेर्न ठूलै साहस चाहिन्छ । सदियौँ देखिका ठूला ठूला रूख चट्टानमाथि अडिनु जो कोहीले यस धामको अदभूत शक्तिको प्रसंशा गर्ने गर्छन् । बि. सं. १८३६ सालमा बाजबिर योङहाङ नाम गरेका पुजारी (धामी) ले अदभूत शक्तिकी देबी गजुरमुखी माता रहेको यस स्थानमा तपस्या गरी उत्पत्ति भएको त्यहाँस्थित शिलालेखमा उल्लेख छ । तिव्र बिकास र बाक्लिँदो पर्यटक आगमनले सम्बृद्वितर्फ उन्मुख यस स्थल पुग्न इलाम सदरमुकामबाट करिब ४० किलोमिटर दुरी पार गरेर ईलाम सदरमुकामबाट कच्ची र कालोपत्रे हुँदै पुग्न सकिन्छ ।

गजुरमुखी धामका उत्पतिकर्ता बाजबीर योङहाङले प्रयोग गरेको घण्टी

२. निम पूजामा मात्र बाजबिरे घण्टी :

ठुलो बाकस भित्र रङ्गीन कपडाले बेरिएको टलक्क टल्किने घण्टी देखाउँदै ७६ वर्षीय शिव चन्द्र योङहाङ भन्छन् –‘यो बाजवीरको घण्टी हो ।’ झट्ट हेर्दा टल्किने सुनैको जस्तो देखिने, क्षमता भन्दा बढीको ओजन अनुमान गरिने र अलौकिक किसिमको आवाज दिने बाजवीरे घण्टी बाजवीरका २८औँ पुस्ताले सुरक्षित राखेका छन् । गजुरमुखीधामको उत्पतिकर्ता बाजवीर र उनले ४ महिना भक्तिभाव गरेको ठाउँ गजुरमुखी धाम भएकोले सोही समयमा देवी भावद्वारा पाएको घण्टी हो भन्छन् शिव चन्द्र । (कुराकानीमा आधारित)

तर यो घण्टी ऐतिहासिक हो या होईन भन्ने कुनै सत्यतथ्य भने छैन । नेपाल पुरातात्विक विभागमा घण्टीको जाँच गर्ने तयारी भने भईसकेको परमपरागत बाजवीर सेवा समितिका अध्यक्ष युवराज योङहाङले बताए । (कुराकानीमा आधारित)

१८३६ कार्तिक शुक्लपक्ष पूणिर्मा तिथिका दिन बिधिवत रूपमा गजुरमुखीको ओडारबाट निस्कँदै गर्दा बाजवीरले साथमा ल्याएको घण्टी भएकाले आजका दिनसम्म पनि कार्तिक शुक्लपक्ष पूर्णिमाका दिन निम पूजाका रूपमा सो बाजवीरे घण्टीको विधिवत रूपमा पुजाआराधना गरिरहेको शिवचन्द्रको भनाइ छ । गजितहाङका माइला छोरा फेःजिरी फेदाङ्बा बाजवीर पुर्खा हिलिहाङका २४ औँ पुस्तामा पर्छन्, उनले १८३६ देखि १८६२ सम्म गजुरमुखीधामको पहिलो पुजारी रहेर २६ वर्ष बसी १८६२ मा स्वर्गाा.रोहण भई आफ्‌ना २५ औँ पुस्ताका छोरा सुरवीर र २६ औँ पुस्ताका नाति हंसधोज हुँदै आउँदा २८ औँ पुस्तामा सहानन्द, जलाहाङ र नालहाङका नाति, पनातिहरूले सुरक्षित रूपा राखि पूजा आरधाना गर्दै आईरहेको पुजारी समितिका सचिव लिला योङहाङले बताए । (कुराकानीमा आधारित)

गजुरमुखी धामका उत्पतिकर्ता बाजबीर योङहाङको प्रतिमा ।

३. गजुरमुखी पर्यटन विकास बोर्ड :

२०६४ सालमा स्थापना भएको गजुरमुखी पर्यटन बोर्डले धेरै विकाका कामहरू गरेको स्थानीय स्वास्थ्यकर्मी मित्र प्रसाद न्यौपाने बताउँछन् । आर्थिक वर्ष २०६५/०६६ सालमा जिल्ला पर्यटन विकास बोर्डबाट आएको तीन लाख ५० हजारले सहज रूपमा धाम ओहोर–दोहोर गर्ने ठाउँमा वालहरू बनिसकेका छन् भने पर्यटन बोर्डकै पहलमा  २०७४ मा तत्कालीन माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इधिङ्गोले आठ लाख क्रमागत रूपमा बिनियोजन गरि गजुरमुखी पर्यटन भवन बनिसकेको छ । हाल सोहि भवनमा धामवासीले पर्यटन सम्बन्धी विविध कार्यक्रम गर्दै आईरहेका  बोर्डका निवर्तमान अध्यक्ष घनश्याम अधिकारी बताउँछन् । (कुराकानीमा आधारित)

ठूलो क्षेत्रफलमा फैलिएको धामका विभिन्न स्थलहरूमा पुग्ने ठाउमा सुन्दर सिँडीहरू बनिसकेका छन् । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७५र/०७६ मा बिनियोजन गरेको ५० लाखले धाम परिसरमा शौचालय, शुद्व खानेपानी, आर्कषक पोखरी तथा शिवालयस्थलको मर्मत सम्भार गरेपछि धामको सुन्दरतामा थप वृद्धि भएको छ । धामको शिर आसपासका सामुदायिक विद्यालय र प्रहरी चौकी हुँदै जाने सिँडी समेत ०७६/७७ मा नेपाल पर्यटन बोर्डकाट प्राप्त १५ लाखले निर्माण गरिएको थियो । जसले गर्दा क्रमशः गजुरमुखी धाममा आउने तीर्थालु भक्तजन र अन्य पर्यटकका लागि सुविधा थपिँदो अवस्थामा छ । दर्शनार्थी र पर्यटकको चाप बढ्दै जाँदा धामको मुख्य गुफा अगाडि माङसेबुङ गाउँपालिकाको पहलमा प्रदेश सरकारको २०८०/०८१ को १२ लाख बजेटले बनेको भवनले दर्शनका लागि पालो गर्न, फोटो खिच्न र भक्तजनलाई रमणीय दृश्यावलोकन गर्न पनि सहज भएको स्थानीयले बताएका छन् । धार्मिक तथा पर्यटकीय हिसाबले सम्भाव नै सम्भावना बोकेको यस स्थललाई २०६४ सालबाट पर्यटकीयस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिरहेको गजुरमुखी पर्यटन विकास बोर्डका अध्यक्ष सुरेन्द्र नेम्बाङ बताउँछन् । (कुारकानीमा आधारित)

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पूर्वकै प्रसिद्ध र चर्चित धाम गजुरमुखीको विकासमा कुनै कसर बाँकी नराखिने बताउँछन् । ‘गुरुयोजनाअनुसार धामको विकासका लागि गत आ. व. २०८०/०८१ मा पालिकाकै पहलमा प्रदेश सरकारबाट २५ लाख विनियोजन गराई धामको विकासमा महत्वपूर्ण कामहरू गरेका छौँ’, अध्यक्ष राई भन्छन् –‘हाम्रो पालिका धार्मिक पर्यटनको हव बन्न सक्ने बलियो सम्भावना भएको पालिका हो । त्यसैले यो सम्भावनालाई उजागर गर्ने निरन्तर प्रयासमा हाम्रो सिङ्गो टिमले काम गरिरहेका छौँ ।’ (कुराकानीमा आधारित)

धार्मिक आस्थाले बाँधेको गजुरमुखी मेला :

कार्तिक पूर्णिमाको अवसरमा गजुरमुखी धाममा लागेको मेला ।

निसन्तानलाई सन्तान, बोली नभएकालाई बोली र चिताएको पुग्ने देवस्थलको रूपमा चिनिदै आएको गजुरमुखी धाममा बर्सेनी कार्तिक पुर्णिामामा ठूलो धार्मिक मेला लाग्ने गरेको छ । तीन दिनसम्म लाग्ने मेलामा टाढा टाढादेखि तीर्थालु दर्शनार्थी आउने गर्दछन् । तत्कालीन गजुरमुखी उत्पत्तिकर्ता बाजवीरका वंशज तथा भाइभारदारहरूले सोही दिन निम पूजा गरिँदै आएको अवस्था छ । गजुरमुखी मेला ऐतिहासिक मेला हो । यो मेला भर्न देश तथा विदेशबाट साधुसन्त तथा पर्यटकहरू आउने गरेका छन् । पछिल्लो समय गजुरमुखी मेलाको अवसर पारेर विभिन्न खेल तथा मनोरञ्जनका कार्यक्रम गरिँदै आइरहेको बोर्ड अध्यक्ष नेम्बाङ बताउँछन् । खेलको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउँदा गजुरमुखी बजार र स्थानीयवासीको जीवनस्तरमा निकै टेवा पुगेको छ । गजुरमुखी मेलामा तीनदेखि चार लाखसम्म व्यापार हुने गरेको  स्थानीय होटल व्यवसायी चन्द्रकला कार्कीको भनाइ छ । (कुराकानी आधारित)

स्थानियका बारीबाट किनेर ल्याएको सागसब्जी, माछामासुलगायत उपभोग्य वस्तुहरू अत्यधिक बिक्री हुने भएकोले आफूलाई मात्र नभई आसपासका बारूङ, धुसेनी, पाटीगाउँ, तोभाङ र इभाङका सयौँ कृषकलाई समेत गजुरमुखी मेलाले फाईदा पुगेको कार्कीको दावी छ ।

निष्कर्ष :

विभिन्न कालखण्डको साक्षी गजुरमुखी धामको संरक्षण सम्वद्र्धन तथा प्रचार–प्रसार गर्न अझै थुप्रै कार्यक्रम ल्याउन सके सिङ्गो  माङसेबुङकै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने र आयआर्जनमा समेत वृद्धि हुने स्थानीयको बुझाई छ । धाममा आउने दान, भेटी तथा सहयोगबाट यहाँ हुने सम्पूर्ण खर्च कटाएर पाँच लाखसम्म आम्दानी हुने गरेको परम्परा बाजवीर सेवा समितिका अध्यक्ष युवराज योङहाङ बताउँछन् । (कुराकानीमा आधारित)

यसरी आएको पैसाले धामकै विकासमा काम गरिरहेको उनको भनाई छ । पछिल्लो समय धामको आय पुजारी समितिले हेरिरहँदा अब पालिकाले आम्दानीको श्रोत बनाई काम गर्नुपर्ने सुझाव बोर्डका अध्यक्ष सुरेन्द्र नेम्बाङको छ । (कुराकानीमा आधारित)

धाम र धाम आसपासका बजारको व्यवस्थापन गर्न गजुरमुखी पर्यटन बोर्ड, बाजवीर सेवा समिति , बजार व्यवस्थापन समिति र सिङ्गो पालिका एक ढिक्का भएर लाग्नुपर्ने देखिन्छ ।

(यो लेख तयार पर्न विभिन्न समयमा कुराकानी गरिएका व्यक्तिहरुको नाम र पद लेखमै खुलाइएको छ।)

गजुरमुखी धाममा दर्शन गर्न आएका भक्तजनहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार