१७१ दाता मार्फत महादेव गुप्तेश्वर माविमा ३६ लाख अक्षयकोष - Nayabulanda.com

१७१ दाता मार्फत महादेव गुप्तेश्वर माविमा ३६ लाख अक्षयकोष

पाँचथर:  फिदिम नगरपालिका १४ नम्बर वडास्थित महादेव गुप्तेश्वर माध्यमिक विद्यालय फुल्पामा ३६ लाख २९ हजार १३४ रुपैयाँ अक्षयकोषमा जम्मा भएको छ । अक्षयकोष स्थापना मार्फत विद्यालयलाई दीर्घकालीन रूपमा सक्षम बनाउने लक्ष्यसहित यो रकम संकलन गरिएको हो। सोमबार  विद्यालयले अक्षयकोषमा सहयोग गर्ने १७१ जना दातालाई सम्मान गरेको छ। पाँच हजार रुपैयाँभन्दा बढी सहयोग गर्ने सबै दातालाई सम्मानपत्र प्रदान गरियो भने, ५० हजार रुपैयाँभन्दा माथिको सहयोगकर्तालाई दोसल्लासहित सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक कमल बाँस्कोटाले जानकारी दिए। साथै, पाँच हजार रुपैयाँभन्दा माथि सहयोग गर्ने दाताको नाम विद्यालय परिसरमा शिलालेखमा राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले विद्यालयको यस्तो पहल सराहनीय भएको बताउँदै भविष्यमा भौतिक संरचना निर्माणमा समेत नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। “विद्यालयको अक्षयकोष स्थापनामा समर्पित विद्यालय परिवारको पहल उदाहरणीय छ,” उनले भने, “यसमा हामी पनि आवश्यक सहयोग गर्दै जानेछौं। विद्यालयमा हाल ४ कक्षासम्म अंङ्ग्रेजी माध्यममा पठनपाठन सुरु भइसकेको छ भने, मातृभाषा सिकाइ कार्यक्रम अन्तर्गत लिम्बू भाषाको ‘आनिपान’ भन्ने कक्षा शैक्षिक सत्र २०८२ देखि सञ्चालनमा ल्याइएको प्रअ बाँस्कोटाले जानकारी दिए।

उनका अनुसार, अक्षयकोषमा जम्मा भएको रकम मुद्धती खातामा राखी त्यसबाट प्राप्त ब्याजबाट अंङ्ग्रेजी माध्यमलाई निरन्तरता दिइने, आर्थिक रूपले कमजोर परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा तथा छात्रवृत्तिबाट अध्ययन सामग्री उपलब्ध गराइनेछ। साथै, भविष्यमा क्याम्पस तहको उच्च तथा प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने लक्ष्य लिइएको  बताए।कार्यक्रममा विशेष अतिथि नगर उपप्रमुख राधाकृष्ण न्यौपाने, मानव अधिकारकर्मी सूर्यकुमार निरौला, वडाध्यक्ष राजन नेम्वाङलगायत विभिन्न दाताहरूको सहभागीता रहेको थियो।उपप्रमुख न्यौपानेले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्थामा शैक्षिक गुणस्तर सुधार गर्दै सामुदायिक शिक्षा सशक्त बनाउन नगरपालिका लागिपरेको उल्लेख गरे।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर फागोको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

Nayabulanda.com