कृष्ण सेन इच्छुकको २३ औं स्मृति दिवस : प्रेस सेन्टर इलामद्वारा राहसल बाल अनाथलयमा खाद्यन्न सहयोग

इलाम : सहिद कृष्ण सेन इच्छुको २३ औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर इलामले सदरमुकामस्थित राहसल अनाथालयमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराएको छ ।

प्रेस सेन्टर इलामले मङ्गबार इलाम नगरपालिका–९ मा रहेको राहसल बाल अनाथालयमा दैनिक उपभोग्य सामाग्री उपलब्ध गराउँदै स्मृति दिवस मनाएको हो ।

अनाथालयमा आश्रित १५ जना बालबालिकाहरुलाई दैनिक उपभोग्य सामाग्री प्रदान गर्दै स्थापना दिवस मनाएको प्रेस सेन्टर इलाम अध्यक्ष नमिन ढकालले जानकारी दिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) प्रदेश सदस्य प्रभास शर्मा, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राम योङहाङ, इलाम अध्यक्ष नमिन ढकाल, निवर्तमान अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ प्रदेश सदस्य बुद्धमाया सोङ्मी, एकीकृत अखिल नेपाल शिक्षक संगठन इलाम अध्यक्ष उमाकान्त भट्टराई लगायतले सामाग्री हस्तान्तरण गरे ।

कृष्ण सेनको २०१३ साल कार्तिक ३ गते बाबु यामबहादुर सेन र आमा भिमकुमारी सेनको कोखबाट भएको थियो । कृष्णलाई जनपक्षीय पत्रकार भएकै कारण तत्कालीन सरकारले २०५९ साल जेठ ६ गते गिरफ्तार गरिएको थियो ।

जनादेश साप्ताहिकका सम्पादक रहेका उनलाई गिरफ्तारीपश्चात् महेन्द्र पुलिस क्लबमा हिरासतमा चरम यातना दिई २०५९ जेठ १३ गते हत्या गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार