इलाममा मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

  नयाँ बुलन्द
238 Shares

इलाम : इलाम नगरपालिका–७ टुडिखेलस्थित नाङलो रेष्टुरेन्ट अगाडि पार्किङ गरिएको रोयल इन्फिल्ड मोटरसाइकल चोरी गर्ने दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हिजो राती करिब ८ः१५ बजे प्र.१-०१-०१८ प-१७२४ नम्बरको कालो को रोयल इन्फिल्ड मोटरसाइकल चोरी भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलाम र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोली परिचालन गरिएको थियो ।

प्रहरीको सक्रिय खोजतलासपछि सोही रात इलाम नगरपालिका-८ तिल्केनी क्षेत्रबाट चोरी भएको मोटरसाइकलसहित दुई जना अभियुक्त फेला पारेर नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका अभियुक्तहरूमा इलाम नगरपालिका वडा नं. ८ तिल्केनीका २० वर्षीय सुमन तामाङ र २८ वर्षीय भूपेन्द्र कडेरिया रहेका छन् ।

उनीहरूलाई जिल्ला अदालत इलाममा उपस्थित गराई ७ दिनको म्याद थप लिइएको र हाल जिल्ला प्रहरी कार्यालय इलामबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न अन्य सम्भावित व्यक्तिहरुको पनि खोजी गरिरहेको जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार