
इलाम : इलामको भाग्यरेखा कोर्ने महत्वाकांक्षी योजना केचना-कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत इलाम बेलासे खण्डमा पर्ने पुवाखोलामा निर्माणाधीन बेलिबृज अब सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाको वडा नम्बर ९ र ११ को सीमानामा अवस्थित पुवाखोलामा करोडौं रुपैयाँको लगानीमा यो बेलिबृज निर्माण भइरहेको छ ।
सडक डिभिजन कार्यालय इलामकाअनुसार यो बेलिबृज एक करोड ३५ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको छ । यो सडकले झापाको व्यापारिक केन्द्र बिर्तामोडसँग सीधा सम्पर्क स्थापित गर्ने मेची करिडोरको महत्वपूर्ण भाग हो । बेलिबृजको संरचनाबाहेक ढुवानी र निर्माण कार्यको ठेक्का आह्वान गरिएको थियो भने बेलिबृजको आवश्यक सामग्री सडक डिभिजन कार्यालयबाटै उपलब्ध गराइएको थियो ।
सगर/सुभारम्भ/एरिसा जेभीले यो बेलिबृज निर्माणको ठेक्का लिएको छ । ४८ मिटर लम्बाइको यो बेलिबृजको भौतिक निर्माण कार्य लगभग ७० प्रतिशत सकिएको छ । निर्माण कम्पनीका प्रतिनिधि छिरिङ शेर्पाले दिएको जानकारीअनुसार अबको केही हप्ताभित्र, अर्थात् जेठ महिनाको अन्तिमसम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न हुनेछ ।
मेची करिडोर सडकखण्डको यो खोलामा पुल नहुँदा विशेषगरी वर्षायाममा यहाँ जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । खोलामा पानीको बहाव बढेको समयमा सवारी साधनहरूलाई वारपार गर्न निकै कठिन हुन्थ्यो । पुल नभएकै कारण केही महिना सवारी साधनहरू खोलाबाटै जोखिम मोल्दै आवतजावत गर्न बाध्य थिए । बर्खाको समयमा भने यो सडक पूर्णरूपमा बन्द हुने गरेको थियो ।
पुवाखोलामा बेलिबृज निर्माण सम्पन्न भएपछि वर्षातको समयमा पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका केही भागमा सहज र नियमित रूपमा यातायात सञ्चालन हुनेछ । यसले यी क्षेत्रहरूमा सामान ढुवानी गर्न र यात्रुहरूलाई आवतजावत गर्न निकै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सडक निर्माणले समेत गति लिँदै
यसैबीच, मेची राजमार्ग हुँदै इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र विर्तामोड पुग्न ७० भन्दा बढी घुम्ती पार गर्दै ८३ किलोमिटरको यात्रा गर्नुपर्छ । तर, तराई झर्ने द्रुतमार्गको रूपमा हेरिएको मेची करिडोरको इलाम-विर्तामोड खण्डको जम्मा दूरी भने अधिकतम ५० किलोमिटर मात्र छ ।
इलाम खण्डको माई नगरपालिका क्षेत्रको करिब १५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी १७ किलोमिटर खण्डमध्ये १४ किलोमिटरमा ठेक्का लागेर निर्माण कार्य जारी छ भने बाँकी रहेको भागमा समेत काम सुरु गर्ने प्रक्रिया अगाडि बढाइएको सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए ।
भट्टराईकाअनुसार हाल इलामको गोलाखर्क भञ्ज्याङदेखि माई नगरपालिकाको सोक्तिमसम्म तीनवटा प्याकेजमा सडक निर्माणको काम भइरहेको छ ।
२०२१ सालमा नै झापाको शनिश्चरे हुँदै मोटर इलाम आइपुगेको यो सडक मेची राजमार्ग खुल्नुअघि पैदल झापा झर्ने एक मात्र विकल्प थियो। नेपालकै होचो भूभाग केचनाकवलदेखि विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा जोड्ने निर्माणाधीन यो सडकको कुल दूरी १९० किलोमिटर छ । साबिक मेची अञ्चलका इलाम, झापा, पाँचथर र ताप्लेजुङका बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने यो सडक निर्माण कार्य छिट्टै सम्पन्न भएमा यस क्षेत्रको आवागमनमा सहजता आउने मात्र नभई आर्थिक गतिविधिमा पनि उल्लेख्य वृद्धि हुने निश्चित छ ।






















































