पाँचथरः नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको वर्तमान आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक अवस्था ठीक नदेखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
आइतवार पाँचथरको फिदिममा नेपाल प्रेस युनियनको आयोजनमा भएको पत्रकार भेटघाटमा उनले सो कुरा बताए । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेपछि केही हुन्छ भन्ने कल्पना गरिएको भएपनि संविधान पुनरावलोकन गर्ने कुरामा कतै चर्चा समेत नभएको, भ्रष्टाचार न्यूनीकरण, सुशासन र आर्थिक अवस्था सुधार गर्ने भनिए पनि ती हरेक पक्षमा सरकार चुकेको बताए ।
जनतामा निराशा छाएको स्वीकार गर्दै आशा गर्ने ठाउँहरू प्रशस्त रहेको र नेपालीमा इच्छाशक्ति र क्षमता रहेको विश्वास व्यक्त गरे । यद्यपि, अहिले काम भइरहेको नदेखिएको उनको भनाइ छ । डा. कोइरालाले जनतामा कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणबाट हटाउने कुराले जनतामा नैराश्यता छाएको पत्रकार भेटमा धारणा राखे । अर्बौं बक्यौता उठ्न बाँकी रहेकाले घिसिङले दबाव दिइरहेको र उनी हटेपछि आएका कार्यकारी प्रमुखले पनि खासै प्रयास नगरेको आरोप लगाए ।
हालै अध्यागमनको विषयमा भएको घटनाबारे बोल्दै गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिएको भए राम्रो हुने धारणा व्यक्त गरे । नेपाली कांग्रेस भित्र पनि केही फरक विचार रहेको र भोलि बस्ने पदाधिकारी बैठकले यसबारे निर्णय गर्ने उल्लेख गरे । डा. कोइरालाले देशमा केही पनि भएकै छैन भन्ने कुरालाई अस्वीकार गर्दै गर्न सकिने धेरै कुरा रहेको प्रष्ट्याए । चारवटा मुख्य क्षेत्र पर्यटन, उच्चस्तरीय कृषि, जलविद्युत/सौर्य ऊर्जा र डिजिटलाइजेसनमा ध्यान दिए नेपालले प्रगति गर्न सक्ने सम्भावनालाई औल्याए । डिजिटलाइजेसनबाट किसानलाई कसरी फाइदा दिलाउन सकिन्छ भन्नेमा सोच्नुपर्ने र शिक्षा र स्वास्थ्यमा पनि ध्यान दिनुपर्नेमा जोड दिए । देशमा भ्रष्टाचार र दण्डहीनता बढेको स्वीकार गर्दै उहाँले यी सबै कुरा सुधारेर अगाडी बढ्न जरुरी रहेको बातए । अब सरकार सुध्रिनुको विकल्प नरहेको उनको भनाइ छ । प्रत्रकार भेटघाट कार्यक्रममा पार्टीका केन्द्रिय सह-महामन्त्री भिष्मराज आङ्देम्वे र प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती पनि पार्टी नेता कोइरालाका साथमा गृह जिल्ला पाँचथरमा सहभागी थिए । पार्टीका जिल्ला सभापति रुपनारायण जवेगु सहित जिल्लाका नेता तथा कार्यकर्ता र प्रेस युनियन पाँचथरका अध्यक्ष खविन लुईटेल र अन्य सदस्य साथै पत्रकारहरूको उपस्थिति थियो ।