
पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडास्थित फाक्तेप आयुर्वेद औषधालयको आयोजनामा नागरिक आरोग्य अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने मुल नाराका साथ शारीरिक तथा मानसिक रुपमा स्वस्थ शरीर,सकारात्मक सोच र व्यक्तित्व विकास गरी स्वस्थ, जीवन शैली र समृद्ध समाज निर्माण गर्ने उदेश्यले नागरिक आरोग्य कार्यक्रम संचालन गरिएको कार्यालय प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

आम नागरिकलाई शारीरिक मानसिक र आध्यात्मिक रूपमा स्वस्थ एवं सफल बनाइ विश्वव्यापीरुपमा नसर्ने रोगहरूको प्रकोपलाई न्यूनीकरण गर्न र सबै नागरिकको पहुँचमा आयुर्वेदिक सेवा पुर्याउनका लागि सहयता पुग्ने जनाइएको छ ।
स्थानीय परिवेश र आवश्यकता अनुसार उपलब्ध स्रोतहरूलाई अधिकतम रूपमा प्रयोग गरी स्वास्थ्य सेवा हरेक तहमा नागरिकको सशक्त सहभागिता मार्फत आयुर्वेद, योग तथा जडीबुटीको माध्यमबाट नागरिक स्वास्थ्य बनाउन संघीय सरकारको ३० हजार रुपैंया शसर्त बजेटबाट कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा फाल्गुनन्द गाउँपालिका नागरिक आरोग्य समिति, ५ नम्बर वडा नागरिक आरोग्य समुह, जनप्रतिनिधी,विद्यालयका शिक्षक, संघसंस्थाका प्रतिनिधी, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूहका पदाधिकारी,सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका निमित्त प्रमुख टेकनाथ अर्यालले गरेका थिए । कार्यक्रममा फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा संयोजक राजु पराजुली र वरिष्ठ कविराज निरीक्षक राम कृपाल यादवले आयुर्वेद स्वास्थ्य सम्बन्धी आवश्यक जानकारी गराए । पालिकाको सभाहलमा ५ नम्बर वडाध्यक्ष विष्णु कुमार चेम्जोङको अध्यक्षतामा सम्पन्न कार्यक्रम कार्यालय प्रमुख श्रेष्ठले संचालन गरेका थिए ।

















































