पर्यटक र पूर्वाधारको पर्खाइमा चमेरे गुफा

इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित ‘चमरे गुफा’ । तस्बिर : राम योङहाङ

समाचार सारांश

-इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरे गुफा ओझेलमा परेको छ, प्रचारप्रसार नहुँदा पर्यटनको सम्भावना खेर गइरहेको छ।

-स्थानीयबासीले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनमा सरकारी निकायको ध्यान पुगेको छैन, तर पालिकाले यस वर्षदेखि योजना बनाउने भएको छ।

-चमेरे गुफा धार्मिक स्थल गजुरमुखी धामको नजिकै छ र यसको ऐतिहासिक महत्व रहेको छ, स्थानीय सरकारले यसलाई पर्यटन गन्तव्य बनाउन खोज्दैछ।

इलाम : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङस्थित चमेरे गुफा पर्यटकको पर्खाईमा छ । देउमाई खोलाको किनारसँगै पहाडको फेदीमा रहेको ऐतिहासिक चमेरे गुफाको उचित व्यवस्थापन, संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको चमेरे गुफामा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धनको काम गर्न समस्या भएको स्थानीय पृथीमान जवेगूले बताए । स्थानीय बुढापाकाले २० वर्षअघि पत्ता लगाएको गुफाको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नजाँदा सङ्कटमा परेको उनको भनाई छ । प्रचारप्रसार र प्रवर्द्धनको अभावमा चमेरे गुफा आन्तरिक र बाह्य पर्यटकको नजरमा पर्न सकेको छैन । चमेरे गुफा जिल्लाकै प्रमुख धार्मिकस्थल गजुरमुखी धामदेखि झण्डै १ दुरीमा अवस्थित छ ।

प्राकृतिक रुपमा सुन्दर र आकर्षक देखिने चमेरे गुफा पर्यटकीय सम्भावना बोकेको भएपनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन । त्यहाँ पुग्ने कच्ची सडक बाहेक अरु संरचना बन्न सकेको छैन ।

चमेरे गुफालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि पूर्वाधारको अभाव हुँदा प्रशस्त सम्भावना भएर पनि सङ्कटमा परेको जवेगूले बताए । ‘चमेरे गुफालाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसको संरक्षण र प्रवर्द्धनसँगै र परचारप्रसार गर्न आवश्यक छ,’ उनले भने, ‘गुफाको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकेमा धेरै पर्यटकको उपस्थिति हुने सम्भावना छ, त्यसका लागि सरकारको ध्यान जान जरुरी छ ।’

सो गुफा सुरुमा महादेव गुफा भनिएपनि पछि चमेरे गुफा नामाकरण गरिएको हो । गुफाको नाम चमेरे गुफा राखिनुको कारण सो गुफाभित्र सयौं सङ्ख्यामा चमेराको बासस्थान हुनु हो ।  देवताका पालामा गजुरमुखी देवीलाई भेट्न आउँदा महादेवले सो गुफामा बास बसेको किंवदन्ती समेत प्रचलित छ, तर कुनै अनुसन्धान भने भएको छैन । पछिल्लो समय गुफामा हुलका हुल चमेरा भेटिने भएकाले सो गुफाको नाम चमेरे गुफा राखिएको स्थानीय हिमाकुमारी अधिकारीले बताइन् । ‘चमेराको बासस्थान भएकाले यो गुफाको नामा हामीले नै चमेरे गुफा राखेका हौं,’ उनले सुनाइन् ।

गुफा प्राकृतिक रुपमा बनेको र भित्री भाग अत्यन्तै फराकिलो छ । गुफाको प्रवेशद्वारदेखि भित्री भागसम्म चट्टानी संरचना देख्न सकिन्छ । खोलाको किनारमा चट्टानले बनेको संरचनाले यो गुफा वैज्ञानिक तथा भूगर्भीय अध्ययनको दृष्टिले पनि रोचक बनाएको छ ।

यस गुफालाई कतिपयले तपस्यास्थलमा रुपमा समेत मान्ने गरेका छन् । करिब ४० देखि ५० जना मानिसहरु अट्न सक्ने सो गुफामा तत्कालीन लिम्बुवानका राजाहरुले आफ्ना सेनालाई सेल्टरको रुपमा राख्ने गरेको किवदन्ती समेत प्रचलित छ ।

गुफाको वरिपिरि हरियाली, पाखाहरु र जङ्गलले पर्यटकलाई लोभ्याउने गर्छ । यो क्षेत्र पर्यावरणीय दृष्टिले समेत सम्भावनायुक्त स्थल हो । अझ पूर्वाधार विकास भएमा यो पर्यटकीय गन्तव्य बन्न सक्छ । स्थानीय सरकार तथा समुदायको सहकार्यमा यसको संरक्षण, प्रचारप्रासार र पूर्वाधार विकास गर्न सके यो गुफा जैविक अध्येताहरुका लागि समेत महत्वपूर्ण स्थल बन्न सक्ने स्थानीय मित्रप्रसाद न्यौपानेले बताए ।

चमेरे गुफाको प्रवर्द्धनका लागि सडकको स्तरोन्नतिसँगै पार्किङस्थल, प्रतिक्षालय निर्माण, खानेपानी, शौचालय, विद्युतीकरण, इन्टरनेटको व्यवस्थापनलगायतको काम गर्न स्थानीयबासीको सुझाव छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले यसवर्षदेखि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकी क्षेत्रहरुको संरक्षण र संवर्द्धनका लागि योजनाबद्ध काम गरिने बताए । ‘यसवर्षदेखि हामी नीति तथा कार्यक्रममा नै समेटर ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धनको योजनावद्ध रुपमा काम गर्नेछौं,’ अध्यक्ष राईले भने ।

२ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेतले समेत चमेरे गुफाको प्रवर्द्धन गर्न आगामी दिनमा वडाको विशेष ध्यान जाने बताए ।

जैविक विविधताको दृष्टिले पनि एक महत्वपूर्ण चमेरेर गुफा गजुरमुखी धामबाट १ किलोमिटर कच्ची सडक यात्रा पार गरेपछि पुग्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार