१. पारुहाङ साकेला थान (पार्क)को परिचय :
इलाम जिल्लाका विभिन्न उपनाम सुन्नमा आएका छन् । इलामलाई सूर्योदयको जिल्ला, पहाडकी रानी, विभिन्न ‘अ’ (हाल आठ ‘अ’) को जिल्ला (अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्य) भनेर चिनिन्छ । नेपालको सुदुपूर्वी इलाम जिल्ला महाभारत र शिवालिक पर्वत शृंखलाको पूर्वदक्षिण काखमा अवस्थित प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो । इलाम जिल्लाका विभिन्न १० वटा स्थानीय तहहरु मध्ये पश्चिम इलाममा अवस्थित छ माङसेबुङ गाउँपालिका । लिम्बू र राई जातिको सघन बसोबास रहेको माङसेबुङ गाउँपालिका धार्मिक, साँस्कृतिक विविधताका लागि प्रख्यात छ । याक्थुङ लिम्बू भाषामा माङसेबुङको अर्थ देवताले मन पराएको वा बसेको ठाउँ भन्ने लाग्छ । माङसेबुङका विभिन्न धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु मध्ये एक हो माङसेबुङ ६ मा अवस्थित पारुहाङ साकेला थान (पार्क) । २०८० पुष ९ गते यहाँ वाबुकको प्रतिमा निर्माण गरी अनावरण गरिएको थियो । यस स्थानलाई पारुहाङ साकेला थान हुँदै हाल साकेला पार्क नामाकरण गरिएको छ । पारुहाङ साकेला पार्कमा पुग्नलाई दमक–रवि–चिसोपानी पञ्चमी सडक (फाल्गुनन्द मार्ग), भेडेटार–रवि–राकेँ सडकमार्ग र दमक–रवि–चिसोपानी पञ्चमी सडकको घर्ती दोभानबाट वि.पि. मार्ग हुँदै साकेला पार्क सजिलै पुग्न सकिन्छ । चिसोपानी पञ्चमी बजारबाट डेढ किलोमिटर पश्चिमको दुरीमा रहेको यस स्थानबाट पहाडी र तराईका भूभाग हेर्न सकिन्छ । हाल यहाँ दैनिकजसो मानिसहरु आउने गर्दछन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फोटो खिच्ने, टिकटक बनाउने कार्यले ब्यापकता पाएको छ ।

२. पारुहाङ साकेला पार्कमा वाबुक (चिण्डो) को प्रतिमा :
किराती राई समुदायको बाक्लो बसोबास भएकोले पनि यस पालिकामा साकेला सिली नाच्ने प्रचलन पुरानै हो । पारुहाङ साकेला थानमा वाबुकको प्रतिमा निर्माण भएपछि हाल यो ठाउँ साकेला पार्क नामले चिनिन थालेको छ । माङसेबुङ गाउँपालिकामा लिम्बू (४२.८३ प्रतिशत) पछिको दोस्रो ठूलो जनसंख्या राई जाति (३३.६ प्रतिशत) को रहेको छ । यहाँ अन्य मगर, तामाङ, सुनुवार (मुखिया) गुरूङ, देवान (याक्खा) भुजेल, कामी दमाई बाहुन, क्षेत्रीलगायत विविध जातिको बसोबास रहेको पाइन्छ । ठूलो संख्यामा राई जातिको बसोबास भएको पालिका भएकैले यहाँ किरात राई समुदायको धार्मिक, साँस्कृतिक पक्ष बलियो छ । त्यसको पछिल्लो उदाहरणका रूपमा पारुहाङ साकेला पार्कलाई लिन सकिन्छ ।
आफ्नो ठाउँलाई के गरी चिनाउने भन्ने हुटहुटीका बीच स्थानीय युवाहरुको दिमागमा फुरेको योजनाले साकार रूप पाउँदा साकेला थानमा वाबुक (चिण्डो)को प्रतिमा निर्माण हुन पुगेको स्थानीय ध्रुब कोयु राई बताउनु हुन्छ । २०८० पुष ९ गते उधौलीको पूर्वसन्ध्यामा यहाँ भव्य साकेला सिली प्रतियोगिता आयोजना भएको थियो । सोही दिन माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले वाबुकको प्रतिमा अनावरण गर्नुभएको थियो । यस वर्षको उभौली मनाउने क्रममा २०८२ बैशाख २७ गते माङसेबुङ गाउँपालिकाको सहयोगमा यही पार्कमा बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रम सम्पन्न भयो । प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष कार्यक्रमको समेत पालिकास्तरबाट घोषणा गरिएको थियो ।

३. पूर्व कार्यको समीक्षा :
कुनै पनि समुदायको विशिष्ट पहिचान उसको पृथक तर साझा संस्कृति हो । जो अन्य समुदाय भन्दा पृथक हुनुपर्दछ भने सिङ्गो समुदायले साझा रूपमा अपनत्व लिएको हुनुपर्दछ । साकेला सिली किरात राई जातिको त्यस्तै साँस्कृतिक नृत्य हो । साकेला सिली अन्य समुदायको नाचसँग मिल्दैन, तर संसारभरका राईहरुले साकेला सिलीलाई आफ्नो साँस्कृतिक नृत्यका रुपमा नाच्नु यसको सात्व हो ।
‘विवेकशील मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेको यावत सिर्जना अनुरुपको जीवन शैली नै मानव–संस्कृति हो’ (नेपाल सरकार, २०६८), भन्ने सरकारी परिभाषाले पनि धेरथोर संस्कृतिबारे प्रष्ट्याएको छ ।
नेपालको संविधान २०७२ को धारा ३२ को ‘भाषा तथा संस्कृतिको हक’ (२) मा ‘प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको साँस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ’ भनी उल्लेख गरिएको छ । त्यस्तै (३) मा ‘नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, साँस्कृतिक सभ्यता र सम्पदाको सम्बद्र्धन र संरक्षण गर्ने हक हुनेछ’ भनी उल्लेख गरिएको छ । त्यस्तै, धारा ५१ मा व्यवस्था भएको राज्यका नीतिहरु (ग) को (३) मा ‘सामाजिक साँस्कृतिक तथा सेवामूलक कार्यमा स्थानीय समुदायको सिर्जनशीलताको प्रवद्र्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्ने’ भन्ने उल्ल्ेख छ ।
साकेला सिली पनि किरात राई जातिको जीवन शैली हो । साकेलाको महत्त्व बारे प्रकाश पर्नेक्रममा शालिक शातासक राईले ‘किरात राई यायोक्खा भाmपा स्मारिका’ (२०७९) को ‘साकेला ः राई जातिको मौलिक संस्कृति’ (पृ.७५) मा ‘साकेलामा नाचिने अनुशरणात्मक सिली जस्तै चाप्चा (बाघ) वापा चालिसम नारोवा, शिकारी सिलीले घुमन्ते युगदेखि शिकारी पशुपाल हुँदै कृषि युगसम्म भएको विकासको गतिविधिलाई बुझाउँछ, (राई, २०७९)’ भनी उल्लेख गर्नुभएको छ ।
माङसेबुङ ६ हस्टेमा निर्माण भएको वाबुकले किरात राई समुदायको मौलिक संस्कृति र जीवन पद्धतिलाई झल्काएको छ । वाबुक (चिण्डो) को उपयोगिता बारे ‘किरात राई यायोक्खा झापा स्मारिका’ (२०७९) को ‘किरात राईहरुको संस्कार र संस्कृति’ शीर्षकको लेखमा ‘जन्मदेखि मृत्युसम्मै हरेक अनुष्ठानिक कार्यमा प्रयोग हुने’ (पृ. ५२) भनेर पहिचानका रूपमा स्पष्ट पार्नुभएको छ ।
३.१ साकेला पार्क र वाबुक निर्माणको कथा :
माङमालुङ चिया बगान लिमिटेडको स्वामित्वको दुई रोपनी खाली जमिन थियो । त्यसलाई फाँडेर स्थानीय युवाले साकेला थान बनाउन सुरु गरे । त्यसअघि चिसोपानी पञ्चमी बजारको पुच्छरमा गोसलाइन पर्तिर साकेला थान थियो । डेढ किलोमिटर पर्तिरको अव्यवस्थित त्यस साकेला थानलाई हस्टेमा सारेपछि यस थानलाई कसरी व्यवस्थित गर्ने भन्ने योजना अनुसार स्थानीय युवाले सोच्न थाले । स्थानीय जगत कोयु राई, ध्रुव कोयु राई, रञ्जित राई, रत्न राईलगायत युवा जमातले यस कार्यलाई जसरी पनि पूरा गर्ने अठोट लिए । २०६६–६७ सालतिर युवाहरुको हुटहुटीले साकेला पार्क निर्माणको योजना अँकुरायो । बिगतका घटना स्मरण गर्दै स्थानीय नमूना टोल विकास संस्थाका अध्यक्षसमेत रहनुभएका जगत राई भन्नु हुन्छ –‘हामीले पञ्चमी बजारको साकेला थान हस्टेमा सारेपछि यसलाई घेराबारा गर्ने कुरा पटक–पटक आपसमा चल्यो । तर आर्थिक स्रोतको अभावले केही वर्ष त्यसै रह्यो । निक्कै समयपछि तगेन्द्र राना साम्पाङले कोरियाबाट ४० हजार पठाइदिनुभो । त्यही पैसाले घेराबारा सुरु गरियो ।’ (कुराकानीमा आधारित)
हस्टेको साकेला पार्कलाई परिकल्पना अनुसार आकारमा ढाल्न स्थानीयले नियमित श्रमदान गरिएको संस्थाका सचिव धु्रुव राई बताउनुहुन्छ । त्यतिबेला सोकला थान व्यवस्थित गर्ने र सँगै रहेको हस्टे खेल मैदानलाई सम्याउने, फराकिलो बनाउने काम गरिएको थियो । ‘हामीले साकेला थान बनाएको ठाउँमा एउटा खानेपानीको ट्यांकी निर्माणको परियोजना बन्यो । वडामा हारगुहार गरेर ०७६ सालमा ३० हजार बजेट पायौँ र केही काम गर्यौँ । जब वाबुकको प्रतिमा राख्ने गरी काम अगाडि बढ्यो, हामीलाई धेरै जनाले सहयोग गर्नुभयो । विभिन्न दाताहरुबाट करिब छ लाख बढी नगद र जिन्सी प्राप्त गर्यौँ ।’ (कुराकानीमा आधारित)
२०८० साउन ४ गते पारुहाङ साकेला थान तथा वाबुक निर्माण समिति गठन गरेर स्थानीय युवा रातौँदिन काममा जुटे । जसको परिणामस्वरूप २०८० पुष ९ गते सोमबार हस्टेस्थित साकेला पार्कमा वाबुकको प्रतिमा विधिवत अनावरण गरिएको थियो । ध्रुव राईका अनुसार १७–१८ जनाले त्यतिबेला नियमित चार महिना जति श्रमदान गरेका थिए ।
यहाँका स्थानीयले हस्टे गाउँलाई साकेला पार्कको नामले र वाबुकको प्रतिमाले चिनाउने काम गरेका छन् । साथै, हाल यो स्थान साकेला सिली प्रर्दशनको लागि पनि प्रख्यात बन्दै गएको छ । २०८० को पुषमा आयोजिकत बृहत् साकेला सिली प्रदशर्नी र २०८० को बैशाख २७ गते सम्पन्न बृहत् साकेला सिली प्रदर्शनीमा गरी २५ भन्दा बढी साकेला टोलीले सिली प्रदर्शन गरिसकेका छन् ।

४. निर्माणपछिको अवस्था :
साकेला पार्क र वाबुकको प्रतिमा बनेपछि उभौली र उधौली चाडमा मात्रै नभई अन्य समयमा पनि मानिसको चहलपहल बढेको छ । यो आम चासोको विषय बनेको छ । कार्यक्रमहरु हुन थालेका छन् । यसका परिकल्पनाकार मध्येका एक जगत कोयु राई भन्नुहुन्छ –‘व्यक्त गर्न नसकिने खुसि लाग्छ । पहिलो त साना बच्चादेखि युवाहरुले संस्कार संस्कृतिको संरक्षण, खोज र निर्माणको कुराहरु बुझ्न थाले जस्तो लाग्छ, यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो मेरो लागि । दोस्रो संस्कार संस्कृतिलाई पनि श्रृङ्गार र संरक्षण गरि आर्थिक आय आर्जन गर्न सकिन्छ भन्ने प्रमाणित हुँदै गएको छ’, (कुराकानीमा आधारित) । वैदेशिक रोजगारअन्तर्गत जगत हाल कोरियामा कार्यरत हुनुहुन्छ । वाबुकको प्रतिमासहितको पार्क र छेवैमा खेलमैदानसमेत रहेकोले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्दै गएको छ । हाल यस पर्यटकीयस्थललाई साकेला पार्कका रूपमा विकास गर्न लागिएको छ ।
केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीको विचारमा अबको पर्यटनलाई दिगो आयआर्जनको माध्यम बनाउन आवश्यक छ । ‘पर्यटनलाई प्रकृति, संस्कृति, सहासिक कार्य र कृषि उत्पादनसँग जोडेर अगाडि बढाउनु पर्छ । यसो गरियो भने मात्रै आफ्नोमा आएका पर्यटकलाई साँस्कृतिक पक्षले खुशी बनाउन र आफ्ना उत्पादन खुवाएर र बेचेर आय आर्जन गर्न सकिन्छ’, (कुराकानीमा आधारित) ।
पारुहाङ साकेला थान अहिले पारुहाङ साकेला पार्क बनेको छ । यहाँ पुग्ने पक्की सिँडी निर्माण भएको छ । थान क्षेत्रलाई घेराबारा गरिएको छ भने भूइँमा इन्टरलक टाली बिछ्याइएको छ । वसन्त ऋतुमा गुराँस फुलेर ढकमक्क हुने सकेला पार्कबाट सूर्योदय र सूर्यास्तको दृश्यावलोकन गर्न सकिन्छ ।

५. राज्यको लगानी र अपेक्षा :
आ. व. २०८०/८१ पालिकासँगको लागत साझेदारी (६०–४०) मा चार लाख (ब्लक बिछ्याउने कार्य)
आ. व. २०८१/८२ मा वडा कार्यालयले प्रधानमनत्री रोजगार कार्यक्रमअन्तर्गत एक लाख ३६ हजार (वाल निर्माण)
आ. व. २०८०/८१ मा प्रदेश सरकारको १० लाख लागतमा पक्की सिँडी निर्माण ।
पाकिलाबाट यसै वर्षको उभौली कार्यक्रम व्यवस्थापन शीर्षकमा उपभोक्ता समिति गठन गरी तनि लाख विनियोजन गरी बृहत् साकेला सिली प्रदर्शनी कार्यक्रम गरिएको ।
आगमी दिनमा यस क्षेत्रलाई किरात राई समुदायको साँस्कृतिक केन्द्र बनाउने धोको स्थानीय युवाहरुको छ । ‘यस पार्कलाई थप व्यवस्थित गरेर सुम्निमा–पारुहाङको प्रतिमा, ढोल झ्याम्टा, बिनायो, धजुरा पेचुरालगायतका प्रतिमा बनाउन पाए हुन्थ्यो भन्ने छ । छेवैमा एउटा सानो भवन बनाउन पाए अन्य साँस्कृतिक वस्तुहरु संरक्षण गरेर राख्न सकिन्थ्यो भन्ने लाग्छ’ जगत राई भन्नुहुन्छ ।
६. निष्कर्ष :
स्थानीयस्तरको विकासको पहिलो सूत्रधार स्थानीयवासीको आवश्यकता र चाहना नै हो । तर, स्थानीयवासी वा सम्बन्धित समुदाय मात्रैले पूर्वधार निर्माणलगायत विकासका कार्य गर्न सम्भव छैन । जनचाहनाअनुरुपको विकासका लागि नै राज्यको आवश्यकता परेको हो । तसर्थ, स्थानीय तहलगायत तीनै तहका सरकारले हस्टेस्थित पारुहाङ साकेला पार्कको समग्र विकासका लागि ठोस कार्ययोजना नै ल्याएर कार्य गर्नुपर्ने देखिन्छ । किनकि साँस्कृति र पहिचानजन्य सम्पदाको विकास र संरक्षणको सन्दर्भमा नीतिगत विषयहरु समेत स्पष्ट हुन जरुरी छ । राज्यको नजर परेको खण्डमा पारुहाङ साकेला पार्कले आफ्नो आकार मात्रै फेर्ने छैन । पर्यटनको दिगो सम्भावनालाई पनि साकार पर्नेछ र स्थानीयलाई त्यसबाट आर्थिक लाभ प्राप्त हुन सक्नेछ ।

सन्दर्भ सामग्री :
राई, चतुरभक्त (२०७९), ‘किरात राईहरुको संस्कृति र संस्कार’, किरात राई यायोक्खा, झापा स्मारिका २०७९, कमन
देवान (सं.) । किरात राई यायोक्खा, झापा ।
राई, शालिक शातासक (२०७९), ‘साकेला : राई जातिको मौलिक संस्कृति’, किरात राई यायोक्खा, झापा स्मारिका
२०७९, कमन देवान (सं.) । किरात राई यायोक्खा, झापा ।
नेपाल सरकार (२०७२), नेपालको संविधान, नेपाल कानून आयोग, काठमाडौं ।
नेपाल सरकार (२०६८), संस्कृति नीति, २०६८, प्रधानमन्त्री तथा मनित्रपरिषदको कार्यालय ।
https://www.opmcm.gov.np/wp-content/
कुराकानी :
१. जगत कोयु राई –पूर्व अध्यक्ष, नमूना टोल विकास संस्था, हस्टे । (कुराकानी मिति २०८२।०२।०५)
२. ध्रुव कोयु राई –स्थानीय युवा, हस्टे । (कुराकानी मिति २०८२।०२।०२)