पाँचथरः फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका न्यायिक समिति पाँचथरले मेलमिलाप सम्बन्धी ४८ घण्टे आधारभूत तालिम सम्पन्न गरेको छ । जेठ ३ गतेबाट दुई पालिकाको संयुक्त आयोजनामा फाल्गुन्द गाउँपालिकाको घुर्बिसे पञ्चमीस्थित सभाहलमा सुरु भएको तालिम शनिबार समापन गरेको छ । पालिकाले वडामा रहेका मेलमिलाप केन्द्रमा आवश्यक जनशक्ति थप गर्न र सूचीकृत मेलमिलापकर्ताहरू बृद्धि गर्दै गाउँ,टोल र वडा स्तरमै विवाद समाधानलाई प्रथामिकता दिइने उदेश्यले तालिमको आयोजना गरिएको जनाएको छ ।
मानव अधिकार मञ्च नेपाल, इलामको प्राविधिक सहयोगमा संचालित आवसीय तालिममा पालिकाका वडास्तरबाट छनौट भएका २७ जना नयाँ मेलमिलापकर्ताका लागि प्रशिक्षार्थीको रुपमा सहभागीता जनाएको फाल्गुनन्द गाउँपालिका न्यायिक समिति उजुरी प्रशासक थमराज जैसीले जानकारी दिए । तालिममा मञ्चका सहजकर्ताद्वय योगराज सापकोटा र मणी राज केरुङले सहजीकरण गरेका हुन् ।
आठ दिनको प्रशिक्षणमा द्वन्द्व र हिंसाको परिभाषा,द्वन्द्व रुपान्तरण र व्यवस्थापन, विवाद र यसको असर,मेलमिलापको परिभाषा,फाइदा,सिद्धान्तहरु,यसका चरण,मेलमिलापकर्ताको भूमिका,दायित्वलाई सैद्धातिक,प्रयोगात्मक र खेल विधिसंगै अभ्यास मार्फत शिक्षण गराइएको बताइएको छ । सहभागीहरुले शून्य अवस्थाबाट दैनिक सिकाइको अभ्यासमा न्यायिक प्रकृया,कानुनी शब्दहरुको सिकाई,व्यवहार,आचरण,सोच परिवर्तन बारे ज्ञान,मानव अधिकार सम्बन्धमा साथै मनोपरामर्शका बारेमासमेत थप सिकाइ उपलब्धी हाँसिल गरेको सहभागी मध्येबाट महेन्द्र विक्रम नेम्वाङ र पार्वती देवी निरौला(पारू) ले अनुभव प्रस्तुत गरे ।
तालिममा मेलमिलापमा आवश्यक सीपहरु,सहजीकरण सीपहरु,कानुनी तथा न्यायिक पक्षहरु, विवाद समाधानका तरीकाहरु, स्थानीय तहमा न्यायिक अधिकारको प्रयोग, मेलमिलाप सम्बन्धी ऐन र नियामावली,मेलमिलापमा प्रसंशनिय दृष्टिकोणको परिचय, बहुसरोकार रहेको विवाद मेलमिलाप लगायतका विषयमा जानकारी गराइएको थियो । कुन-कुन मुद्दा मात्रै मेलमिलापकर्ताले मिलाउन मिल्छ भन्ने महत्वपूर्ण जानकारीले समाजमा हुने विवादहरु बारे छर्लङ्ग भएको अनुभव आदान-प्रदानमा अन्य सहभागीको समेत प्रतिकृया सुनाए । सहज,सरल र मनोवैज्ञानिक तरीकाले तालिममा सीप र ज्ञान आर्जन गर्न पाएकोमा आयोजक र सहजकर्तालाई सहभागीले मुक्तकन्ठले प्रशंसा गरे । मेलमिलाप सम्बन्धी तालिम लिएपछि गम्भीर प्रकृतिका मुद्दा बाहेक अन्य विवादहरुलाई आफ्नै गाँउ ठाँउमा मेलमिलाप केन्द्र मार्फत समाधान गर्न सकिने क्षमता बढेको र आगामी दिनमा आवश्यकता अनुसार तालिम लिनु पर्ने उनीहरुको बुझाइ छ ।
समापन कार्यक्रमका प्रमुख अतिथि पाँचथर जिल्ला अदालतका न्यायाधीश कुमार मास्केले कानुन सम्बन्धी ज्ञान,अदालत र न्यायिक समितिको सम्बन्धलगायतका विषयमा सहभागीहरुलाई करीब डेढ घण्टाको प्रशिक्षण दिए । उनले समाजमा सचेतनामुलक कार्यक्रमहरु गर्न आवश्यक रहेकोले सचेतना अभिबृद्धिमा जोड दिन मेलमिलापकर्ताहरुलाई आग्रह गरे ।
जिल्लाका आठ स्थानीयतह मध्ये केही पालिका वाहेक जिल्ला अदालतले गर्ने अनुगमन,सहयोग,सुझावहरु निरन्तर दिंदै आएको जनाए । कार्यक्रममा दुई पालिकाका २७ जना सहभागीलाई प्रमुख अतिथिबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।
फाल्गुनन्द गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक ठाकुर सिंह नेम्वाङको अध्यक्षतामा सम्पन्न तालिमको समापन समारोहमा विशेष अतिथि मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्त कुमार शेर्माको आतिथ्यतामा भएको थियो । न्यायिक समिति संयोजकद्वय नेम्वाङ र शेर्माले मेलमिलाप सम्बन्धी (४८ घण्टे) तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उर्तान सहभागीहरुलाई आग्रह गरे ।
मेलमिलाप राम्रोसंग सञ्चालनका लागि पालिकाको न्यायिक समितिबाट गर्नुपर्ने सहयोगका लागिपछि नहट्ने प्रतिवद्धता व्यक्त गरे । प्रशिक्षकद्वय सापकोटा र केरुङलाई पालिका उपाध्यक्षले कदरपत्रद्वारा सम्मान गरेका थिए ।
समाजमा हुने गरेको मनमुटाव, खिचातानी, वादविवाद मेलमिलाप प्रकृयाबाट समाधान गर्न नसक्दा सन्तुलित समाज निर्माण गर्न कठिन हुने भएकाले भाईचराको सम्बन्ध कायम गर्नका लागि पनि मेलमिलापको अवधारणा सकारात्मक रहेको वडाध्यक्ष बिष्णु कुमार चेम्जोङले सहभागीलाई शुभकामना दिंदै समापनमा आफनो भनाइ राखे ।
कार्यक्रममा अदालतका तसीलदार गोपाल खनाल,कार्यपालिका सदस्य,न्यायिक समिति सदस्यलगायतको उपस्थिति रहेको थियो ।