झाडी फाँडेर लगाईएको चियाले व्यावसायिक उत्पादन दिन थाल्यो, किसान उत्साहित

  नयाँ बुलन्द
161 Shares

बाग्लुङ : बाग्लुङमा झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि चिया किसान उत्साहित भएका छन् । काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेकाे हाे ।

त्यहाँ समुदाय, सहकारी र विद्यालय मिलेर चियाखेती गरेका थिए । रेशको बौर, तिङरिङलगायतका ठाउँमा अहिले एक सय ६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ ।

गएको वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयवासीले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् ।

पाँच वर्षमै चियाका बोटले पूर्णरूपमै उत्पादन दिन थालेकाले हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्ने क्रम मङ्सिरसम्म चल्नेछ ।

जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिए । रेशमा चियाको शुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उहाँले दाउरा बिक्री गर्ने पाखो अहिले चिया बगान भएको बताए ।

काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत १८ लाख रुपैयाँ लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार