खासमा ‘कुलुङ’ जाति नेपालका अन्य जात वा जातिसरह नै साँँच्चै अलग्गै जाति वा हुन् कि, हाहा हुहुमै अन्टसन्ट कुरो गरेर अन्धाधुन्दमै ‘कुलुङ’ जातिका अगुवा तथा बुद्धिजीवीहरुले एवम् संस्थागत रुपमा ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलु गूसखोम)’ का पदाधिकारीहरुले बिना आधार ‘कुलुङ’ जाति नेपालका अन्य जात वा जातिसरह अलग्गै जाति जति हुन् भनी दावी गरिरहेका छन् ? यस सम्बन्धमा ‘कुलुङ’ जातिका सम्बन्धमा के कसो हो ? भनी थाहा नपाएका, नसुनेका, नबुझेकाहरुका लागि पनि ‘कुलुङ’ जातिका सम्बन्धमा धेरथोर चर्चा गर्नुपर्ने हुन्छ, लेख्नूपर्ने देखिन्छ ।
यही वैसाख १२ र १३ (विसं २०८२ मा) गते कुलुङ जातिहरुको अर्न्ताष्ट्रिय स्तरको सम्मलेन आयोजना गरिएको थियो । स्मरण रहोस्, सो सम्मेलन ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक–२०२२ २०३२’ को अवसरमा गरिएको हो । सो कार्यक्रमको मूल नारा वा भनौं स्लोगन ‘रोदू कूलू छेईचीम याखौखम्, नेपाली भाषामा ‘किरात कुलुङ स्वपहिचानः छलफल’ एवम् प्रकारले अंग्रेजी भाषामा चाहिँ ‘किरात कुलुङ आईडेन्टिटी डिस्कोर्स’ नामक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रम अर्न्ताष्ट्रियस्तरको गरिएको थियो । त्यसैले सो कार्यक्रममा सिक्किममा स्थाई रुपमा रहनु–बस्नु भएका १३ जना कुलुङ प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो भने सिक्किमबाट पनि कार्यपत्र प्रस्तुत गरिएको थियो । हुनत सिक्किमबाट दुई जना प्रतिनिधिले कार्यपत्र प्रस्तुत गर्ने तय भएको भए तापनि स्वास्थ्यका कारण एक जना प्रतिनिधि सिएम खम्बु (मोरोमूल थरका कुलुङ) ले अन्तिममा आएर सहभागिता जनाउन सक्नु भएन । त्यसैले सिक्किमबाट रिना ङोपोचो कुलुङ ज्यूले मात्रै आफ्नो कार्यपत्र पेश गर्नु भएको थियो भने, नेपालबाट प्रेमचन्द्र सोम्फोरु कुलुङ, कमानसिंह होदीबू कुलुङ, उद्धवकाजी गदूहो कुलुङ आदिले कुलुङ जातिका विभिन्न विषयमा आ–आफ्नो विषयगत कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस पटक गरिएको ‘किरात कुलुङ आईडेन्टिटी डिस्कोर्स’ ले कुलुङ जातिले लगभग २४ वर्षदेखि गर्दै आएको जातीय स्वपहिचानको आन्दोलनमा निश्चय पनि एक इटा थपिएको मान्न सकिन्छ । कति मात्रै सडक आन्दोलन गर्ने, जनवकालत गर्ने, विभिन्न राजनीतिक दल र तिनका नेताहरु कहाँ गएर/धाएर आफ्नो समस्या सुनाउने र सरकार बन्दैपिच्छे सरकार प्रमुख कहाँ गएर पनि आफ्नो समस्या सुनाउने अनि कुलुङ जातिलाई पनि अन्य जातिसरह अलग्गै जातिमा सूचीकृत गर्न आग्रह गर्ने काम मात्रै गरिरहने ? त्यैसेले अब कुलुङ जातिका अगुवा तथा बुद्धिजीवीहरुले ज्ञानको सत्ताको प्राक्टिस पनि सुरु गरेको छ । निश्चय नै यो सुरुवात मात्रै हो । त्यसैले अब कुलुङ जाति र कुलुङ जातिको जातीय संस्था किरात कूलू गूसखोम र कुलुङ जातिका अगुवा एवम् बुद्धिजीवीहरुले भविश्वमा पनि यस्तै ज्ञान ज्ञुनका कुरोहरु बाँड्ने–पस्कने काम निरन्तर रुपमा गरिरहनुपर्ने देखिन्छ ।
स्मरण रहोस्, यस पटकको अन्तर्राष्ट्रिस्तरको कार्यक्रमले केवल नेपाल र नेपालीहरुमा माझ मात्रै नभएर विश्व जगतले नै हामी (कुलुङ जाति) को हौं भन्ने जान्न र बुझ्न थप सहयोग पुगेको छ भनी हामीले दावीका साथ भन्न सक्छौं । त्यसैले यस्तो महत्वूपूर्ण कार्यक्रमको आयोजना गर्न अग्रसर भएकोमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूस खोम) जिल्ला कार्य समिति लगायत सबै कमिटि तथा भातृ संस्थाहरुलाई ‘हायाम–हायाम ओलोनूव’ भन्न चाहन्छु, एक सहभागीका हिसावले । अझ त्यसमा पनि हरेक हिसावले जस्तो कि तन, मन, धन दिएर यस पटकको अन्तर्राष्ट्रियस्तरको कार्यक्रमलाई सफल बनाउन घट्नु हुने कार्यक्रमका सञ्चालक तथा ‘किरात कूलू गूसखोम’का महासचिव ज्यूलाई विशेष धन्याद छ ।
अन्त्यमा,
के कुलुङ जाति साँच्चै अलग्गै जाति हो ? वा फगतमा आफ्नो अमूल्य समय खेर फाल्दै र आफ्ना जातिअवथा समुदायलाई भ्रममा पारेर ताहुर–माहुर मात्रै गरेका हुन ? भन्ने सम्बन्धमा प्रश्न उठ्न सक्छ, आम पाठकहरुमाझ । त्यसैले यहाँ छोटोमा कुलुङ जाति साँच्चै जाति वा समुदाय हो, होइन, कुलुङ जातिमा एक स्वतन्त्र जाति हुनका लागि चाहिने जातीय संरचनाहरु छ, छैन ? सो सम्बन्धका बारेमा केही लेख्दै छु । जस्तै अरु जाति वा समूहमा जसरी थर र उपथरहरु रहेको हुन्छ, त्यसरी नै कुलुङ जातिभित्र पनि विभिन्न थर एवम् उपथरहरु रहेका छन् । यस्तो थर र उपथरहरु कुलुङ जातिभित्र ३६० देखि ३८० वटासम्म रहेको छ । जस्तो कि थीम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बू, होनीत्ती, बूक्खो, सोम्फोरु, देउराम, थोमरोस, लाम्लछा, ताम्बूछा, तोर्ङो, सैमालूङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखू, गोक्तूलू, वालाखाम, वार्सी, तोमोछा, छेन्हो, पायात्ती, कूबीत्ती, तोर्ङो, राजीबू, हीमार, रुखूपो, सेकछा, वालाखाम, थोमरोस, मान्थेर्बू, मोल्थो, ङोपोचो, तोम्बू, ओखोथी, गदूहो, छाप्दूलू, रीङालू, वाईसूर, होलोत्ती, थोप, पीदीसै लगायत थर/उपथरहरु रहेको छ । त्यसैले गर्दा कुलुङ–कुलुङबिचमै विवाहवारी हुने गरेको छ ।
त्यस्तै गरेर कुलुङ जातिको मूल थलो सोलुखुम्बु जिल्लाको उत्तर–पूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै (तत्कालीन गाविस) का विभिन्न स्थानहरु (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् । यी ठाउँलाई कुलुङहरु आफ्नो मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै गरेर धेरै जसो विदेशी लेखक तथा अन्वेषकहरु एवम् नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङ जातिको बसोवास क्षेत्रहरु सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङमा बाक्लो (धेरै संख्या) रुपमा रहेको छ भने भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायतका ठाउँहरुमा पनि कुलुङ जातिको जनसंख्या ठूलो–धेरै रहेको छ भने, नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, लमजुङ, काभ्रे, उदयपुर, सिराहा, खोटाङ, कास्की, खोटाङ, बागलुङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा, सिरहा लगायत लगभग २५/२६ जिल्लामा पालतो–थोरै संख्यामा बसोवास रहेको छ ।
१२ औं राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १४२ वटा जातजाति रहेका छन् । तिनमा १२५ वटा जातजाति विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा पनि उल्लेख थिए । त्यसरी तथ्यांक हेर्दा नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ मा विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा भन्दा १७ जातजातिको संख्या बढेको देखिन्छ । हुन पनि नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ र ११ औं राष्ट्रिय जनगणना २०६८ को (दुवै जनगाणनामा) उल्लेख भएको तथ्यांकमा आएको एक जाति हो, ‘कुलुङ ।’
विसं २०६८ को जनगणनाअनुसार कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय १३ जना रहेको थियो भने, कुलुङ मातृभाषीको संख्या चाहिँ ३३ हजार १ सय ७० रहेको थियो । त्यस्तै गरेर विसं २०७८ को १२ औं राष्ट्रिय जनगण्नामा चाहिँ कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ जना र मातृभाषी संख्या ३७ हजार ९१२ जना रहेको छ । त्यस्तै गरेर पूर्खाको भाषा ‘कुलुङ’ लेखाउनेको संख्या चाहिँ ४० हजार ४७९ रहेको छ । तथ्यांक स्रोतः विसं २०७८ को १२ औं राष्ट्रिय जनगण र विसं २०६८ ११ औं राष्ट्रिय जनगणानाको संक्षिप्त/मुख्य नतिजा भएको सानो बुकलेट/किताबमा आधारित रहेको छ ।
त्यसो भए तापनि तत्कालीन श्री ५ को सरकार, तत्कालीन स्थानीय विकास मन्त्रालय माहत रहेको जनजाति विकास समितिको ६१ जनजाति सूचीमा र, पछिल्लो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मातहत रहेको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको ५९ जातिमा कुलुङ जाति सूचीकृत भई नसकेको हुनाले नेपालका अन्य जातजाति, समुदाय, भाषाभाषी, धार्मिक समूह आदिका अगुवाहरुले कुलुङ( जातिलाई चिन्दैनन्, जान्दैनन् । यहाँसम्म कि नेपाल घागडान कहलिएका प्रा., डा., प्राडा, विज्ञ, प्राज्ञ, विद, कार, अभियन्ता, मानव अधिकारवादी आदिहरुले नै पनि कुलुङ जातिलाई नेपालको एक अलग्गै जाति हो भनेर चिनेका छैनन् वा भनौं थाहा पाएका छैनन्, जानेका छैनन्, बुझेका छैनन् । वास्तविकता त्यस्तो भएपछि नेपालका सर्वसाधारण जनहरुले त झन् कुलुङ जाति कथित् ‘राई !’ जाति होइनन्, उनीहरु अलग्गै जाति वा समुदाय हुन् भनी कसरी चिनून्, जानून्, बुझून् र ?!…
अहिलेसम्म राज्यले कुलुङ जातिलाई आदिवासी जनजाति सूचीमा सूचीकृत नगरे तापनि, अरुहरुले जाति नमाने पनि कुलुङ जातिको आधिकारिक संस्था नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम) चुप लागेर बसेको छैन, हात बाँधेर बसेको छैन, निदाएर बसेको छैन । आफ्नो बल, बर्कत र बुताले भ्याएसम्म आफ्नो समुदायको हक अधिकार र हित्तचित्तका लागि सकेको केही न केही गरिरहेको छ । अगाडि बढी रहेको छ । त्यसैको फल स्वरुप यसपालि किरात कूलू गूसखोम संखुवासभा जिल्ला कार्य समिति, नगर समिति, सिलिछो गाउँ पालिका–२ बाला गाउँ इकाई समिति, कूलू मीम्छा गूसखोम (महिला), सेस्मोखम, (विद्यार्थी) पपछा गूसखोम (युवा) आदिको संयुक्त आयोजनामा गत वैसाख १२ र १३ गते कुलुङ जातिहरुको अर्न्ताष्ट्रिय स्तरको सम्मलेन आयोजना गरिएको थियो । स्मरण रहोस्, सो सम्मेलन ‘आदिवासी भाषाको अन्तर्राष्ट्रिय दशक–२०२२–२०३२’ को अवसरमा कुलुङ जातिको समग्र विषमा जस्तै संस्कार, संस्कृति, भाषा, धर्म, चाडबाड, आजा–पूजा, वेषभुषा, रहनसहन, पितापूर्खाको इतिहास, लोक कथा, लोक जीवन, नागीरे, नोक्छो, रोङ्छोप, मोप, सेलेमोप, वैदाङ, सातीपूस, परम्रागत कानुन, गरगहना, औषधि, जडीबुटी, साँस्कृतक स्थल, ऐतिहासिक स्थल, धार्मिक स्थल लगायतका विषय समेटेर सो सम्मेलन आयोजना गरिएको हो । यसरी गत वैसाख १२ र १३ गते विसं२०८२) दुई दिन ‘ज्ञान सत्ता’मा पुग्ने पहिलो प्रयासमा ‘कुलुङ जाति’ ले पहिलो अन्तर्राष्ट्रि स्तरको सम्मेलन सम्पँन्न गरेका छन् ।