पाँचथरका दुई गाउँपालिकाले मेलमिलापकर्ता उत्पादन गर्दै

  युद्धबहादुर बोहोरा
336 Shares

पाँचथर : पाँचथरका दुई स्थानीयतह मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिकाले मेलमिलापकर्ता उत्पादन सुरू गरेको छ । स्थानीय स्तरमा मेलमिलाकर्ता उत्पादन गर्न दुई पालिकाको संयुक्त आयोजनामा  शनिवारदेखि तालिम संचालन थालेको हो ।

गाउँपालिका न्यायीक समितिको आयोजना र मानव अधिकार मञ्च नेपाल, इलामको प्राविधिक सहयोगमा ४८ घन्टे (८ दिने) मेलमिलापकर्ता आधारभुत तालिम सुरु गरिएको छ ।

तालिममा गाउँपालिकाका वडास्तरबाट छनौट भएका २७ जना सहभागी छन् । सहभागीहरुलाई मानव अधिकार मञ्च नेपाल इलामका सहजकर्ता योगराज सापकोटा र मणी केरुङले सहजीकरण गरिरहेका छन् ।

फाल्गुनन्द गाउँपालिकाको सभाहलमा प्रशिक्षण संचालन भइरहेको फाल्गुनन्द गाउँपालिका न्यायीक समिति उजुरी प्रशासक थमराज जैसीले जानकारी दिए । जेठ १० गतेसम्म संचालन हुने आवसीय तालिममा महिला र पुरूषको मिश्रण सहभागीता छ । आधारभुत तालिममा स्थानीय समाजसेवी,जनप्रतिनिधि,शैक्षिक क्षेत्र,सुरक्षा र संचार क्षेत्रका व्यक्तिहरुले पनि तालिम लिदै गरेको जनाइएको छ ।

 

पालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप मेलमिलापकर्ता सम्बन्धी तालिम संचालन गरिएको छ । पालिकाको न्यायिक समिति (कार्यविधि सम्बन्धी) ऐन २०७४ बमोजिम आवश्यक नयाँ मेलमिलापकर्ता तयार पार्न तालिम थालिएको हो ।

नेपालको संविधान,ऎन,कानुन र मेलमिलापका बारेमा तालिम तथा गोष्ठी संचालन गरेर न्यायीक कार्यमा थप टेवा पुराउने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष एवं संयोजक द्वय सन्त कुमार शेर्मा (सन्तोष) र ठाकुरसिं नेम्वाङले उद्घाटन कार्यक्रममा बताए ।

 

नयाँ मेलमिलापकर्ता उत्पादनबाट समाजका हरेक बस्तीका समुदाय मिलेर बस्न र आपसी झैंझगडा समाजमै मिलाइ अदालती झन्झटिलो र खर्चिलो प्रक्रियामा नपुग्न मद्दत पुग्ने वातावरण तय गर्ने उदेश्यले तालिमको आयोजना गरिएको बताइएको छ ।

प्रशिक्षण अवधिमा सम्बन्धीत निकायले अनुगमन समेत गर्ने महत्वपूर्ण तालिममा ध्यान केन्द्रित भएर कानुनी ज्ञान सिक्न सहभागीहरुलाई उनीहरुले आग्रह गरेका छन् । तालिमबाट पालिकाले सक्षम मेलमिलापकर्ता प्राप्त गर्ने अपेक्षा राखिएको उनीहरुको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार