उभौलीको अवसरमा माङसेबुङमा साकेला सिली प्रदर्शन गरिदैँ

  नयाँ बुलन्द
392 Shares

 

इलाम : किराँत समुदायको मुख्य चाड ‘साकेला उभौली’ पर्वको अवसरमार आज (शनिबार) इलामको माङसेबुङ गाउँपालिका-६ स्थित पारुहाङ साकेला पार्कमा साकेला सिली प्रदर्शन गरिदैँछ ।

उभौलीको किराँत राईहरूको सांस्कृतिक नृत्य साकेला सिलीको प्रदर्शन गर्न लागेका हुन् । किराँत राई यायोक्खा पारुहाङ समितिको आयोजनामा हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको शुक्रबार पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा माङसेबुङहित विभिन्न क्षेत्रबाट साकेला टोलीले साकेला सिली प्रदर्शन गर्ने आयोजक समिति अध्यक्ष रञ्जित राईले बताए । त्यस्तै लिम्बू जातिको च्याब्रुङ नाच (केलाङ) समेत प्रदर्शन हुनेछन् ।

कार्यक्रममा किरात राई जातिसँग सम्बन्धित विभिन्न परिकारहरुको समेत प्रदर्शन गरिने उनले बताए ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किरात राईहरूले बताएका छन् ।

उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला नाच्ने गरिन्छ ।

छिटको गुन्यू, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँत राईहरूको घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभइ गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी भएर साकेला सिली नाच्ने गरेका छन् ।

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल/झ्याम्टाको तालमा सुम्निमा र पारुहाङ (किराँती पुर्खाहरू)ले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन् ।

उधौली तथा उभौलीको अवसरमा किराँत समुदायले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायलेसमेत साकेला सिली नाच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृतिको रुपमा विकास भएको किराँत राई अगुवाहरु बताउँछन् ।

साकेला उधौली चाड पूर्वी नेपालको इलामसहित झापा, पाँचथर, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, मोरङलगायतका किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिएको छ । अन्नबाली लगाउने समय अर्थात वैशाखे पूर्णीमादेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मंसिरे पूर्णीमादेखि उधौली चाड मनाउने चलन छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार