विराटनगर : सुनसरीको धरानबाट चोरी भएको यात्रुबहाक बस विराटनगरमा भेटिएको छ ।
शुक्रबार बिहान धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १– ०२–००१ को ९७४९ नम्बरको बस चार दिनपछि विराटनगर महानगरपालिका– १२ मंगलबारेमा भेटिएको हो ।
प्रहरी स्रोतका अनुसार विराटनगर-१२ मा राखिएको बसको पार्टपुर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ ।
मंगलबार दिउँसो मंगलबारेमा बेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।
पहाडी रुटमा चल्ने बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।