काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साहीले शिक्षक र चिकित्सकको माग पूरा गर्न नसेकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका हुन्।
शिक्षक र चिकित्सक आन्दोलनमा रहेको र कर्मचारीहरु पनि आन्दोलनमा जाने तयारीमा रहेको भन्दै उनले सरकारले उनीहरुका कुरा नसुनेको भन्दै आलोचना गरे । २८ दिनदेखि सडक आन्दोलनमा रहेका बेला सरकार रमिते बनिरहेको आरोप लगाउँदै उनले पदमा रहीरहने नैतिकता प्रधानमन्त्रीले गुमाएको बताए ।
‘शिक्षक, स्वास्थ्यकर्मी, सहकारीपीडित सडकमा छन् । कर्मचारी पनि सडकमा जाने तयारीमा छन् । राजावादीले अहिलेको व्यवस्थामाथि धावा बोलिरहेका छन् । तर सरकार रमिते बनेको छ,’ उनले भने, ‘सरकार आफ्नो असक्षमता लुकाउन दोष प्रतिपक्षीमाथि थुपारिरहेको छ । कि त यो सरकारले यी सबै काम पूरा गर्न सक्नुपर्छ । होइन भने सरकारले तत्काल राजीनामा दिनुपर्छ । नैतिक हिसाबले सरकारमा बसिरहने नैतिकता गुमाएको छ ।’
गत चैत २० गतेदेखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलनमा छन भने आवासीय चिकित्सकहरु पनि सरकारले तोकेको तलब भत्ता माग गर्दै आन्दोलनमा छन् । त्यस्तै कर्मचारीहरुले पनि आन्दोलनमा जाने चेतावनी दिएका छन ।