आहा ! इलामको छिन्टापु…

  नयाँ बुलन्द
63 Shares

इलाम : समुद्री सतहबाट तीन हजार २ सय मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको सन्दकपुर गाँउपालिकामा अवस्थित अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्यले पर्यटकहरुको मनै लोभ्याउँछ ।

छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ पोखरीले अझ मन प्रफुल्लित बनाउँछ । सन्दकपुर गाउँपालिका-२ मा अवस्थित छिन्टापु विश्वभरका पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । छिन्टापु पुग्ने पर्यटकलाई फागुन, चैत र वैशाखमा ढकमक्क फुल्ने चाँप, गुराँस र सुनाखरीले पर्यटकलाई फेरि अर्कोपटक आउँआउँ बनाउँछ । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको छिन्टापु पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ ।

छिन्टापुसम्मको भ्रमणलाई सहज बनाउन माईपोखरीदेखि टप्पु, खप्परे छिन्टापु पर्यटकीय रेडपाण्डा पदमार्ग निर्माण गरिएको छ । कोशी सरकारको बजेटबाट पदमार्ग निर्माण गरिएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए । हिमाली दृश्यमा मज्जाले रमाउन सकिने छिन्टापुमा पर्यटक पुर्याउनका लागि बिभिन्न कार्यक्रमको आयोजना गरिएको वडाअध्यक्ष सनम राईले बताए ।

पाँचथर र इलामको सीमा क्षेत्रमा प्राकृतिक स्तम्भ टावर झैँ उभिएको छिन्टापु जलभण्डारको हिसाबले पनि चिनिन्छ । अग्लो डाँडोमा पुग्दा मन फुरुङ्ङ बनाउने प्राकृतिक सुन्दरतामा रम्ने पर्यटकका लागि पर्यटकीय पूर्वाधार निर्माणको काम भइरहेको छ । इलामका सबैभन्दा धेरै सीमसार र पोखरीहरु रहेको छिन्टापु क्षेत्रमा दर्जनौ प्रजातिका गुराँसका बोटहरु रहेका छन् । चैत र वैशाखमा छिन्टापु पुग्ने पर्यटकहरु गुराँसका फूलहरुमा घण्टौँसम्म रम्ने गर्दछन् । लोपोन्मुख वन्यजन्तु रेडपाण्डा, भिरमौरी, झारल, पुतली र सयौँ प्रजातिका चराहरुको बासस्थान रहेको छिन्टापु पर्यटकीय केन्द्र बनाउन पूर्वाधार निर्माणमा जोड दिँदै आएको वडाअध्यक्ष सनम राईले बताए ।

छिन्टापुमा बस्नका लागि व्यवस्थित होटलहरु निर्माण नभए पनि ग्रामीण बस्तीहरुमा होमस्टे घरबास कार्यक्रम संचालन गोरुवाले क्षेत्रका घरहरुमा संचालित छ । छिन्टापु जाँदा माईमझुवा गाउँका होमस्टे र ग्रामीण होटलहरुमा स्थानीय जातका कुखुराको सुप, सिस्नो र कोदोको ढिँडोको स्वादिलो खाना र न्यानो आतिथ्य सत्कार गरिँदै आएको छ । छिन्टापुको यात्रामा जाँदा माईमझुवाको बुधबारे, कमेरे, मितेरे चोक र फेमेगुरु क्षेत्रमा होमस्टे सञ्चालनमा रहेको छ ।

कसरी पुगिन्छ छिन्टापु ?

छिन्टापु पुग्न इलाम सदरमुकामबाट ३५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ । पुर्व-पश्चिम राजमार्गको झापाको चारआलीबाट मेचीराजमार्ग समातेर ७५ किलोमिटर यात्रा गरेपछि इलाम सदरमुकाम पुगिन्छ । इलाम सदरमुकाममा बास बस्नका लागि व्यवस्थित होटल र लज छन् । इलाम बजारबाट चार किलोमिटरको यात्रामा बिब्ल्याँटे बजार पुगिन्छ । बिब्ल्याँटे बजारबाट अलिक अगाडि बढेपछि मेचीराजमार्ग छोडेर उत्तरतर्फ लाग्नुपर्छ । बिब्ल्याँटे बजारबाट १२ किलोमिटर यात्रा गरेपछि रामसार क्षेत्र माईपोखरी पुगिन्छ । माईपोखरी स्न २००८ मा रामसार सूचीमा सूचीकृत भएको पर्यटकीय तथा धार्मिकस्थल हो ।

माईपोखरीको भ्रमणपछि नजिकै सन्दकपुर गाउँपालिकाको केन्द्र रहेको देउराली हुँदै आठ किलोमिटर यात्रापछि माईमझुवाको बुधबारे बजार पुगिन्छ । त्यहाँबाट झण्डै सात किलोमिटर कच्ची सडक यात्रापछि गोरुवाले बजार पुगिन्छ । गाडीको यात्रा यहीँसम्म मात्र हो । गाडीको यात्रापछि प्राकृतिक टावरमा रहेको छिन्टापु पुग्न झण्डै डेढ घण्टाको पैदल यात्रा गर्नुपर्ने हुन्छ । छिन्टापुको पदयात्राका लागि माईपाखेरी, देउराली, टप्पु, खप्परे, ढुङ्गेपानी, गुराँसे हुँदै छिन्टापुसम्म रेडपाण्डा पदमार्गमा यात्रा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार