इलाम : इलामको राजदुवाली स्थित माईखोलामा सबदाह निर्माण कार्य सुरु भएको छ । इलाम नगरबासी वर्षौंदेखिको प्रतिक्षापछि सबदहा गृह निर्माण कार्यले गति लिएको हो । इलाम नगरपालिका वडा न ७ का वडा अध्यक्ष नरेश श्रेष्ठले ठेक्का प्रक्रिया सम्पन्न भई निर्माण कार्य सुरु भएको जानकारी दिए ।
यता यस महत्वपूर्ण कार्यको थालनीसँगै इलाम क्षेत्रका स्थानीयवासीले राहत महसुस गरेका छन्। यसअघि शव व्यवस्थापनमा भोग्नुपरेको कठिनाइ अब अन्त्य हुने विश्वास लिइएको छ।
वडा अध्यक्ष श्रेष्ठले यस नविन कार्यलाई सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति तथा संस्थाहरूलाई सामाजिक संजाल मार्फत हार्दिक धन्यवाद ज्ञापन गरेका छन । साथै, उनले वडा नं. ९ को समन्वयलाई पनि विशेष रूपमा उल्लेख गरेका छन ।
वडा न ७ को नीति तथा कार्यक्रम अनुरुप वडाको बजेट मार्फत माई खोलामा निर्माण हुन लागेको सबदहा गृहले इलाम नगरपालिका र आसपासका क्षेत्रमा शव व्यवस्थापनलाई सहज र मर्यादित बनाउने अपेक्षा गरिएको छ। यो परियोजना स्थानीय समुदायको आवश्यकतालाई ध्यानमा राखेर अघि बढाइएको वडा अध्यक्ष श्रेष्ठले बताए । निर्माण कार्य समयमै सम्पन्न होस् भन्ने अपेक्षासहित स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।