जहाँ ‘प्रचण्ड’ त्यहाँ जनताको भिड, वैशाख २५ गते फिदिमको जनसभालाई सम्बोधन गर्दै

  नयाँ बुलन्द
315 Shares

 

फाइल तस्वीर

 

पाँचथरः पछिल्ला राजनीतिक घटनाक्रमले अलमल्ल पर्न थालेका नागरिकहरु माओवादी पार्टी प्रति भरोसा राख्न थालेका छन् । प्रमुख दुई ठुला दलको सत्ता गठबन्धनले गरेका अधिकाँश कामले जनता आजित हुन थालेपछि नागरिक यस पार्टी प्रति भरोसा गर्न थालेको माओवादी पार्टीका नेताहरुले दावी गरिरहेका छन् । ठुला शक्ति भनिएका प्रमुख पार्टीको जब सत्ता साझेदारी शुरु भयो, एकपछि अर्को विभिन्न आन्दोलन,प्रदर्शन र गणतन्त्र प्रति आक्रमण भइरहेको माओवादी पार्टीले आरोप लगाएको छ । यसअघि सरकारमा नेतृत्व गरेर माओवादी पार्टीले शुरु गरेको सुशासन र भ्रष्टाचार विरुद्धको अभियानले जनतामा आसा पलाउन खोज्दै गर्दा यस पार्टी प्रति जनताको मोह डह्वात्तै बढ्ने त्रासले दुई ठुला दलको साठगाँठ भएको पार्टीको बुझाइ छ ।

अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिरहेको बेला सहज परिस्थिति बनाउन माओवादी पार्टीले थुप्रै खबरदारी अभियान गरिरहेको छ । यसैकारण जनताले माओवादी पार्टीलाई वास्तविक अभिभावक ठानेको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हरेक जनसभामा बताउने गरेका छन् । जनताको घरदैलोसंगै देश दौडाहामा माओवादीले थालेको अभियान र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रममा उनलाई भेट्न जनताको भिड लाग्न थालेको छ । जहाँ प्रचण्ड पुग्छन्, त्यहाँ जनताको भिड लाग्ने गरेको छ ।‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’ र पूर्वी पहाडमा हुने बाक्लो जनसभाले भने झनैं पार्टीलाई उचाईमा पुगेको पार्टीले ठहर गरेको छ ।

यसअघि जनता प्रति माओवादीले गरेका बाचाहरु पुरा गर्न सकेन भनेर असन्तुष्ट भएका जनाता पुनः यसै पार्टीमा भरोसा गर्न थालेका छन् । अन्य दलहरु स्वार्थमा डुबेर आलोचित बनिरहेका समयमा माओवादीले भने पुराना गल्ती कम्जोरीलाई आत्मालोचना गरी सुध्रिन थालेपछि यस पार्टी प्रति जनाताको आकर्षण बढेको छ । अन्य राजनीतिक दलहरुसंगको साथमा उठबस गर्दा जनताको काम गर्न बाटो बिराएको माओवादीले स्वीकार गर्दै अब जनताकै लागि मरिमेट्ने बाचा गरेको छ । देश दौडाहामा पार्टीका नेता यतिबेला भ्याई र नभ्याई छन् । हालको गतिविधिलाई निरन्तरता दिदै जनपक्षीय कार्यमा लाग्न पार्टी पंङ्तिका सबै कार्यकर्तालाई निर्देशन दिइएको छ । २०८४ सालको निर्वाचनमा माओवादी पार्टीलाई पहिलो स्थानमा पुर्याउन अनुशासित भएर काम गर्न पार्टीले सबैलाई आव्हान गरेको छ ।

यसै शिलसिलामा पाँचथरको फिदिममा पार्टी जिल्ला कमिटीको आयोजनामा वैशाख २५ गते विशाल जनसभाको आयोजना गरिएको पार्टीका जिल्ला सह-इन्चार्ज एवं जनसभा प्रचार-प्रसार विभाग संयोजक दिनेश लावतीले जानकारी दिए । जनसभालाई पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ भने अध्यक्ष दाहालसहित केन्द्रिय नेताहरुकोसमेत सहभागीता रहने जनाइएको छ ।

जनसभालाई व्यापकरुपमा सफल बनाउन शनिवार पार्टीको वैठकपछि पार्टी पङ्तिका सवै तहलाई जिम्मेवारी वाँडफाँड गरिएको छ । पार्टीका केन्द्रिय सदस्य तथा १ नम्बर प्रदेश संसदीयदलका नेता इन्द्रबहादुर आङ्बो ‘मौसम’, केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सीता थेवे’ प्रमिला’ ,प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ लगायतका नेताहरुको उपस्थितिमा जिल्लाको पूर्ण बैठक बसी वैशाख २५ गते जनसभाको आयोजना गर्ने निर्णय गरिएको जिल्ला संयोजक विशाल रसाइलीले बताए । सवै तयारी पूरा गर्न जिल्लास्थित जनवर्गीय संगठन, पालिकादेखि वडातहसम्म प्रचार–प्रसारलाई तीब्रता दिइएको छ । उक्त जनसभामा सवै स्थानीयतहका कार्यकर्ताहरुको उपस्थिति रहने साथै बृहत पार्टी प्रवेश कार्यक्रम पनि रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार