इलाम : इलाम सदरमुकामका फार्मेसीहरूमा गरिएको आकस्मिक अनुगमनका क्रममा नियमविपरीत सञ्चालन भएका केही फार्मेसीहरूमा ताला लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ,स्वस्थ्य कार्यालय , इलाम नगरपालिका ,जिल्ला प्रहरी कार्यालय सहित औषधि व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले सदरमुकामका विभिन्न फार्मेसीहरूको निरीक्षण गरेको हो।
अनुगमनका क्रममा आवश्यक मापदण्ड पूरा नगरेका र अनुमती पत्र प्राप्त व्यक्त बेगर नै औषधि बिक्री गरिरहेका फार्मेसीहरू फेला परेका थिए। टोलीले त्यस्ता नियमविपरीत कार्य गरिरहेका फार्मेसीहरूलाई तत्काल बन्द गर्न निर्देशन दिँदै ताला लगाएको जनाएको छ। इलाम सदरमुकामका आईतवार गरिएको अनुगमनमा ८ वटा फार्मेसी मध्य ३ वटामा ताला लगाईएको हो ।
स्वास्थ्य कार्यालय इलामका अनुसार आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै यो अनुगमन गरिएको हो। फार्मेसीहरूले औषधि बिक्री वितरणमा तोकिएको नियम र मापदण्ड पालना नगर्दा नागरिकको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भएकाले अनुगमनलाई तीव्रता दिइएको कार्यालय प्रमुख आदित्य शाक्यले नयाँ बुलन्दलाई जानकारी दिए ।
अनुगमन टोलीमा औषधि व्यवस्था विभागका प्रतिनिधि, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सहभागिता थियो। टोलीले फार्मेसीहरूको दर्ता प्रमाणपत्र, नवीकरण, औषधि भण्डारणको अवस्था, बिक्री वितरण प्रक्रिया र कार्यरत जनशक्तिको योग्यता लगायतका विषयमा विस्तृत जाँच गरेको थियो।
ताला लगाइएका फार्मेसीहरूलाई आवश्यक कागजात र स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। नियम अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने शाक्यले बताउनुभयो ।
यस अनुगमनले सदरमुकामका अन्य फार्मेसी सञ्चालकहरूलाई पनि नियम र मापदण्ड पालना गर्न थप सचेत गराउने अपेक्षा गरिएको छ। जिल्ला प्रशासन कार्यालयले आगामी दिनमा पनि यस्ता अनुगमनलाई निरन्तरता दिने बताएको छ। नागरिकको स्वास्थ्य सुरक्षाका लागि नियमविपरीत कार्य गर्ने जो कोहीलाई पनि कानुन बमोजिम कारबाही गरिने प्रशासनले जानकारी दिएको छ।