प्रसाईंको दुई साता : भारतका ३ सहर घुमेर हिन्दुवादीको घरमा ‘सेल्टर’

Premier School
काठमाडौँ । काठमाडौँको तीनकुनेमा विध्वंस मच्चाउने आन्दोलनको नेतृत्व गरेका दुर्गा प्रसाईं चैत १५ देखि फरार भए ।  उनले नेतृत्व गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले चैत १५ मा काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको थियो । जुन प्रदर्शनलाई पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन रहेको प्रसाईंले दाबी गरेका थिए ।

तर, सो प्रदर्शन हिंसात्मक बनेसँगै पूर्वराजा विवादमा त तानिए नै  उनी पनि तीनकुनेबाट बिएबी–४२०८ नम्बरको स्कोर्पियो चढेर एकाएक भारत भागे ।  प्रसाईंले काठमाडौँबाट भाग्नका लागि प्रयोग गरेको स्कोर्पियो यसअघि नै झापामा भेटिइसकेको छ । स्कोर्पियो चालक ईश्वर विकले प्रसाईंलाई झापाको बिर्तामोड स्थित बिएण्डसी मेडिकल कलेजमा लगेर छाडेको बयान दिएका छन् ।

Laxmi sunrise bank 2034

तीनकुनेबाट प्रसाईं सुरुमा ललितपुरको इमाडोलस्थित पुष्कर खतिवडाको घरमा पुगेका थिए । त्यहाँ स्याउ, केरा र दुध खाएर उनी हिँडेको खतिवडाले प्रहरीलाई बताएका छन् । इमाडोलबाट चापागाउँ पुगेपछि फर्केर उनी बनेपा हुँदै झापा पुगेका थिए ।

Shivam Cement

त्यहाँबाट भारत पुगेका प्रसाईं त्यहाँ ३ वटा सहर घुम्दै आसाम पुगेको नेपाल प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । सुरुमा उनी उत्तर प्रदेशस्थित प्रयागराज पुगेका थिए ।

Nabil bank

आफ्ना सहयोगी दीपक खड्कासहित प्रसाईं त्यहाँबाट लखनउ र राजस्थान पनि पुगेको खुलेको छ । काठमाडौँबाट फरार भएको करिब दुई साता उनले भारतमा बिताए । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘लखनउबाट राजस्थान घुमेर उनी आसाम पुगेको देखिन्छ ।’

आसाममा उनी नाता पर्ने एकजना स्थानीय हिन्दुवादी नेताको घरमा बसिरहेको अवस्थामा पक्राउ परेका हुन् । बिहीबार साँझ आसाममा पक्राउ परेपछि प्रसाईं निकटहरुले ‘समर्पण’ गरेको दावी गरे । तर, उनले आत्मसमर्पण नगरेको प्रहरी अधिकारीहरू बताउँछन् । भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘मैले आफैँ पक्राउ दिएको हुँ ।’

नेपाल भारतको बिचमा आरोपी ‘लेनदेन’ गर्ने कानुनी जटिलताका कारण प्रहरी प्रधान कार्यालयले गएराति विज्ञप्ति प्रकाशन गरेर प्रसाईंको ‘खोजी भइरहेको’ जिकिर गरेको थियो । त्यतिन्जेल उनी पक्राउ भने परिसकेका थिए ।

फरार हुँदा प्रसाईंले सामाजिक सञ्जाल मार्फत दुईवटा भिडियो सन्देश सार्वजनिक गरेका थिए । सार्वजनिक दुईवटा भिडियोमध्ये एउटा आसाममा उनी बसेको घर नजिकैको मन्दिरमा रेकर्ड गरेको भेटिएको छ । एउटा भिडियो चाहिँ कम्प्युटर एनिमेशन गरेर तयार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

दुई टोलीले खोज्यो

प्रसाईंको खोजीमा विशेष ब्युरो र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली परिचालित थिए । आईजीपीको प्रत्यक्ष मातहत रहने विशेष ब्युरोको कमान्ड डीआईजी सिद्धविक्रम शाहले गरेका छन् । विशेष ब्युरोका अधिकृतहरू उत्तर प्रदेशको प्रयागराजमा केही दिन बसेर फेला नपरेपछि फर्किएका थिए ।

उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले आसामबाट पक्राउ गरेर उनलाई प्रदेश–१–०१–००२ च ३७९३ नम्बरको स्कोर्पियोमा झापामा ल्याएका हुन् ।

प्रसाईं आसाममा पक्राउ परेको सूचना विशेष ब्युरोबाट चुहिएको थियो । तर, आरोपी सुपुर्दगी गर्न आवश्यक सन्धि नभएको हुनाले उनलाई झापामा पक्राउ गरेको देखाउन प्रहरी बाध्य भएको थियो । बिहीबार राति विज्ञप्ति प्रकाशन गरेर प्रसाईं पक्राउ नपरेको जिकिर गरेका प्रहरी प्रवक्ता (डीआईजी) दिनेश आचार्यले २४ घण्टा नबित्दै अर्को विज्ञप्ति निकालेर प्रसाईं पक्राउ गरेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा आचार्यले भनेका छन्, ‘दुर्गा प्रसाईंलाई भद्रपुरमा भेट्टायौँ ।’ प्रहरीले शुक्रबार उनलाई काठमाडौँ ल्याएर अदालतमा उपस्थित गराएको छ । काठमाडौँ जिल्ला अदालतले शुक्रबार नै उनीविरुद्ध १२ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न मार्ग प्रशस्त गरिदिएको छ । प्रसाईसँगै रहेका सहयोगी खड्का पनि पक्राउ परेकामा उनीविरुद्ध पनि १२ दिनकै म्याद थप भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार