इलाम : नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलामको आयोजनामा सञ्चालन भइरहेको मोतीविन्दुको शल्यक्रिया सहितको निःशुल्क आँखा शिविर प्रभावकारी बन्दै गएको छ। जुविलेन्ट इलाइट एकाडेमी, नविनचोकमा जारी शिविरको पहिलो दिननै १०० भन्दा बढी बिरामीले ओपीडी सेवा लिएका छन् भने २१ जनाको सफल शल्यक्रिया सम्पन्न भएको नेपाल नेत्रज्योति संघ इलामका सचीव प्रकाश भट्टराईले नयाँ बुलन्दलाई जानकारी दिए ।
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा इलाम, विराटनगर आँखा अस्पताल र जुविलेन्ट इलाइट एकाडेमीको संयुक्त पहलमा सञ्चालित यो शिविर बिहीवार बाट सुरु भएको हो । आयोजकका अनुसार शिविर भोली चैत्र २९ र पर्सि चैत्र ३० गते पनि बिहान १० बजेदेखि सोही स्थानमा निरन्तर सञ्चालन हुनेछ।
शिविरमा आँखाका विभिन्न समस्या भएका बिरामीहरूको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको छ। मोतीविन्दु भएका बिरामीहरूको पहिचान गरी निःशुल्क शल्यक्रिया समेत गरिएको छ।
आज सेवा लिएका गोलाखर्कका राम अधिकारीले शिविर आयोजकलाई धन्यवाद दिँदै भने, “गाउँमै यस्तो सुविधा पाउँदा हामी धेरै खुसी छौं। मेरो आमाको आँखामा समस्या थियो, यहाँ आएर निःशुल्क जाँच गराउन पायौं।”
आयोजकले आँखामा समस्या भएका सबैलाई शिविरमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ।
फोटो क्याप्सन: इलामको जुविलेन्ट इलाइट एकाडेमीमा जारी निःशुल्क आँखा शिविरमा सेवा लिँदै गरेका बिरामीहरू। (तस्वीर: आयोजक)