सन्दकपुर गाँउपालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

इलाम । सन्दकपुर गाँउपालिका इलाम जिल्लाको उत्तरी भेगमा अवस्थित, नेपाल, भारत सिमानामा फैलिएको एक रमणीय पर्यटकीय गन्तव्यले भरिएको पालिका हो । यहाँबाट देखिने कञ्चनजङ्घासहितका हिमशृङ्खला, लालीगुराँसको जङ्गल र प्राकृतिक सौन्दर्यले जो कोहीलाई मोहित पार्छ । पछिल्लो समय सन्दकपुर गाँउपालिका आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यको खानी सन्दकपुरबाट विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित कुम्भकर्ण, लोत्से र मकालुजस्ता हिमालहरूको मनोरम दृश्य देख्न सकिन्छ । यहाँ २८ प्रजातिका लालीगुराँस पाइन्छन् । वसन्त ऋतुमा लालीगुराँस फुलेर जङ्गल राताम्य हुँदा यहाँको सौन्दर्य झनै बढ्छ ।

 

सूर्योदय र सूर्यास्तको दृश्य अत्यन्तै मनमोहक देखिन्छ । यो क्षेत्र जैविक विविधताको धनी छ । यहाँ रेडपाण्डा, हिमाली भालु, चितुवा र विभिन्न प्रजातिका चराचुरुङ्गीको अवलोकन र अध्ययन गर्न पाइन्छ । इलामको सन्दकपुर गाउँपालिका, जहाँ विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको बासस्थान छ, अहिले रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धन गर्ने अभियानमा जुटेको छ । यो अभियानले स्थानीय समुदायको जीवनस्तर उकास्ने र पर्यावरण संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

 

यसै सन्दर्भमा, लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट इलामको पर्यटन प्रवद्र्धनका लागि सन्दकपुर गाउँपालिकामा गएको चैत्र २० देखि २३ गतेसम्म दोस्रो रेडपाण्डा महोत्सव समपन्न भएको छ ।

रेडपाण्डाको संरक्षणमा समुदायलाई सचेत गराउँदै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यो महोत्सव आयोजना गरिएको हो । रेडपाण्डा महोत्सव पदमार्गमा आधारित पर्यटन महोत्सव रहोको थियो । महोत्सवको मुख्य उद्देश्य लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गरी पर्यटन प्रवद्र्धन गर्नु हो । सन्दकपुर गाउँपालिकाको रामसार क्षेत्र माईपोखरीबाट ३६३६ मिटर उचाइमा रहेको सन्दकपुर डाँडा हुँदै जिल्लाकै पुरानो एबम् सिमाबर्ती बजार जौबारी जोड्ने पदमार्गको दुरी ४३ किलोमिटर रहेको छ । यो पदमार्गको नाम रेडपाण्डा पदमार्ग हो ।

 

यो पदमार्ग क्षेत्रमा लोपोन्मुख रेडपाण्डासहितका वन्यजन्तु, सयौँ प्रजातिका चराहरूको अध्ययन गर्न पाइन्छ । १५ पर्यटकीय गन्तव्य जोड्ने यो पदमार्गको प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरि समपन्न भएको सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताउनुभयो । गुरुङ्गले भन्नुभयो,“ लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको माध्यमबाट नेपालमा पर्यटन प्रवद्र्धन भएको क्षेत्र इलामको सन्दकपुर हो । सन्दकपुरमा रेडपाण्डा हेर्नकै लागि विश्वभरका पर्यटकहरू पुग्ने गरेका छन् । यसैले यो महोत्सवको आयोजना गरेका हौ हामी करिब ३० जना नेपाल र भारतका पदयात्रीले यो पदयात्रा सफल्तापुर्बक सम्पन्न समेत गर्यौ । ”

 

विश्व रामसार सूचीमा सूचीकृत माईपोखरीबाट, नेपालका प्राकृतिक ग्रेटवाल छिन्टापु, कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर हुँदै पूर्वको मुस्ताङ जौबारी जोड्ने पदमार्गमा नेपाल र भारतका पर्यटन व्यवसायीहरूको पदयात्रामा सहभागी रहेको थियो । चार दिनसम्म चलेको पदयात्रामा आदिवासी जनजातिको संस्कृति, सिमसार, पोखरीहरू, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथासहित ६० भन्दा बढी हिमशृङ्खला, सयौँ प्रजातिका चराहरू, रेडपाण्डासहितका लोपोन्मुख वन्यजन्तुको अध्ययनमा पदयात्री रहेका थिए ।

पदयात्राममा सहभागी समेत रहनुभएका केचना कंचनजंघामा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीका अनुसार रेडपाण्डा पर्यटनले लेकाली बस्तीको जीविकोपार्जनमा सहयोग पु¥याएको बताउनुहुन्छ । द्यौरालीले भन्नुभयो,“यसले पर्यावरणीय सन्तुलनमा पनि टेवा पु¥याएको छ । रेडपाण्डा पर्यटनले स्थानीय समुदायलाई रोजगारीका अवसरहरू प्रदान गरेको छ, जसले उनीहरूको आर्थिक अवस्था सुधार गर्न मद्दत गरेको छ । साथै, रेडपाण्डाको संरक्षणले वनजङ्गलको संरक्षणमा पनि योगदान पु¥याएको छ, जसले पर्यावरणीय सन्तुलन कायम राख्न मद्दत गरेको छ । ”

पर्यटकीय गाउँपालिका सन्दकपुरको २ हजार मिटर माथिको क्षेत्र जैविक, प्राकृतिक, वन्यजन्तु, चराचुरुङ्गीको बासस्थानका कारण संवेदनसिल मानिन्छ । जडिबुटी, मौसम अनुसारका फुलहरुसँगै हिमश्रङ्खलाहरुको दृश्यमा पर्यटकहरु रमाउन पाउने भएकाले विश्वभरका पर्यटकहरुको आकर्षण बढेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत यादब राउतले बताउनुभयो । सन्दकपुरको उच्च पहाडका वन जंगलमा रमाउने र अध्ययन गर्ने विश्वभरका पर्यटकहरु आउने क्रम धेरै वर्षदेखि भएपनि अहिले संख्या बढेको उहाँकोे भनाई छ ।

चिसो हावापानीसँगै, प्राकृतिक सुन्दरता र साहसिक पर्यटनको आनन्द लिन सकिने महोत्सव सन्दकपुर गाउँपालिकाको आयोजना, नेपाल पर्यटन बोर्ड, कोशी प्रदेश सरकारको पर्यटन कार्यालय झापा, केचना कञ्चनजङ्घा पर्यटन विकास समिति, रेडपाण्डा नेटवर्कलगायत संस्थाको प्रवद्र्धनमा आयोजना भएको सन्दकपुर गाउँपालिका बडा नं २ का वडा अध्यक्ष सनम राईले जानकारी दिनुभयो ।

माईपोखरी घोषणापत्र

दोश्रो सन्दकपुर रेडपाण्डा महोत्वसका दौरान दुई देशका पर्यटनकर्मीहरुले सहकार्यका निम्ति ८ बुँदे माईपोखरी घोषणापत्र नै बनाएका छन् । घोषणापत्रमा हरेक बर्ष चैत्र २० गतेबाट रेडपाण्डा महोत्सव गरिने तय भएको छ । रेडपाण्डा पाइने क्षेत्रमा वृक्षारोण गर्दै सबै दातृ निकायमा पहल समेत गरिने भएको छ ।

८ बुँदे घोषणापत्रमा सन्दकपुर गाउँपालिका, केचना कञ्चनजंघा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशव द्यौराली, दिपज्योती युवा क्लब, एसिटी भारतको जशोदा क्षेत्री, आनन्द पारिक, पर्यटन प्रर्वद्धक सुजन तिमसिना, महिला उद्यमी प्रतिक्षा अधिकारीले हस्ताक्षर गरेका छन् । राज बसुको नेतृत्वमा १९९१ मा स्थापना भएको एशोसिएसन फर कन्जर्भेशन एण्ड टुरिज्म (एसिटी ) ले इलामको पर्यटन प्रर्वद्धनका लागि सहयोग गर्ने भएको छ ।

सिलिगुडी मुख्य कार्यालय रहेको एसिटीले प्राकृतिक, सांस्कृतिक, र ऐतिहासिक सम्पदालाई “उत्तरदायी पर्यटन” मार्फत संरक्षण गर्दै आएको छ । पूर्वी तथा उत्तरपूर्वी भारतका साथै नेपाल, भूटान, बंगलादेश, र म्यानमारका सीमावर्ती क्षेत्रका बासिन्दाहरूलाई लक्षित गरेर कार्यक्रम अघि बढाएको संस्थाले रेडपाण्डा पर्यटन प्रर्वद्धन गर्न प्रतिवद्ध भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार