पाँचथरः विहिवार पाँचथरका विभिन्न ठाँउमा लागेको आगलागी र डढेलोबाट दुई जनाको ज्यान गएको छ । मुत्यु हुनेमा कुम्मायक गाउँपालिका ३ नम्बर वडाकी २२ वर्षीय प्रतिमा सम्बाहाम्फे र फिदिम नगरपालिका १४ नम्बर वडाकी ४७ वर्षीय उषा नेम्बाङ राई रहेका छन् । सम्बाहाम्फेको उपचारका लागि धरान लाने क्रममा धनकुटाको भेडेटार पुग्दा मृत्यु भएको थियो । सम्बाहाम्फे कुम्मायकको ताम्राखु भन्ने जंगलमा लागेको आगोमा परी घाइते भएकी थिइन् ।
यस्तै, फिदिम नगरपालिका १३ र १४ नम्बर वडाको सिमानामा रहेको बनमा लागेको डढेलोमा परेकी ४७ बर्षीय उषा नेम्बाङ राईको पनि उपचारको लागी काठमाण्डौ लाँदै गर्दा सिन्धुलीमा पुदा मृत्यु भएको उनको पारिवारिक स्रोतबाट जानकारी पाइएको छ । दाउँरा लिएर घर फर्किदै गर्दा उनलाई डढेलोले भेटेको थियो । उनको पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि सुविधा सम्पन्न अस्पताल रेफर गरिएको थियो ।
डढेलोमा परी घाइते भएका २८ वर्षीय सविना सम्बाहाम्फे, ११वर्षीय सिवाना सम्बाहाम्फे र ६० वर्षकी निरमाया सम्बाहाम्फेलाई उपचारका लागि वीपी कोइराला मेमोरीयल धरान पुर्याइएको छ । उनीहरुको अवस्था गम्भीर छ । सोही ठाँउको डढेलो निभाउन गएका ३१ वर्षीय खगेन्द्र बिक लडेर घाइते भएका छन् ।
विहिवार दिनभर पाँचथरका विभिन्न ठाँउमा आगलागी र डढेलोका घटना भएका छन् । केहि दिन यता जिल्लाका विभिन्न ठाँउमा डढेलो लागेको डीएसपी कौशकल कुमार बुढाथोकीले जानकारी दिए । जंगलमा आगो लगाउने तीन जनालाई पक्राउ गरी कानुनी कार्वाहीसमेत अघि बढाइएको उनले बताए ।- केन्जो खबरबाट