धार्मिक व्यापारको मुस्लो भित्र शान्तिको दीप खोजिरहेको  समाज  

  नयाँ बुलन्द
280 Shares

 

लेखकः  दयाराम निरौला 

पूर्वीय दर्शन, सनातन वैदिक धर्म र संस्कृत भाषा पौराणिक एवंम् ऐतिहासिक मानव सभ्यता र सहिष्णुतालाई प्रतिबिम्बित गर्ने महत्वपुर्ण धरोहर हुन् । यसको जरा वैदिकसिन्धु घाटी र द्रविड सभ्यताहरूमा जोडिएको छ ।

धर्मकर्मसंसारमायामोक्ष र योग जस्ता धार्मिक पदहरूले गर्दा सनातन वैदिक धर्मलाई विशिष्ट मानिन्छ।

महत्वपूर्ण  ग्रन्थहरू वेदउपनिषद्पुराणरामायणमहाभारतश्रीमद्भगवद गीता र आगमहरू कुनै विशेष धार्मिक ग्रन्थ मात्र नभई मोक्षशास्त्र, ज्ञानको भण्डार र जीवन दर्शनको अनुपम संग्रहालय हुन् ।

म हिन्दु धर्मलाई होईन हिन्दु दर्शनको सम्मान गर्नुपर्छ भन्ने मान्यता राख्छु किनकी धर्म संकुचित रुप हो भने, दर्शन बृहत स्वरूप हो । पूर्वीय सनातन संस्कृति अलौकिक, अनुशासित र जीवन्त छ तर हिन्दु धर्मले एउटा साँधुरो परिधि मात्र ओगटेको छ । भलै हिन्दु धर्मलाई पुर्वीय सनातन संस्कृतिको एउटा अंश मान्न सकिन्छ । हिन्दु धर्म, संस्कृति, मान्यता र संस्कारसँग जोडिएर फैलिरहेको सांस्कृतिक विचलनको बारेमा चर्चा गर्दै छु । यसको मतलब म कुनै धर्म, संस्कृति, रीतिरिवाज र चाडपर्व विरोधी वा समर्थक होईन । मेरा जन्मदेखि मृत्युसम्मका सम्पुर्ण रितिरिवाज हिन्दु संस्कार अनुसार हुन्छन् र गर्दै आएको छु । म मौलिक पुर्वीय सनातन रितिरिवाज, परम्परा र संस्कृतिलाई सम्मान गर्ने तर ढोङ, पाखण्ड र अतिवादलाई स्वीकार नगर्ने साधारण मानिस हुँ ।

म नास्तिक पनि होईन किनभने पशुपतिको पवित्रता, मनकामनाको भरोसा, पाथिभराको विश्वास, मुक्तिनाथको संकल्प, लुम्बिनीको दर्शन, स्वयंम्भू शीतलता र बौद्धको शालिनता मेरो जीवन पद्धति संचालनमा भरोसा योग्य सत्मार्ग हुन अनि म एक अनुयायी हुँ । मेरो आस्थाभावले यस्ता सुगन्धित र आध्यात्मिक स्थानलाई शिर झुकाएर सधैं नमन र सम्मान गर्छु ।

म कालो मन लिएर तथा फगत धर्मको खोल ओडेर दुषित मन र गलत नजरले धार्मिक र सांस्कृतिक सम्पदा माथि गिद्दे दृष्टि लगाउँदै मन्दिरको सम्पत्ति र आस्था चोरी-बिक्री गर्ने बाबा, माता, भट्ट, पुजारी, महन्थ, व्यवस्थापक, धर्म तथा संस्कृतिका दुषित व्यापारी, धर्मको बाजा बजाएर राजनीति सेक्ने कथित नेता, बलात्कारी नागाहरु मान्ने, पुज्ने, ढोग्ने भ्रमित आस्तिक पनि होईन ।

धर्मसंस्कृति तथा मानवीय आवश्यकता र चेतना जोडेर अध्यात्मिक चिन्तन र व्यवहारिक कर्मले समाजमा सकारात्मक ज्योति झर्न प्रयासरत निःस्वार्थ व्यक्तिहरुमा हार्दिक सम्मान प्रकट गर्दै यसको अर्को पाटोलाई मन्थन गर्नुपर्ने हुन्छ ।

म धर्ममा आस्था राख्ने तर विश्वास नगर्ने मान्छे हु । फगत धर्ममा मात्र विश्वास गर्दिन तर सांस्कृतिक तथा सामाजिक चालचलनलाई आत्मसाथ र सम्मान गर्छु । धर्म र सांस्कृतिक चलन फरक कुरा हुन् । धर्म अमुर्त आस्था मात्र हो भने संस्कृति जीवन्त दैनिकी हो । फगत धर्मको मात्र विश्वास पनि गरौँ,  कसरी ? धर्म, आस्था र धार्मिक स्थलहरु बिक्री गर्नेहरु नै धर्मका अगुवा र समाजका नेतृत्वकर्ता छन् । हिन्दुको सबैभन्दा ठुलो आस्थाको केन्द्र पशुपतिनाथमा लुट्ने, चोरी गर्ने, दानदक्षिणा हिनामिना गर्ने, त्यहाँको जग्गा तथा बहुमुल्य चिजबीज बेचेर मोज गर्नेहरु नै पुजारी, भट्ट, सचिव, सांसद, मन्त्री, प्रधानमन्त्री र ठुला व्यापारी छन् । करोडौं दानदक्षिणा संकलन हुने मन्दिरको वरिपरि जीवनसँग हारेका दुःखीहरुको भिड छ । गरिबको लास बिना पैसा जल्दैन ।

पछिल्लो उदाहरण पाथीभरा केवलकार विवाद, भिडन्त र विकासको नाममा पवित्र स्थल व्यापारीलाई सुम्पिन राज्यबाट नै चलाईको गोली र दमनबाट प्रष्ट हुन्छ कि मन्दिर र धर्म आस्था केन्द्र नभई व्यापार केन्द्र बनाउन स्वार्थ जोडिएको छ । केवलकार आवश्यकता नै भएको खण्डमा पाथीभरा क्षेत्र विकास कोषको अगुवाई, स्थानीय निकायको सहयोग र स्थानीय बासिन्दाको सहभागितामा सिमित व्यापारिक झुण्डको प्रवेश बिना नै सम्भव छ भलै यसमा पनि राजनैतिक स्वार्थ र सीमित व्यक्तिहरुको आर्थिक लोभले अशान्ति र विवाद उत्पन्न भएको जगजाहेर नै छ ।

कथित धर्मगुरु र संस्थाको आयोजनामा पशुपतिनाथमा आयोजित महायज्ञको नाममा भएको अनियमितता, ताण्डव र विवाद सेलाउन र छानबिन हुन नपाउदै फेरि त्यस्तै तवरले पोखरामा भएको महायज्ञको विवाद र स्वार्थले समाजलाई धर्मको नाममा कुन हदसम्म विभाजित पार्दै अशान्ति पैदा गरेर आर्थिक स्वार्थ पुरा गर्दैछन् भन्ने विषय छताछुल्ल र छर्लङ्ग छ ।

भर्खरै तराईको एक जिल्लामा महायज्ञ आयोजनाको उद्देश्यले कथित उपल्लो जात र शक्ति आडमा दलितको घरमा डोजर चलाएको घटना सर्वविदित नै छ । जुन घटना अदालतसम्म पुगेको छ । महायज्ञ विशुद्ध धर्म र शान्तिको निमित्त आयोजना गर्न लागिएको भए किन गरीब र निमुखाको झुपडी खरानी बनाईयो ? मानिसको बास उठाएर कुण्ठित मानसिकता र पापी मनले लगाईने धार्मिक महोत्सव वा महायज्ञले कसरी शान्ति र मोक्ष प्राप्ती हुन्छ ?

आजकल पुराण वा महायज्ञको नाममा व्यवसायिक स्वरूपमा चर्को शुल्क बुझाएर कथा वाचक ल्याएर समाजमा प्रतिस्पर्धाको रुपमा टोलटोलमा आयोजित धार्मिक कार्यक्रमले समाजलाई तथ्य र परिमाणमा के योगदान दिईरहेको छ भन्ने सवालको लेखाजोखा अवश्य हुनुपर्छ । यस्ता कार्यक्रमको पारदर्शिता तथा सकारात्मक र नकारात्मक दुबै पक्षहरुको बहस खुलेर हुनु पर्छ ।

दान, सहयोग वा  चन्दा उठाई जहाँ पायो त्यहीं मन्दिर बनाएर, राधे-राधे भनेर, फुलमाला र टीका लगाएर धर्म हुदैंन । ढुङ्गा र कङ्क्रिटमा रङ्गीबिरङ्गी पोतेर, आफु-आफुमा खादामाला भिरेर अनि प्रमाणपत्र र सम्मानपत्रका नाममा अर्थहिन भ्रमका फ्रेम आफैँ-आफैँमा बाँडेर धर्म हुदैँन, उल्टै संस्कृति र धर्म माथि हमला हुन्छ । मन्दिर वा धार्मिक स्थल निर्माण गर्दैगर्दा त्यस स्थानको संस्कृति, धर्म र देवताहरुसँग जोडिएको ऐतिहासिक महत्व पहिचान हुनुपर्छ । देवता, आस्था र मन्दिर बनाउँन मन लाग्दा बन्ने र मन नलाग्दा नबन्ने कुनै भौतिक वस्तु होईन, यो त शुद्ध मनबाट मानवीय हित र सामाजिक परोपकारका निम्ति प्रकट हुने आस्था, अनुशासन, समानता र शान्तीको भाव हो । अहिले हरेक स्थानीयतहमा विकाश निर्माणका कुरा गर्दा मन्दिर चाहिन्छ भनेर बजेट मागिने तर  कुनै धार्मिक स्थल वा आस्ताको केन्द्र नभई पहुँचवालको घर पायक निर्माण गरिने गरेको पाइएको छ । जहाँ कुनै धार्मिक आस्थाको महत्व छैन । धेरै स्थानीयतहका हरेक वडामा दुईदेखि तीन वटासम्म मन्दिर निर्माण थालिएको छ । कुनै निर्माण सम्पन्न त केही अलपत्र छन् । सम्पन्न भएका मन्दिरको उद्घाटन र संचालन छैन भने  निर्माण थालनी गरिएका मन्दिर सम्पन्न गर्ने कुनै छाँटकाँट देखिन्दैन । यसको मतलव विकाश भनेको स रोईकराई मन्दिर बनाउने माग गर्न मात्रै भएको केही स्थानीय सरकारका प्रमुख बताउँछन् । जहाँ कुनै आवश्यकता छैन अनि आस्था पनि छैन तर मन्दिर बनाउने भने होटबाजीले वास्तविक धार्मिक क्षेत्र ओझेलमा परेको उनीहरु बताउँछन् । यस्ता अनावश्यक संरचना निर्माणले धार्मिक स्थलको महिमा कम्जोर हुनेमा दुईमत छैन । अनावश्यक माग र  योजनाले धार्मिकताका नाममा कमाई गर्ने पेशा बन्नु सकारात्मक मान्न सकिन्न  । हाल देशै भरि यस्ता गतिविधि बढेसंगै धार्मिकतामा नाममा व्यापार  चल्ने पो हो कि भन्ने शंका उत्पन हुनु स्वभाविकै हो ।

समाजका मान्छेको औकात तथा दाताहरु बीच नै भेदभाव गरेर कसरी धर्म हुन्छ ?  धर्ममा त मानव सबै बराबर होइन र ? धनी-गरिब, ठुलो-सानो सबैलाई समान र मानवीय भावले हेर्न सक्नुपर्छ । यो सबै जानी-नजानी समाजमा सल्किरहेको बेरोजगार, व्यापार, राजनीति, अन्धविश्वास, पाखण्ड र विभेदको आगो हो ।

सहयोग र दानको नाममा सामाजिक संजालमा फोटो र रकम सहितको प्रचार एक प्रकारको अस्वस्थ प्रतिस्पर्धा र चन्दा आतङ्क हो । दिन सक्ने हैसियत भएका मध्ये कसैले मनबाटै त कसैले बाध्यताले दान वा चन्दा प्रदान गर्लान तर नहुने वर्गको लागी यो चलनले सामाजिक बहिष्कार र वर्गीय विभेदको भय उत्पन्न गरेको छ । हरेक महायज्ञ, पुराण तथा मन्दिर निर्माणमा दिने र नदिने वा दिन नसक्ने माथि फरक व्यवहार हुने गरेको छ । कुनै पनि धर्मले दान दक्षिणा तथा सहयोगलाई स्तरमापन, भेदभावको कडी र प्रचारप्रसार साधन बनाउन पर्छ भनेको छैन । कथित झुण्डहरु कुन धर्म, ग्रन्थ र पदचापको आधारमा यस्ता अधार्मिक, असामाजिक, अमानवीय क्रियाकलाप गरेर धार्मिक कर्मकाण्डको नाममा व्यापार गर्दैछन् ? भनिन्छ भगवानका नजरमा सबै प्राणी समान हुन्छन् । तर, वर्तमान परिस्थिति भने फरक बन्दै गएको छ । जोसंग सम्पति छ र तडक भडककासाथ ठूलो महायज्ञ गर्छ त्यही समाजलाई भगवानले धेरै आशिर्वाद र भरिपूर्ण बनाउँछन् भने झै गरीब, दुःखी र निम्न आर्थिक अवस्था भएका परिवारलाई हतोत्साहित गर्ने गरी ढर्रा गरी धार्मिक कार्यक्रमको आयोजना गरिन्दै छ । पक्कै यस्तो भड्किन्दो क्रियाकलापले समाजलाई एक सुत्रमा बाँध्न सक्दैन बरू धनी र गरीब बीचको खाडल अझै  फराकिलो बनेर जाला भन्न सकिन्न ।

जात, क्षेत्र, वर्ग, कर्म, लिङ्ग र व्यक्तिगत अवस्थाको आधारमा भेदभाव रहित व्यवहारले सम्पुर्ण मानवजातिलाई समान दृष्टिकोणबाट अँगालेर समाजमा शान्ति, मनमा शुद्धता अनि मानिसमा अनुशासन, संस्कार र समानता कायम गरि पारस्परिक रुपमा सहयोगी बन्न र बनाउन सक्नु नै धर्म हो । देखावटी आडम्बरले धार्मिक व्यापारको मुस्लो भित्र शान्तिको दीप खोजिरहेको  समाज जस्तै अनन्तमा हराइरहनु सिवाय केही उपलब्धि नहोला । शान्ति खोज्न दिन,दुखी,पीडित र निम्न स्तरको समुदायमा मलमपट्टीको आश्यकता छ तर सम्पति खर्च गरेर शान्ति धर्म कदापी मिल्ने छैन हरेक मानवलाई यस कुराको हेक्का हुन जरुरी छ ।

 

ई.न.पा -२, सुम्बेक

हाल: दक्षिण कोरिया

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार