जट्टेश्वर धार्मिक मेलाको आयव्यय सार्वजनिक, दाताले दिएको ४६ हजार बचत

  नयाँ बुलन्द
231 Shares

 

इलाम:  देउमाई नगरपालिका ५ सिङ्गलप्पास्थित जट्टेश्वर महादेव धाममा गत फागुन १४ गते आयोजित धार्मिक मेलाको आयव्यय सार्वजनिक गरिएको छ । धार्मिक स्थलको प्रवर्द्धन गर्ने उदेश्यले महाशिवरात्रीका अवसरमा धार्मिक मेला संचालनसंगै नवनिर्मित मन्दिर पनि उद्घाटन  गरिएको थियो । उक्त मेला संचालन गर्न स्थानीयबासी,देशभित्र र बाहिर रहेका सहयोगी दाताबाट आर्थिक सहयोग उपलब्ध भएको थियो । कोरोना महामारीपछि केही वर्ष स्थगित भएको मेलालाई भव्यताका साथ संचालन गर्न एक सय २४ जना सहयोगी दाताले जम्मा तीन लाख २८ हजार ४३९ रुपैंया आर्थिक सहयोग गरेको मेला आयोजक समितिका अध्यक्ष सूर्यबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार चैत्र १६ गते सार्वजनिक गरिएको आयव्यय विवरणमा दाताबाट संकलन भएको रकम मध्ये तीन लाख सात हजार १४६ रुपैंया खर्च भएको जनाएको छ । दाताबाट प्राप्त रकम बाहेक मेला आयोजक समिति भित्रबाट व्यक्तिगत संकलन गरी २५ हजार जम्मा गरी ४६ हजार २९३ रुपैंया बचत गरेको उनको भनाइ छ । विभिन्न ठाउँमा दाताले सहयोग गरेको रकम पारदर्शिता नभएको र  हिनामिना भएको भन्दै विरोध हुने गरेको छ भने यस धार्मिक मेला आयोजक समितिले आफ्नो गोजीबाट रकम थपेर बचत बढाएर उदाहरणीय काम गरेको छ ।

आफ्नो ठाउँको धार्मिक स्थलको महिमा बढाउँदै जन्मथलो प्रति माया,सद्भाव र सहिष्णुता कायम राख्न साथै धार्मिक तथा सामाजिक सद्भाव बढाउने अपेक्षासहित दाताले दिएको सहयोग रकमको उच्च सम्मान गरिएको मेला आयोजकले बताए । उनीहरुले धार्मिक स्थल प्रति सकारात्म सोचाईले दिएको रकमलाई दुरुपयोग नगर्ने बाचाका साथ सहयोगको अपिल गरिएसंगै देउमाई नगरपालिका घर भई हाल यूएई, दक्षिण कोरिया, मलेसिया, अमेरिका, स्पेन, साउदी अरेबियालगायतका मुलुकमा साथै जिल्ला बाहिर रहेका सहयोगी दाताबाट एक हजार रुपैंयादेखि १३ हजार ९९९ रुपैंयासमेत मेला आयोजना गर्न सहयोग गरेको जनाइएको छ ।

प्राकृतिक रुपमा सु-सञ्जित देवशिला भएको देउमाई नगरपालिका ५ नम्बर वडामा रहेको यो धाम पहिलो तीर्थस्थलको रुपमा परिचति छ । यस ठाउँमा देवस्थल उत्पति भएपछि मन्दिर निर्माण गरियो । मन्दिर स्थापना कालदेखि हालसम्म संरक्षण समितिको अध्यक्ष खेल बहादुर डाँगी रहेका छन् । यस स्थानमा आगामी समयमा पनि धार्मिक मेलालाई निरन्तरता दिइने मेला आयोजक समिति अध्यक्ष कार्कीले बताए  । यस ठाउँमा धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकाश गर्न नगरपालिकाले समेत संरचना निर्माण गर्न थालेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार