काठमाडौं : सहकारी ठगी मुद्दामा धरौटी तिरेर थुनाबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने १६३ दिन अर्थात् साढे पाँच महिनापछि पार्टी काममा फर्कने भएका छन् । रास्वपा कार्यवाहक मनीष झाले दिएको जानकारी अनुसार लामिछाने सोमबारबाट सभापतिको हैसियतमा फेरि सक्रिय हुनेछन् ।
२४ माघमा चितवन जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएयता लामिछाने पार्टी राजनीतिमा सक्रिय भएका थिएनन् । उनी यो बीचमा मन्दिरहरुमा पूजाअर्चनामा सामेल हुनेबाहेक सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् । सहकारी संस्थाहरुको बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै प्रतिनिधिसभाले उनको सांसद पद निलम्बन गरेको छ ।
यद्यपि रास्वपाका केही सांसद र नेताहरुले भने गणतान्त्रिक संविधानको पक्षमा यसअघि जलेश्वर बैठकबाट पार्टीले अख्तियार गरेको नीतिमा बलियो ढंगले उभिनुपर्ने अडान राखेका थिए । रास्वपा यही दुईखाले सोचाइको तानातानमा थियो ।
अब सक्रिय सार्वजनिक जीवनमा रास्वपा सभापतिकै रुपमा पुनरागमन गरेपछि लामिछानेले पार्टीलाई कसरी हिँडाउँछन् भन्ने जिज्ञासा सुरु भएको छ ।
संवैधानिक कानुनविद टिकाराम भट्टराई सार्वजनिक पदमा बसेको व्यक्ति उच्च नैतिकता कायम राख्नुपर्ने बताउँछन् । मुद्दा चलिरहेको व्यक्ति सफाइ नपाउने बेलासम्म पदमा फर्कन नहुने भट्टराई तर्क गर्छन् ।
वरिष्ठ अधिवक्ता भट्टराईले भने, ‘सार्वजनिक पदमा भएको व्यक्ति पदको गरिमाको सम्मान गर्नुपर्दछ । मुद्दा चलिरहेको व्यक्ति सफाई नपाउँदा सम्म सोही पदमा नफर्कने अन्तराष्ट्रिय अभ्यास पनि रहेको छ ।’
यसबीचमा विकसित कुनै पनि घटनाक्रममा लामिछानेले मुख खोलेका थिएनन् । सहकारी ठगी प्रकरणमा सभापति जोडिँदै कानुनी कारबाहीको भागिदार बन्न पुगेपछि रास्वपा समेत बीचका पाँच महिनामा लो प्रोफाइलमा रक्षात्मक रहँदै आएको थियो । बरु प्रेस, नागरिक समाज आदिले रास्वपा गणतन्त्रवादी वा राजतन्त्रवादी हो, कित्ता स्पष्ट गर्नुपर्ने भनी प्रश्न उठाएका थिए । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त बैठकमै रास्वपालाई यो प्रश्न सोधेका थिए ।
संविधानसँग जोडिएको महत्वपूर्ण मुद्दामा पार्टीको पक्षधरता नखुलेको भनी बाहिरबाट प्रश्न उठ्न थालेपछि त्यसलाई स्पष्ट गर्ने गरी सभापति लामिछानेले बैठकमा धारणा राख्ने शीर्ष तहका एक नेताले जानकारी दिए । ‘रास्वपा गणतन्त्रवादी कि राजतन्त्रवादी छुट्एिन भनेर प्रश्न उठे । केन्द्रीय समिति बैठकले निर्णय लिन्छ,’ शीर्ष तहका एक नेताले भने, ‘रास्वपा श्री ५ र श्री ३ दुबैलाई मान्दैन । सभापतिको अध्यक्षतामा बस्ने बैठकले यस्तै आशयको निर्णय लिन्छ ।’
सभापति लामिछानेले अध्यक्षता गर्ने बैठकका लागि ६ एजेण्डा तय गरिएको छ । बैठकका एजेण्डाहरुमा पार्टी र सदनको रिपोर्टिङ, लिडरसिप एकेडेमी,जन यात्रा, राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहस, अधिवेशन/महाधिवेशन कार्यतालिका र विविध छन् ।
कार्यवाहक सभापति डीपी अर्यालका अनुसार अदालती प्रक्रियाहरुकै कारणले यो वीचमा लामिछाने पार्टी राजनीतिमा सक्रिय नभएका हुन् । ‘अदालतको कारणले उहाँलाई थकाइ थियो । पार्टीको भावी रणनीतिहरु घरमा बसेर तयारी पनि गर्दै हुनुहुन्थ्यो,’ अर्यालले अनलाइनखबरसँग भने,‘अदालत तिर चहार्नु परेकै कारणले मौन बस्नु भएको हो ।’ अर्यालका अनुसार सभापति लामिछाने सार्वजनिक कार्यक्रममा समेत अब देखिने छन् ।
सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा २ कात्तिकमा लामिछाने पक्राउ परेका थिए । यस वीचमा लामिछानेले चारवटा सहकारीको रकम अपचलनको मुद्दामा धरौटी बुझाए । पोखरास्थित सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम अपचलनमा पक्राउ परेका उनी ८४ दिनपछि धरौटीमा २५ पुसमा छुटेका थिए । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा लामिछानेले अदालतमा ६५ लाख रुपैयाँ धरौटी बुझाएका थिए । सभापति लामिछाने प्रहरी हिरासत रहँदा रास्वपाले लामो समयसम्म कार्यवाहक सभापति तोकेन । ८ पुसमा बसेको सचिवालय बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपाध्यक्ष डीपी अर्याल हुने निर्णय गरेको थियो ।
माघ महिनामा मात्रै लामिछाने तीन सहकारीको मुद्दामा अदालतलाई धरौटी बुझाए । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा अदालतले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न २ माघमा आदेश दिएको थियो ।
१३ माघमा बुटवलको सुप्रिम सहकारीको मुद्दामा एक करोड धरौट बुझाए । २४ माघमा साहारा चितवनको सहकारी ठगी मुद्दामा ५४ लाख रुपैयाँ धरौटी लिएर छोड्न अदालतले आदेश दिएको थियो ।