इलाम : माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं रजत जयन्ती तथा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा “रक्तदान जीवन दान” नामक रक्तदान कार्यक्रम आयोजना गरेको छ।
इलाम नगरपालिका ९, भञ्ज्याङ्मा रहेको सहकारीले इलाम सदरमुकामको लाकुरी चौतारामा आज सम्पन्न उक्त कार्यक्रममा इलामका स्थानीय बासिन्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो। सहकारीले आयोजना गरेको यो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलाम, नेपाल रेडक्रस सोसाइटी सिंहबाहिनी उपशाखाको सहकार्य रहेको थियो भने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा झापाले प्राविधिक सहयोग गरेको थियो।
जिल्ला प्रहरी कार्यालय इलाम, सशस्त्र प्रहरी बल नेपाल नं १ गण हे.क्वा. श्रीअन्तु इलाम र इलाम सामुदायिक कृषि क्याम्पस इलामले कार्यक्रमलाई सहयोग गरेका थिए।
कार्यक्रममा बोल्दै माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छत्र बहादुर चौहानले सहकारीले सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको बताए। “मानवीय जीवन रक्षामा रगतको ठूलो महत्त्व छ। यसलाई मध्यनजर गर्दै हामीले यो कार्यक्रम आयोजना गरेका हौँ,” उनले भने।
यता सहकारीको नारा “मर्यादित सहकारी : समुन्नत समाज” लाई सार्थक बनाउन यस्ता कार्यक्रमहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले बताए ।