पूर्वकुलपति बैरागी काँइलाद्वारा फाल्गुनन्द साहित्य महोत्सव उद्घाटन गरिने

  युद्धबहादुर बोहोरा
245 Shares

पाँचथरः चैत २५ गतेदेखि शुरुहुने फाल्गुनन्द साहित्य महोत्सवमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति वैरागी काईलाद्वारा उद्घाटन गरिने भएको छ ।

‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ को आयोजनामा आगामी चैत २५ र २६ गते फाल्गुनन्द गाउँपालिकास्थित राँके बजारमा संचालन हुने फाल्गुनन्द साहित्य महोत्सव २०८१ कार्यक्रमको समयतालिका सार्वजानिक गरिएको छ ।

गाउँपालिका भित्र रहेका भाषा,साहित्य,वाङ्मय,कला तथा संस्कृतिको प्रवर्धन र संरक्षण साथै पर्यटन,पूर्वाधार विकाश एवं पालिकालाई समृद्धि बनाउने उदेश्यले यस पालिकामा गत मंशीर महिनाबाट स्थापना भएको ‘फाल्गुनन्द प्रज्ञा प्रतिष्ठान’ ले पहिलो पटक साहित्य महोत्सवको आयोजना गरेको प्रतिष्ठानका कुलपति समदर्शी काईंला (मनकुमार लावती ) ले जानकारी दिए । यसै पालिकामा १९९६ साल साउन २५ गते जन्मिनु भएका नेपाली साहित्यका मूर्धन्य साहित्यकार कवि तथा मुन्धुमविद (तिलबिक्रम नेम्वाङ) बैरागी काँइलाको आगमन हुने यस कार्यक्रम सभ्य र भव्यताका साथ सम्पन्ने गर्ने तयारी भइरहेको आयोजक प्रतिष्ठानका कुलपति  काईलाले बताए ।

उनका अनुसार साहित्य महोत्सवमा आउनु हुने प्रमुख अतिथि वैरागी काईलालाई नागरिक अभिनन्दनसंगै विविध सांस्कृतिक झाँकीहरुसहित राँके बजार परिक्रमा गर्दै अभिनन्दन पत्र र सम्मानपत्रद्वारा सम्मान गरिने र वहाँकै हस्तबाहुलीबाट महोत्सव उद्घाटनसंगै ‘जीवनलाई पछाडी फर्केर हेर्दा’ विद्धत सुभाषण प्रस्तुत हुनेछ ।

दिउँसो २ बजेदेखि ३ बजेसम्म प्यानल डिस्कोर्स कविता कस्तो हुनुपर्छ ? वक्ताहरु प्रकाश थाम्सुहाङ,मुनराज सेर्मा र श्रवण मुकारुङका साथमा सहजकर्ता सुन्दर कुरुपले सहजीकरण गर्ने कार्यक्रम रहेको छ । करीब २० मिनेटको समयमा पर्यटन,पर्यावरण र साहित्य बारे देवेन्द्र शक्तेनद्वारा कार्यपत्र प्रस्तुत गरिने छ । एक घण्टा अवधिसम्म सहजकर्ता पत्रकार दिपक बोहोराले “समृद्ध फाल्गुनन्द गाउँपालिका,कृषि, पर्यटन,पूर्वाधार विकास र शिक्षा” शिर्षकमा वक्ताहरु फाल्गुनन्द गाउँपालिका अध्यक्ष वृजहाङ आङदेम्बे, उपाध्यक्ष ठाकुरसिं नेम्बाङ र निवर्तमान उपाध्यक्ष देवित्रा कुमारी आङदेम्वेसंग प्यानल डिस्कोर्सको समय निर्धारण गरिएको छ ।

यसैगरी, “मातृभाषा पठनपाठनको सकस” शिर्षकमा सहजकर्ता लाल बहादुर सम्बाहाम्फे “अन्जान” ले  वक्ताहरु प्राज्ञ हरिचन्द्र लावती, दिलेन्द्र कुरुम्बाङ र मलिसा याक्थुङ्वा बीच एक घण्टा प्यानल डिस्कोर्स चल्नेछ । लिला लेखन कृष्ण वराल मार्फत २० मिनेट समय भित्र कार्यपत्र प्रस्तुत गरिने भएको छ  भने मनु नेम्वाङद्वारा केही समय साङ्गीतिक प्रस्तुती र हिमालयन कल्चरल व्याण्डको लाईभ सो सदावहार लोकभाका ६:३० बजे साँझसम्म मनोरन्जनात्मक कार्यक्रम हुने जनाइएको छ ।

दोश्रो दिन चैत २६ गते विहान १० देखि एक घण्टा “याक्थुङ साहित्यमा पहिचान” शिर्षकमा वक्ताहरु मधु केरुङ ‘केवाफुड’, लछामी शेर्मा पापो र डिगधोज लावतीका साथमा सहजकर्ता पुष्पहाङ लोवाद्वारा ‘प्यानल डिस्कोर्स’ हुनेछ । त्यसपछि धर्मेन्द्र विक्रम नेम्वाङ मार्फत ‘हरियो समाजवाद’ कार्यपत्र प्रस्तुत र एलवी नेम्बाङकृत निवन्ध संग्रह प्रमुख अतिथिको हस्तवाहुलीबाट पुस्तक विमोचनसंगै प्रमुख अतिथिबाट निवन्धकार एल.वी. नेम्बाङको विमोचित पुस्तक माथि लेखकीय वक्तव्य रहनेछ ।

मध्यान्हको समयमा मलिसा याक्थुङ्वाबाट फाल्गुनन्द गाउँपालिका भित्रका साहित्यकारहरु र तीनका सृजना कार्यपत्र प्रस्तुत गरिने छ । राजनीति र साहित्यमा अमर नेम्वाङ लिम्बू नामको कार्यपत्र हाङयुग अज्ञातले प्रस्तुत गर्ने छन् ।”राजनीति निकास र देशको विकास” शिर्षकमा वक्ताहरु निर्मल रिजाल,अईन्द्र सुन्दर नेम्वाङ र हर्क बहादुर नेम्वाङ “मिक्सो” का साथमा पत्रकार युद्धबहादुर बोहोराले ‘प्यानल डिस्कोर्स’ सहजीकरण गर्ने छन् । सूर्य प्रकाश चेम्जोङद्वारा लिम्बू चलचित्रको वर्तमान अवस्था बारे कार्यपत्र प्रस्तुत गरिने छ भने  वीर नेम्वाङका कृतिहरुको वाचन वीर नेम्वाङले कविता वाचन गर्ने छन् । दिउँसो २:२० बजेदेखि दुई घण्टा अवधिभर विभिन्न ठाउँबाट आउने एक दर्जन बढी चर्चित कवि,साहित्यकार तथा गजलकार मार्फत कविता र गजल वाचन हुनेछ ।

 

कार्यक्रमको अन्त्यतिर गीतकार एवं संगीतकार डा.लोचन रिजालबाट सांगितिक सुभाषणसहित सांगितिक प्रस्तुतीसंगै महोत्सव समापन गरिने जनाइएको छ । संगीतकार रिजाल पनि फाल्गुनन्द गाउँपालिका भित्र जन्मिनु भएका अन्तरष्ट्रिय ख्याती प्राप्त श्रष्टा हुनुहुन्छ । अमेरिकाको मासाचुसेट युनिभर्सिटीबाट इथ्नोम्यूजिकोलोजीमा पिएच.डी.गर्ने उनी नेपालका प्रथम इथ्नोम्यूजिकोलोजिस्ट र सांगीतिक सम्पदा राजदूत हुन् । यसै पालिकाका भित्र जन्मिनु भएका चर्चित प्राज्ञिक व्यक्तित्वहरुको उपस्थितिका सम्पन्न हुने साहित्यिक महोत्सवले यस क्षेत्रको महिमालाई थप उचाईमा पुर्याउनुका साथै  नयाँ पिंढीलाई कला र सृजना प्रति प्रेरणा मिल्ने फाल्गुनन्द गाउँपालिकाले अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार