माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकामा ५० दिने कार्यस्थलमा आधारित सीप तथा क्षमता विकास तालिम शुक्रबार सुरु भएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना (युवारुप) अन्तर्गत सडक मर्मत तथा सम्भार, घर वार्यरिङ र विद्धुतीय उपकरण मर्मतकर्मी तालिम सुरु भएको हो ।
माङसेबुङ गाउँपालिका-३ स्थित चतुरेमा सुरु भएको तालिमको उद्घाटन गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे । उद्घाटन कार्यक्रममा अध्यक्ष राईले सहभागीहरुलाई तालिममा सीप र क्षमता विकास गरेर सक्षम बन्न अनुरोध गरे ।
प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले तालिम प्रदायक संस्थालाई गाउँपालिकासँग भएको सम्झौता बमोजिम नै तालिम सञ्चालन गर्न अनुरोध गरे । उनले सभागीहरु सक्षम भएर व्यावसायिक बन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा १ नं. वडा अध्यक्ष भूपाल योङहाङ, ३ नं. वडा अध्यक्ष लक्षमुन राई जनम, प्रवक्ता सुसन राईलगायतले सहभागीहरुलाई व्यावहारिक जीवनमा कार्यान्वयन गर्ने गरी तालिममा सक्रियतापूर्वक सहभागी बन्न अनुरोध गरे ।
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत माङसेबुङ गाउँपालिका संयोजक दिपेश दासले र सञ्चालन तालिम प्रदायक संस्था पिरामिड टेक्निकल इन्स्टिच्युड सुनसरीका कार्यक्रम संयोजक सुमन दियालीले गरेका थिए ।
तालिम ५० दिनको हुनेछ । सडक मर्मत तथा सम्भार सम्बन्धीको तालिममा २० जना एवम् घर वार्यरिङ र विद्धुतीय उपकरण मर्मतकर्मी तालिममा २० जनाको सहभागिता रहेको संयोजक दियालीले जानकारी दिए ।