इलाम : इलामको दक्षिणी भेगलाई राष्ट्रिय राजमार्गसँग जोड्ने महत्वाकांक्षी केचना-कञ्चनजङ्घा (मेची करिडोर) फास्ट ट्र्याक निर्माणको कामले गति लिएको छ । बुधबार जिल्ला समन्वय समिति इलाम, इलाम नगरपालिका, जिल्ला प्रशासन कार्यालय इलाम, सडक डिभिजन कार्यालय इलाम र सुरक्षा निकायका प्रमुखहरु सम्मिलित संयुक्त टोलीले निर्माणाधीन सडक खण्डको स्थलगत अनुगमन गरेको छ।
इलाम नगरपालिकाको भञ्ज्याङ् देखि माइ नगरपालिकाको सोमबारेसम्मको करिब २० किलोमिटर खण्डमा भइरहेको निर्माण कार्यको अनुगमनमा टोलीले हालसम्मको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ।
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले अनुगमनपछि नयाँ बुलन्दलाई जानकारी दिँदै निर्माण कार्यको गुणस्तर र गतिमा आफूहरु सन्तुष्ट रहेको बताए। “हामीले निर्माण कार्यलाई नजिकबाट नियाल्यौं। कामको गुणस्तर राम्रो छ र प्रगति पनि सन्तोषजनक छ,” उनले भने, “तर, हामीले निर्माण कम्पनीहरुलाई कामलाई अझ तीव्रता दिन निर्देशन दिएका छौं, ताकि निर्धारित समयमै यो महत्वपूर्ण सडक सम्पन्न होस्।”
अनुगमन टोलीमा सहभागी इलाम नगरपालिका वडा न ९ का वडा अध्यक्ष गोपाल चौहानले फास्ट ट्र्याक निर्माणले यस क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे। “यो सडक बनेपछि इलामको दक्षिणी भेगका नागरिकहरुको जीवनस्तरमा सुधार आउनेछ,” उनले भने, “यसले पर्यटन प्रवर्द्धनमा पनि मद्दत गर्नेछ।”
फास्ट ट्र्याक निर्माणको काम तीन वटा निर्माण कम्पनीहरुले गरिरहेका छन्। यता सक्षम निर्माण कम्पनीका साइड इन्चार्ज सन्ताेस गाेलेले काम धमाधम भइरहेकाे र समयमै काम सक्ने बताएका छन् । यस फास्ट ट्र्याकको निर्माण सम्पन्न भएपछि इलामको दक्षिणी क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ। यसले यस क्षेत्रका कृषि उत्पादनहरुलाई बजारसम्म पुर्याउन र पर्यटन प्रवर्द्धन गर्न सहज हुनेछ।
गाँउबस्तिको मुहार फेरीदै,सदरमुकाम इलाम बजार चलायमान हुने आशा
केचना कंचनजगा (मेची करिडोर) सडक ट्रयाक खोली संचालन भएसंगै इलाम सदरमुकाम आउन र झापा जान निकै छिटो मात्र भएको छैन त्यस सडकले छोएको गाँउ बस्तिको मुहार नै बदलिएको छ । मेची राजमार्ग भएर झापाको बिर्तामोड पुग्न ८६ किलोमिटरको यो दूरी यो सडक बाट बढीमा ५० किलोमिटरमा सीमित भएको छ ।
करीब तीन घण्टा लाग्ने मेची राजमार्गको यात्रा आधा छोट्टिएपछि इलामबासी हर्षित छन् । इलाम सदरमुकामबाट गोलाखर्क भञ्ज्याङ,पुवाखोला, सोयाक, बेलासे, चिसापानी र दानाबारी हुँदै झापा खुदुनाबारी भएर बिर्तामोड जोडिने यो मार्गमा अहिले सवारी साधन बाक्लै मात्रामा चल्न थालेको छ । गाउँमा उत्पादन हुने धान, तरकारी, केरालगायत कृषिजन्य उत्पादनले पनि भाउ पाएको छ ।
सोयाक बेलासेका जग्गा–जमिनको धेरै वर्ष भाउ थिएन, अब चाहिँ राम्रो मूल्यमा बिक्ने आशा जागेको बेलासेमा होटल बयाबसाय चलाउदै आउनुभएका राज लोक्तामले बताए । गाउँमा उत्पादन हुने अदुवा, कुचो, तरुल र तरकारीले राम्रो भाउ पाउन थालेको पनि उनको भनाई छ ।
पहाडी जिल्ला इलामका बासिन्दा किनमेलका लागि झापा बिर्तामोड झर्छन् । जिल्लाको पूर्वीका बासिन्दालाई तराई झर्न सदरमुकाम आउन नपरे पनि पश्चिमी क्षेत्रका बासिन्दा सदरमुकाम भएरै तराई झर्नुपर्ने बाध्यता थियो तर अहिले त्यो बाध्यता हटेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दा समेत मेची राजमार्ग छाडेर राँके–रवि हुँदै सोझै तराई झर्दा इलाम सदरमुकाम ओझेलमा पर्ने सम्भावना रहेका बेला मेची करिडोर खुलेपछि सुविधा थपिएको छ ।
अब इलाम सदरमुकामबाट सबैभन्दा छिटो तराई झर्ने मार्ग यही भएको होटल ब्यबसायी संघ इलामका अध्यक्ष देवी पौडेलले बताए । सडकको ट्र्याक खुलेर अहिले कामले गति लिएसंगै यो क्षेत्रमा नयाँ घर बन्ने र पसल खुल्नेक्रम बढेको छ । मानिस आउ–जाउ बढेपछि गाउँमै व्यवसाय चल्ने आशाले स्थानीय हर्षित छन् । यो सडक कालोपत्रे भएर संचालनमा आउनसाथ इलाममा मानिसको आउ–जाउ बढ्ने र पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने पौडेलले बताए । यो सडक निर्माण भए इलामले आर्थिक विकास, समृद्धि र पर्यटनमा छलाङ मार्छ भन्ने विश्वास रहेको पौडेलको भनाई छ ।