इलाम : भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको भूमी सम्बन्धी समस्या समाधान आयोगले इलाममा कार्ययोजना सहित काम शुरु गरेको छ । तीन वर्षमा काम सक्ने गरि गठन भएको आयोगले स्थानीय तह र जिल्लास्तरमा अन्तरक्रिया सम्पन्न गरि चालु आर्थिक वर्षबाटै जग्गाको लालपुर्जा वितरणको तयारी गरेको हो । आयोगले तीन वर्षभित्र इलामका भुमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको लालपुर्जा प्रदान गर्ने योजना बनाएको छ । आयोगले यस अघिका आयोगले गरेका कामको स्वामित्व लिँदै लालपुर्जा विरतण गर्ने योजना बनाएको हो । जनशक्ति र आर्थिक दायीत्व अधुरा कामका लागि प्रयोग गर्ने निति लिएको आयोगले बार्षिक कार्ययोजना नै बताएको छ ।
इलामका स्थानीय तहमध्ये यस अघिका आयोगबाट ५ वटा स्थानीय तहमा भुमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन गरि आयोगको प्रणालीमा तथ्याङ्क प्रविष्टिकरण भएको आयोगका विज्ञ सदस्य श्याम खड्गीले बताए । आयोगको तथ्याङ्कमा ४ पालिकाहरुमा भुमीहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको संकलन भएको लगत प्रणालिमा प्रबिष्टिकरण गर्ने योजना बनाएको छ । लगत संकलन नै भएको देउमाई नगरपालिकामा लगत संकलनको काम अघि बढाउने योजना रहेको हो ।
आयोगले २०७१ साल अगाडी गठन भएका आयोगबाट अधुरो रहेका काम पनि पुरा गर्ने गरि कार्ययोजना बनाएको छ । इलाममा २०७१ साल अघिका आयोगबाट हुन नसकेकाको तथ्याङ्क ४ सय ३२ रहेको छ । आयोगले रोङ, माङ्सेबुङ्ग, चुलाचुली गाउँपालिका माई र सूर्योदय नगरपालिकामा असार मसान्तसम्म जग्गाको प्रमाण पुर्जा वितरण गर्ने योजना बनाएको अध्यक्ष प्रकाश अधिकारीले बताए ।
जसका लागी इलाममा जग्गा नापजाँच गर्ने ३० जना जनशक्ति स्थानीय तहमा खटाइएको छ । जनशक्तिलाई आवश्यक पर्ने प्राविधिक सामग्री स्थानीय तह र प्रदेश सरकारबाट व्यवस्था गर्ने तयारी रहेको सोमबार आयोजित आयोगको जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको थियो । भुमि समस्या समाधान आयोागका जिल्ला अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा रहेको कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले राज्यका सबै अंगले आयोगलाई सफल बनाउन लाग्नुपर्नेमा जोड दिए । भुमि समस्या समाधान आयोगका संघीय विज्ञ सदस्य जगतबहादूर बस्नेतले आयोगको क्षेत्राधिकार र कार्यान्वयन गर्ने कामका बिषयमा सहजिकरण गरेका थिए । आयोगका संघीय सदस्य तथा कोशी प्रदेश संयोजक अनिलकृष्ण प्रसाईले देशका दुई ठुला पार्टीहरुको सरकारबाट गठन भएको आयोगले काम सफल पार्ने बताए । अन्तरक्रियामा भुमि समस्या समाधान आयोग इलामका विज्ञ सदस्य श्याम खड्गीले जिल्लामा यसअघि आयोगले गरेका कामको बिषयमा जानकारी दिएका थिए ।
यस अघिका आयोगले अहिलेसम्म भुमिहिन १ सय १६, भूमिहिन सुकुम्बासी ४ सय ९०, अव्यवस्थिति बसोबासी १३ हजार ४ सय ८६ गरी १४ हजार ९२ प्रणालीमा प्रविष्टिकरण गरेको छ । त्यसैगरी लगत संकलन भएको तर प्रणालिमा प्रविष्टिकरण हुन भुमिहिन दलित १ सय ८, भुमिहिन सुकुम्बासी २ सय ९३, अव्यवस्थित बसोबासी २ हजार ५ सय ४४ गरि २ हजार ९ सय ४५ वटा रहेका छन् ।
कार्यक्रममा स्थानीय तहका प्रमुख, उप–प्रमुख, प्रमुख प्रशासकिय अधिकृत, नेकपा एमालेका जिल्ला अध्यक्ष गणेश बराल, नेकपा माओवादी केन्द्रकी सचिव सान्ता बस्नेत लगायत राजनीतिक दलहरुका प्रतिनिधिको सहभागिता रहेको थियो ।