इलाम : सूर्योदय नगरपालिका १ को थुम्के क्षेत्रमा नेपाल टेलिकमको टावर जडान भएपनि उपभोक्ताले राम्रो सेवा पाउन सकेका छैनन् । सूर्योदय नगरपालिका १ र माईजोगमाई गाउँपालिका २ का बासिन्दाको सेवाका लागि टेलिफोनको टावर जडान भएपनि पूर्णरुपमा संचालनमा नआएको हो । टावर तीन वर्ष अघि जडान भएको थियो । टावर संचालनका लागि विद्युतको त्रिफेज लाइन आवश्यक रहेको नेपाल टेलिकम इलाम शाखाका सुनिल सिंहले बताए । विद्युत नभएका बेला संचालन गर्न सोलार जडान गरेपनि घाम नलाग्ने भएकाले समस्या भएको उनले बताए ।
चिसो क्षेत्र भएकाले घाम कम लाग्ने गरेकाले शोलारबाट संचालन हुन नसकेको उनले जानकारी दिए । टावर संचालनका लागि थ्रिफेज लाइन पुग्नुपर्ने भएकाले नेपाल विद्युत प्राधिकरणसँग अनुरोध गरिएको उनले बताए । यस्तै सन्दकपुर गाउँपालिका वडा नम्बर ४ को माबु र माई नगरपालिकाको १ टावरमा पनि थ्रिफेज लाइन पुर्याउने पहल भइरहेको सिंहले जानकारी दिए ।