आदिवासी जनजाति प्रतिनिधिहरुको क्षमता अभिवृद्धि तालिम सकियो

इलाम : इलाममा आयोजित आदिवासी जनजाति प्रतिनिधिहरुलाई क्षमता अभिवृद्धि तालिम सदरमुकाममा आइतबार सकिएको छ ।

नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि परियोजना (एफएलबि-इएच) अन्तर्गत आयोजित दुई दिने क्षमता अभिवृद्धि तालिम सकिएको को ।

तालिममा परियोजना सञ्चालित छ वटा स्थानीय तहका २१ वडाका २१ जना आदिवासी जनजाति प्रतिधिहरुको सहभागिता थियो । तालिममा परियोजना सञ्चालित फाकफोकथुम र सन्दकपुर गाउँपालिकाका सबै वडा, माईजोगमाई गाउँपालिकाका २ र ६, इलाम नगरपालिकाको १, २, ३ र ४, देउमाई नगरपालिकाका १ र २ तथा सूर्योदय नगरपालिकाको वडा नम्बर १ का २१ जना आदिवासी जनजाति प्रतिनिधिहरुको सहभागिता थियो ।

तालिमका सहभागीहरुलाई परियोजना सहजकर्ता रामकुमार लिम्बू योङहाङ र निरमाया गुरुङ (निरु) ले सहजीकरण गरेका थिए ।

तालिममा नेपालका पूर्व पहाडी भेगका वन, भूमि र जैविक विविधताको दिगो व्यवस्थापनका लागि क्षमता अभिवृद्धि परियोजना (एफएलबि-इएच) को परिचय, स्वतन्त्र, अग्रिम र सुसूचित मञ्जुरी (एफपिक) को परिचय र अन्तर्राष्ट्रिय कानूनी प्रावधानहरु, अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि १६९, एफपिक सम्बन्धी संवैधानिक एवं कानूनी प्रावधानहरु,  एफपिक कार्यान्वयन प्रकृया, स्थलगत तथ्याङ्क संकलन तथा कार्ययोजना तर्जुमालगायतका विषयमा छलफल भएको थियो ।

नेपालको पूर्वी पहाडी क्षेत्रमा संरक्षित क्षेत्र भन्दा बाहिर विश्वव्यापी रूपमा महत्वपूर्ण जैविक विविधता संरक्षण र दिगो जीविकोपार्जनका लागि सुधारिएको पारिस्थितिक प्रणाली सेवाहरूको प्रवाह गर्ने उदेश्यले इलामसहित पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुवासभामा गतवर्षदेखि आयोजना सञ्चालित छ ।

विश्व वातावारण सुविधा (जीइएफ) को आर्थिक सहयोगमा संयुक्त राष्ट्र संघ, खाद्य तथा कृषि संगठन (एफएओ) को प्राविधिक सहायतामा वन तथा वातावरण मन्त्रालयको आयोजनामा पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशले आयोजना परियोजना सञ्चालित छ । नेपाल आदिवासी जनजाति महासंघले परियोजनाको सेवा प्रदायक संस्थाका रुपमा काम गरिरहेको छ ।

नेपाल आदिवासी जनजाति महासंघ इलाम अध्यक्ष चक्र येक्तेन (अभिषेक) को अध्यक्षतामा र महासंघ केन्द्रीय कोषाध्यक्ष विमल सारु मगरको प्रमुख आतिथ्यतामा समापन समारोह भएको भएको थियो । कार्यक्रममा प्रमुख अतिथि मगरले तालिममा सिकेका कुराहरु समुदायमा कार्यान्वयन गर्न सहभागीहरुलाई निर्देशन दिए । कार्यक्रममा सहभागीका तर्फबाट रुपेन नेम्बाङ र सुनिता खालिङ राईले प्रतिक्रिया मन्तव्य राखेका थिए । उनीहरुले आदिवासी जनजातिको क्षमता विकासको क्षेत्रमा परियोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने पव्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार