इलाम: नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै फाकफोकथुम गाउँपालिकाको आयोजनामा निःशुल्क दुई दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
करीब २० हजार जनसंख्या भएको जिल्लाको दुर्गम पश्चिमी क्षेत्रमा रहेको यस गाउँपालिकले नागरिकलाई विशेषज्ञवाट स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले शिविरको आयोजना गरेको छ । ३ नम्बर वडास्थित आमचोकको सिंहदेवी माद्यमिक विद्यालयमा चैत १ गते पहिलो दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म र २ गते दिउँसो १२ बजेसम्म शिविर संचालन हुने पालिकाका प्रमुख प्रसाशकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स प्लान्ट सेन्टर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाण्डौको प्राविधिक सहयोग र ‘विपन्नका लागि स्वास्थ्य नेपाल’ काठमाण्डौको सहकार्यमा २० जना बढी विशेषज्ञसहित स्वास्थ्यकर्मीले सेवा प्रदान गर्ने पालिका उपाध्यक्ष कल्पना राईले बताइन् । पाँचथर जिल्लासंग सिमाना जोडिएको फाकफोकथुम गाउँपालिकाले अन्य छिमेकी पालिकाका नागरिकलाई पनि सेवा दिन लक्ष्य राख्दै देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिका साथै पाँचथरको फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई पनि पत्राचार गरेको छ ।
यस भेगका नगरिकले गुणस्तरिय स्वास्थ्य सेवा लिन झापालगायत विभिन्न ठाउँका सुविधा सम्पन्न अस्पतालमा धाउनु पर्ने बाध्यता छ । यीनै समस्यामा केन्द्रित हुँदै विपन्न परिवार,असक्त र असाहाय्यका लागि शिविर महत्वपूर्ण हुने पालिकाले अपेक्षा गरेको छ । नागरिकको स्वास्थ्यमा संवेदनशील बन्दै यस पालिकामा पहिलोपटक निःशुल्क बृहत स्वास्थ्य शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दीपेन्द्र खनालले बताए । जटिल रोग लागेका विपन्न, अपाङ्गता भएका व्यक्ति र असाहाय्य परिवारका विरामीलाई सहुलियतमा उपचारका लागि आवश्यक प्रकृया अगाडी बढाइने उनको भनाइ छ ।
शिविरमा मुटु रोग, बाल रोग, स्त्री रोग, नाक-कान-घाँटी रोग, जनरल मेडिसिन,ईसिजी तथा इको, भिडियो एक्स-रे, ब्लड प्रेसर, सुगर जाँच र स्वास्थ्य परामर्शको व्यवस्था गरिएको पालिका स्वास्थ्य शाखा प्रमुख याम बस्नेतले जानकारी गराए । हाल यस पालिकामा पाँच वटा स्वास्थ्य चौकी, दुई वटा सामुदायिक स्वास्थ्य इकाई,१७ वटा गाउँघर क्लिनिक र २२ वटा खोप केन्द्र छन् भने १५ शैयाको आधारभूत अस्पताल २ नम्बर वडाको कोल्बोटेमा तीव्र गतिमा निर्माण भइरहेको प्राविधिक लक्ष्मी प्रसाद शर्माले बताए । निर्माण सम्पन्न भएर संचालनमा आएपछि सबै नागरिकले सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने प्रतिक्षामा छन् । नागरिकलाई सहज होस् भन्ने हेतुले गतवर्षबाट यस पालिकामा एम्बुलेन्स सेवासमेत संचालन गरिएको छ । पालिकाका नागरिकलाई स्वास्थ्य विमा कार्यक्रम संचालन गरिएको भएता पनि हालसम्म भने सवै जनतासम्म पुग्न नसकेको नागरिकको गुनासो छ ।