इलाम : पहाडी जिल्ला इलामको शैक्षिक धरोहर महेन्द्र रत्न बहुमुखी क्याम्पस यतिबेला स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ को महासंग्रामले तातेको छ । आउदो चैत ५ गते हुने निर्वाचनका लागि क्याम्पसमा क्रियाशील सात विद्यार्थी संगठनले आफ्नो नाम दर्ता गराएपछि चुनावी माहोलले तीव्रता पाएको छ । त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचन निर्देशिका, २०८१ अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म दर्ताको समयसीमा तोकिएको थियो । सोही समयसीमा भित्र विभिन्न राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले उत्साहका साथ आफ्नो उपस्थिती जनाएका छन् ।
निर्वाचन अधिकृत देवराज घिमिरेले दिएको जानकारी अनुसार अखिल क्रान्तिकारी, अखिल (समाजवादी), अनेरास्ववियु , समाजवादी विद्यार्थी युनियन, नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले आफ्नो संगठन दर्ता गराएका छन् । क्याम्पसमा धेरै विद्यार्थी संगठनहरूले एकसाथ प्रतिस्पर्धामा उत्रिएपछि निर्वाचनको रौनक झनै बढेको छ ।
विद्यार्थीहरूमा उत्साह, योग्य नेतृत्वको खोजी
स्ववियु निर्वाचनको घोषणाले क्याम्पसका विद्यार्थीहरूमा अभूतपूर्व उत्साह छाएको छ । उनीहरूले आफ्नो मताधिकार प्रयोग गरी योग्य र सक्षम नेतृत्व चयन गर्ने मनसाय राखेका छन् । विद्यार्थीहरूले क्याम्पसको विकास र विद्यार्थीहरूको हकहितमा काम गर्ने नेतृत्वको आवश्यकता महसुस गरेका छन् ।
यो निर्वाचन हाम्रा लागि निकै महत्वपूर्ण छ, क्यामपसमा अध्ययनरत एक विद्यार्थीले भनिन्, “हामीले क्याम्पसको विकास र विद्यार्थीहरूको हकहितमा काम गर्ने नेतृत्व चयन गर्नुपर्छ, “हामीले दलगत स्वार्थभन्दा माथि उठेर विद्यार्थीको हितमा काम गर्ने नेतृत्वलाई जिताउनुपर्छ ।”
चुनावी माहोल र विद्यार्थीको अपेक्षा
निर्वाचनको मिति नजिकिँदै गर्दा क्याम्पसमा विद्यार्थी संगठनहरूले आफ्नो चुनावी गतिविधि तीव्र पारेका छन् । उनीहरूले विद्यार्थीहरूसँग भेटघाट, छलफल र अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिरहेका छन् । क्याम्पस प्रशासनले पनि निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी थालेको छ ।
विद्यार्थी संगठनहरूको प्रतिबद्धता
दर्ता भएका विद्यार्थी संगठनहरूले क्याम्पसको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीहरूको हकहितको संरक्षण, खेलकुद तथा सांस्कृतिक गतिविधिहरूको प्रवद्र्धन, पुस्तकालय र प्रयोगशालाको विकास लगायतका विषयलाई आफ्नो चुनावी एजेन्डा बनाएका छन् । उनीहरूले क्याम्पसलाई विद्यार्थीमैत्री बनाउन र विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याउने प्रतिबद्धता जनाएका छन् ।
स्ववियु निर्वाचनले क्याम्पसमा नयाँ नेतृत्व चयन गर्ने र विद्यार्थीहरूको आवाजलाई बुलन्द गर्ने अवसर प्रदान गर्नेछ । यसले क्याम्पसको शैक्षिक र सामाजिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।