इलाम : जिल्लाको माङसेबुङ गाउँपालिकामा एकैपटक चार वटा सिँचाइ आयोजना सुरु भएको छ । चालू आर्षिक वर्षमा सम्पन्न हुने गरी रु दुई करोड ८० लाख सा हजार छ सय ७८ को लागतमा चार वटा सिँचाइ आयोजना सुरु भएको हो ।
माङसेबुङ गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रम अन्तरगत वडा नं. १ मा दुईवटा, वडा नं. ३ मा एकवटा र वडा नं. ४ मा एकवटा सिचाँइ योजनाजना सुरु भएको माङसेबङ गाउँपालिका इन्जिनियर (अधिकृत छैटौं) युवराज दाहालले जानकारी दिए ।
वडा नं. १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ रुपैँयाको लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाख रुपैयाँको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ ।
वडा नं. ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ रुपैयाँको लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं. ४ को सिङफेरे र मार्चेबुङ टोलमा रु ८६ लाख १९ हजार सात सय ५० रुपैयाँको लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु भएको हो ।
आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत अर्थात् रु ८४ लाख दुघ हजार तीन सय तीन, संघीय सरकार, प्रदेश सरकार र माङसेबुङ गाउँपालिकाको २०/२० प्रतिशत अर्थात् रु ५६ लाख एक हजार तीन सय ३५ का दरले र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत अर्थात् रु २८ लाख सात सय ६७ रुपैयाँ लागत साझेदारी रहेको छ ।
त्यैगरी यसवर्ष तीवटा सिँचाइ योजना मर्मत सम्भारको काम सुरु भएको छ । सोही कार्यक्रम अन्तर्गत वडा नं. १ स्थित बयरबोटे टोलमा रु चार लाख ७९ हजार रुपैयाँको लागतमा बरबोटे सिँचाइ योजना, सोही वडाको तीनघरे टोलमा रु चार लाख १९ हजार चार सय रुपैयाँको लागतमा तनघरे सिँचाइ योजना र वडा नं. ३ को चतुवा बेँसी टोलमा रु १२ लाख १० हजार दुईसय रुपैयाँको लागतमा रतुवा चिण्डे ठूलो बेँसी सिचाइ योजना मर्मत सम्भारको काम भइरहेको छ ।
यसअघि नै निर्माण भएर प्राकृतिक प्रकोपका कारण क्षति भएका योजनाहरुको मर्मत सम्भारको काम सुरु गरिएको छ । मर्मत सम्भारमा समेत नयाँ निर्माणझैँ साझेदारी गरिएको हो ।
यसअघि गतवर्ष माङसेबुङ गाउँपालिकामा रु तीन करोड २६ लाख ५३ हजार तीन सय ४९ रुपैयाँको लागतमा छवटा सिँचाइ कूलो निर्माण सम्पन्न भइसकेको छ । सो योजनाबाट ६६ दशमलव २३ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।
सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा स्थानीयको छ । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यस वर्ष यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ३५ हजार ३९ मेट्रिक टन धान उत्पादन भएको छ । इलाममा रन्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धान खेती गरिन्छ ।
युवाहरुलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।