इलाम : इलामको हिमाल दोलखा हाइड्रोपावरले जलविद्युत आयोजना संचालन गर्दा पानीको प्रयोगलाई लिएर विवाद उत्पन्न भएको छ। स्थानीयले कम्पनीले नियम मिचेर खोलाको पानी प्रयोग गरेको आरोप लगाएका छन् भने वडाले समेत पानीलाई खोलामा प्राकृतिक रुपमै सन्चालन गर्न भन्दै कम्पनीलाई पत्रचार समेत गरेको छ ।
जलविद्युत आयोजनाले न्यूनतम १० प्रतिशत पानी खोलामै छोड्नु पर्ने व्यवस्था छ। तर हिमाल दोलखा हाइड्रोपावरले नियम विपरीत खोलाको पानी जलविद्युत आयोजनामा लगेको स्थानीयको भनाई छ ।
इलाम नगरपालिका १० मा पर्ने उक्त जलविद्युत आयोजनाले राजदुवाली भन्दा माथिबाट आयोजनामा पानी लैजाँदा त्यसभन्दा तल्लो खोला क्षेत्रमा पानी छोडे पनि उक्त पानी पावर हाउस भन्दा माथिबाटै क्यासकेट तिर लगेको हो ।
आयोजनामा प्रयोग गरिएको पानी पावर हाउसबाट निस्किएपछि कम्तीमा एक सय मिटर खोलामा बगेपछि मात्रै पुन प्रयोग गर्न मिल्छ। तर हिमाल दोलखाले प्रयोग गरी पावर हाउसबाट खोलामा पुग्न नपाई क्यासकेटमा हालेको छ भने माथिल्लो क्षेत्रको पानी पनि खोलामा बाँध बाँधेरै क्यासकेट तिर लगेको छ।
जलविद्युतमा लगेर खोलामा छोडिएको पानी पनि पावर हाउसभन्दा मास्तिरबाटै क्यासकेटतिर लगेपछि इलाम नगरपालिका वडा नं ९ ले प्राकृतिक रुपमानै पानी छोडिदिन पत्राचार गरेको छ। इलाम नगरपालिका ९ र १० को बिचमा पर्ने माईखोलामा सञ्चालनमा आएका जलविद्युत आयोजनाले खोलामा पानी पर्याप्त नछोडेको र छोडेको पानी पनि पावर हाउसबाट निस्किएको पानीमा मिसिनु भन्दा पहिलिनै खोलामा बाँध बाँधेर लगे पनि प्राकृतिक रूपमा पानी छोड्न हिमाल दोलखालाई पत्राचार गरेको इलाम नगरपालिका ९ का वडाध्यक्ष गोपाल चौहानले बताए।
१० नं मा पर्ने टापु स्थित शिवालय मन्दिर मुनि माई खोलामा बगिरहेको पानी अनधिकृत रूपमा अन्यत्र लगी जलचर लगायत अन्य वन्य जन्तु लाईसमेत नकारात्मक असर परेको र उक्त पानी खोलामानै छोड्नुपर्ने अध्यक्ष चौहानको भनाई छ। अध्यक्ष चौहानका अनुसार यस हाईड्रोले यस अघि पनि पुवाखोलाको पानी मोटर लगाएर प्रयोग गरेको र त्यस्लाई पनि हटाउन लगाएका थियौ ।
यता हिमाल दोलखाका इलाम इन्चार्ज आकाश चौधरीले अहिले आफू बिदामा रहेको र आफु अफिस आएपछि बुझ्ने बताए।
इलाममा दर्जन भन्दा बढी जलविद्युत आयोजना रहेका छन् । इलामको माई खोलामा मात्रै ८ देखि १० वटा जति आयोजना निर्माण भएका छन् भने पुवाखोला, जोगमाई, सिद्धी खोला गरी जिल्लामा दर्जन बढी जलविद्युत आयोजना निर्माण भएका हुन । जिल्लामा उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारणमा पु¥याउन इलाम नगरपालिका १० गोदकमा सवस्टेशन रहेको छ ।