इलाम : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मुल्याङ्कनमा इलामको स्थानीय तहमध्ये गाउँपालिकातर्फ चुलाचुली गाउँपालिका पहिलो भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चुलाचुली गाउँपालिकाले ५८ अङ्क प्राप्त गरी गाउँपालिकातर्फ पहिलो भएको हो ।
गाउँपालिकातर्फ पहिलो भएपछि गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले विगतभन्दा केही सुधार भएको बताउँदै आगामी दिनमा अझ मेहनत गर्दै अघि बढ्ने प्रतिक्रिया दिए ।
सन्दकपुर गाउँपालिकाले ५७ दशमलव ९ अङ्क प्राप्त गरी दोस्रो, फाकफोकथुम गाउँपालिकाले ५६ दशमलव ३ अङ्क प्राप्त गरी तेस्रो, रोङ गाउँपालिकाले ५४ दशमलव ९ अङ्क प्राप्त गरी चौथो, माङसेबुङ गाउँपालिकाले ५४ अङ्क प्राप्त गरी पाँचौ र माईजोगमाई गाउँपालिकाले ४६ दशमलव २ अङ्क प्राप्त गरी छैटौं स्थानमा छन् ।
नगरपालिकार्फ भने सूर्योदय नगरपालिका समग्र जिल्लाको पहिलो हुँदै देशभरकै पालिकामध्ये दोस्रो भएको छ । ८० दशमलव २ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१ दशमलव ७ अङ्क प्राप्त गरी डडेलधुराको अमगरगढी नगरपालिका उत्कृष्ट भएको छ ।
देउमाई नगरपालिका र माई नगरपालिकाले समान ६८ दशमलव १ अङ्क हासिल गरी दोस्रो तथा ६५ दशमलव ३ अङ्क प्राप्त गरी इलाम नगरपालिका तेस्रो तथा नगरपालिकामध्ये अन्तिम स्थानमा छ ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मुल्याङ्कन प्रतिवेदनअनुसार वित्त आयोगको विभिन्न १७ सूचकलाई मध्ययनजर कार्यसम्पादन मुल्याङ्कन गर्दै आएको छ । यसमा लेखापरीक्षण, बेरुजु फर्छ्यौट, तोकिएको समयमा बजेट विनियोजन, लक्षित राजस्व सङ्कलनलगायत विषयलाई सूचकका रुपमा राखिएको छ ।
‘प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मुल्याङ्कन कार्यविधि, २०७८’ का आधारमा मुल्याङ्कन गरेर प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय तहलाई यस्तो अङ्क प्रदान गर्ने गर्दछ । कार्यसम्पादनबाट प्राप्त अङ्कका आधारमा स्थानीय तहले सङ्घ सरकारबाट पाउने वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने कानुनी प्रावधान छ ।