२६७५ मुरी धान फलाउने फाल्गुनन्दका ४२ जना किसानलाई १३ लाख २० हजार नगद पुरस्कार  

  युद्धबहादुर बोहोरा
161 Shares

 

 

पाँचथरः नेपाल कृषि प्रधान देश भनेर चिनिन्छ । अनि, कृषकका नाममा करोडौं रकम वर्षेनी छुटिने पनि गरेको छ । तर, वास्तविक किसानसम्म आइ नपुग्दै उनीहरुले पाउने सुविधा बाटोमै विलय हुने समस्या हरेक ठाउँमा चर्चा सुनिन्छ । नाम मात्रैको कृषिप्रधान देश बनेको छ । खाद्यन्न भने बाहिरी देशबाट आयात गर्नुपर्ने वाध्यता छ । यता, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले भने, गत वर्षदेखि खाद्यन्नमा आत्मनिर्भर बनाउने उदेश्यले नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेर कृषक सम्मानको कार्यक्रम थालनी गरेको छ । विगत वर्ष भन्दा यस पटक पालिकामा धान बढी उत्पादन भएको छ । बाढी पहिरोसंगै विपत्तको बाबजुद उत्पादनमा बृद्धि भएको जनाइएको छ । गत साल २९ जना किसानले करीब १७ सय ५६ मुरी धान फलाएका थिए । यो वर्ष किसानमा झनै उत्साह थपिएको र उत्पादन बढेको पालिकाले जनाएको छ । कृषि पेशालाई व्यवसायीकरण गर्दै खाद्यन्नमा आत्मनिर्भर बनाउने भन्दै किसान सम्मान कार्यक्रम राखिएको पालिका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए । गत सालदेखि थालनी गरिएको किसान सम्मान कार्यक्रमले फाल्गुनन्द गाउँपालिका यतिबेला सबैतिर हाईहाई बनेको छ ।

पालिकाले धान उत्पादनमा उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० पारित गरेसंगै सार्वजानिक सूचना जारी गरिएको थियो । उक्त सूचनामा ५० मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ३० हजार र १०० मुरीभन्दा माथि धान उत्पादन गर्ने प्रति कृषक ५० हजार नगद पुरस्कार वितरण गर्ने घोषणा गरेको थियो । किसानले पेश गरेको दावी अनुसार पालिकाको टिम उनीहरुको खेतै गएर मापदण्ड अनुसार धान नापतौलपछि जम्मा ५० देखि १०० मुरी धान उत्पादन गर्ने ३९ जना र १०० मुरी माथिका ३ जना गरी ४२ जना पुरस्कृत हुने सुचीमा छनौटमा परेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत देवी तुम्बापोले जानजकारी दिए । छनौटमा परेका कृषकलाई मंगलबार पालिका केन्द्र घुर्बिसे पञ्चमीमा पञ्चे बाजागाजा,ढोल,झाँकीसहित भव्य र्यालीका साथ सम्मान-पत्र, नगद र दोसल्ला ओढाएर सम्मान गरिएको छ । ३९ जनालाई ३० हजारका दरले र ३ जनालाई ५० हजार रुपैंयाका दरले गरी जम्मा १३ लाख २० हजार रुपैंया किसानलाई पुरस्कृत गरिएको अधिकृत तुम्वापोले बताए ।

पुरस्कृत हुनेमा १ नम्बर वडाबाट ७ जना, २ नम्बर वडाबाट ४ जना, ४ नम्बर वडाबाट ५ जना, ५ नम्बर वडाबाट १३ जना, ६ नम्बर वडाबाट ५ जना र ७ नम्बर वडाबाट ८ जना गरी ४२ जनाले २६७५ मुरी १३ पाथी धान फलाएको पालिकाले तथ्याङ्क सार्वजनिक गरेको छ । ३ नम्बर वडा वाहेक अन्य सबै वडाबाट धान फलाउने उत्कृष्ट कृषकको रुपमा पुरस्कृत भएका छन् । पुरस्कृत हुने सबै कृषकलाई प्रमुख अतिथि १ नम्बर प्रदेश(कोशी) का उद्योग,कृषि तथा सहकारी मन्त्री खगेन्द्र सिं हाङ्युम, पालिका अध्यक्ष बृजहाङ आङ्देम्बे,उपाध्यक्ष ठाकुर सिं नेम्बाङ,प्रमुख प्रशासकिय अधिकृत तुम्वापो,कृषि शाखा प्रमुख सुगम घिमिरेसहित कार्यपालिका सदस्य,जनप्रतिनिधीहरु,कर्मचारीलगायतको भव्य उपस्थितिमा नगद,प्रमाणपत्रसहित सम्मान गरिएको पालिका योजना तथा प्रशासन शाखा प्रमुख निर्मल अधिकारीले जानकारी दिए । किसानलाई प्रोत्साहन गर्न उनीहरुले लिएको ऋणको व्याज सरकारले जिम्मा  लिने र व्याज अनुदान भनेर छुट दिने गरि प्रदेश सरकारले योजना बनाएको प्रमुख अतिथि मन्त्री हाङ्युमले बताए ।  बिउ बिजन र मल समेत किसानलाई सहज ढंगबाट उपलब्ध गराउने उनले  प्रतिवद्धता व्यक्त गरे । गत वर्ष १६८ मुरी धान फलाएर पहिलो पुरस्कृत हुने वडा नम्बर १ निवासी मकर वहादुर तामाङले यस वर्ष भने झनै उत्पादन बढाएर १७४ मुरी फलाउने पहिलो किसान बनेका छन् ।

एक वडा एक उत्पादन भन्ने नीति लिएको यस पालिकाको १ देखि ७ नम्बर वडासम्म क्रमशःमकै,किवी,आलु,अकबरे खुर्सानी,कोदो,कफी र सुन्तोला उत्पादन गर्ने सुचीमा राखेको उपाध्यक्ष नेम्वाङले बताए  । सबै किसानलाई अनुदानको व्यवस्था गरेको जनाएको छ । पालिकाले छिट्टै बाली विमाको प्रकृया शुरु गर्ने जनाएको छ ।  कृषि र पर्यटनलाई प्राथमिकतामा राख्दै धेरै धान उत्पादन गर्ने किसानलाई सम्मान गर्दै आएको छ । देश भरका कृषि पर्यटकलाई गाउँपालिका भित्र्याउने सोचाइले यो कार्यक्रम थालनी गरिएको पालिका अध्यक्ष आङ्देम्बेको भनाइ छ ।

यसै कार्यक्रमका अवसरमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता यसै पालिका वडा नम्बर ५ निवासी खेलाडी इन्द्रकला नेम्वाङ (निकी) लाई नगद ३५ हजार रुपैंया र कदरपत्रसहित सम्मान गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार