इलाममा डेढ लाख भन्दा बढी नागरिक स्वास्थ्य बीममा आवद्ध

  नयाँ बुलन्द
112 Shares

इलाम : इलाममा स्वास्थ्य बीमाप्रति अर्कषण बढ्दै गएको छ । जिल्लामा करिब डेढ लाख भन्दा बढी नागरिक स्वास्थ्य बीममा आवद्ध छन् । स्वास्थ्य बीमा बोर्ड इलामका अनुसार बीमामा हालसम्म एक लाख ७४ हजार ३९ जना आवद्ध भएका हुन् ।

जिल्लामा २०७८ को जनगणना अनुसार इलामको कुल जनसङ्ख्या दुई लाख ७९ हजार पाँच सय ३४ रहेता पनि स्वास्थ्य बीमामा ६२.२६ प्रतिशत मात्र आवद्ध छन् । स्वास्थ्य बीमा बोर्ड इलामका सुचना अधिकारी प्रदिप नेपालका अनुसार पछिल्लो समय बिमा गर्नेहरुको संख्या बढ्दै गएपनि सत प्रतिशत हुन सकेको छैन । नेपालले भने, “ इलाममा भौगोलकि बिकटता र अस्पतालको सहज पहुँचका कारण पनि शतप्रतिशत नागरिक स्वास्थ्य बीमामा आवद्ध हुन नसकिरहनु भएको छ । ”

जिल्लाको दश वटै स्थानीय तहमध्ये गएको असार सम्मको तथ्याकलाई हेर्ने हो भने सबै भन्दा बढि सूर्योदय नगरपालिका र सबै भन्दा कम माङसेबुङ गाँउपालिकामा रहेको देखिन्छ ।

स्वास्थ्य बीमा बोर्ड इलामका अनुसार इलाम नगरपालिकामा ३४ हजार ७८० जना, सुर्योदय नगरपालिकामा ३५ हजार २८२ जना, देउमाइ नगरपालिकामा १८ हजार ३० जना, माई नगरपालिकामा २१ हजार ३४३ जना, चुलाचुली गाँउपालिकामा १६ हजार १७९, र रोङ गाँउपालिकामा ८ हजार ४८ जना स्वास्थ्य बीमामा आवद्ध छन् ।

यस्तै, सन्दकपुर गाँउपालिकामा ६ हजार ९५९ जना, माङसेबुङ गाँउपालिकामा ५ हजार २५४ जना, फाकफोकथुम गाँउपालिकामा ६ हजार ६४० जना र माइजोगमाई गाँउपालिकामा १२ हजार ६० जना स्वास्थ्य बीमामा आबद्ध भएको कार्यालयले जनाएको छ । कार्यालयले दिएको जानकारी अनुसार गएको आर्थिक बर्षमा एक लाख ५२ हजार ४ सय १६ जना बिमा कार्यक्रममा आबद्घ भएका थिए ।
जिल्लामा सदरमुकाममा रहेको इलाम अस्पताल सहित नगर अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका छन् । स्वास्थ्य बीमामा नागरिकलाई अधिकभन्दा बढी आवद्ध गराउन पालिकाहरुले बिभिन्न योजनाहरु निमार्ण गरिरहेका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु। तीन हजार पाँच सय तिर्नुपर्ने हुन्छ । परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएका प्रति सदस्यको रु। सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान छ । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई नेपाल सरकारले नै प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।

सरकारले बीमामा आवद्ध पाँच जना सदस्यलाई वार्षिक रु। एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको हो । नेपालको संविधान २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकको रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२–७३ देखि यो कार्यक्रम लागु भएको हो ।

जिल्लामा पहिलो चरणमा नै लागु भएको स्वास्थ्य बीमामा सबै वर्ग बीमामा आवद्ध भएका छन् । बीमा गरेपछि निजी क्लिनिक जाने बिरामी सरकारी अस्पताल, स्वास्थ्य चौकी जाने प्रचलन समेत बढेको छ । स्वास्थ्य बीमा कार्यक्रम लागु हुँदासाथ आम सर्वसाधारण जनता अनविज्ञ भएपनि हाल आएर बीमा अनिबार्य रहेछ भन्ने ज्ञान आम नागरिकमा जागेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत तोकिएको अस्पताल तथा स्वास्थ्य संस्थामा बहिरङ्ग सेवा, प्रयोगशाला, एक्सरे, इलेक्ट्रो कार्डियोग्राफी, ड्रेसिङ, घाउ चिरफार, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, कोलोनोस्कोपी, फिजियोथेरापी, अकुपञ्चर, प्रजनन स्वास्थ्य सेवा तथा बाल स्वास्थ्य सेवाको प्याकेजको सीमासम्म निःशुल्क उपचार हुन्छ ।

यसका साथै मधुमेह, आँखा उपचार, अक्सिजन सेवा, प्रसुति, सर्जिकल वार्ड, मेडिकल वार्ड, कन्सल्टेन्सी सेवा, औषधि, दन्त उपचार सेवा, स्वास्थ्य जोखिम परीक्षण, क्यान्सर, मुटुरोग, मिर्गौला, स्पाइनल तथा हाड इन्जुरी, सिकलसेल एनेमिया, पार्किन्सन, दम, अल्जाइमर तथा डिमेन्सिया रोगको पनि निःशुल्क उपचार हुने ब्यवस्था रहेको छ । त्यस्तै, सरकारले तोकेको झण्डै एक हजार एक सय ३३ प्रकारका निःशुल्क औषधि प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार