इलाम : जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले मातहतका युनिट इन्चार्जहरुलाई विभिन्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय इलामको सभा हलमा आयोजित एक कार्यक्रममा उनले प्रहरी कर्मचारीहरुलाई व्यावसायिक आचरण कायम राख्न, कुनै पनि प्रलोभनमा नपर्न र शून्य सहनशीलताको नीति अवलम्बन गर्न निर्देशन दिए।
प्रहरी प्रमुख कोईरालाले सबै प्रहरी कर्मचारीहरुलाई अनुशासनमा रही व्यावसायिक प्रहरी कर्मचारीको रुपमा कार्य सम्पादन गर्न, कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शुन्य सहनशिलतामा कार्य गर्न, आचरणमा रही काम कारवाही गर्न र कुनै पनि घट्ना घटे तत्काल Response गरी अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्न निर्देशन दिए।
उनले मातहतका कार्यालयहरुलाई आफ्नो क्षेत्रको परिवेश अनुसार मदिराजन्य चिजबस्तुलाई नियन्त्रण गर्न, लागुऔषधलाई पूर्ण रुपमा नियन्त्रण गर्न र फरार अभियुक्तहरुलाई पक्राउ गर्न विशेष रुपमा प्रहरी सक्रियताका साथ लाग्न निर्देशन दिए।
साथै, उनले प्रहरी-समुदाय साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्न र समुदायसँग सहकार्यलाई थप प्रभावकारी बनाउन निर्देशन दिए। उनले मातहतका कार्यालयहरुलाई आफ्नो एरिया प्रहरी-समुदाय साझेदारी कार्यक्रम अनुरुप बिभिन्न सचेतनामुलक कार्यक्रम गरी जाहेर गर्न निर्देशन दिएका हुन ।