इलामः इलामको देउमाई नगरपालिकास्थित सिङ्गलप्पामा रहेको जट्टेश्वर महादेव धामको प्रवर्द्धनमा स्थानीयले चासो देखाएका छन् । आगामी फागुन १४ गते महाशिवरात्रीका अवसरमा लाग्ने धार्मिक मेला संचालन गर्न यस ठाउँका देशभित्र तथा बाहिर रहेका सहयोगी दाताबाट आर्थिक सहयोग गर्नेको लहर बढेको छ । कोरोना महामारीपछि केही वर्ष स्थगित भएको मेलालाई भव्यताका साथ संचालन गर्ने उदेश्यले स्थानीयसंगै हाल देश बाहिर रहेका महानुभावहरु आर्थिक सहयोग गर्न कम्मर कसेर लागेका छन् । देउमाई नगरपालिका घर भई हाल यूएई, दक्षिण कोरिया, मलेसिया, अमेरिका, स्पेन, साउदी अरेबियालगायतका मुलुकमा साथै जिल्ला बाहिर रहेका सहयोगी दाताबाट एक हजार रुपैंयादेखि १३ हजार ९९९ रुपैंयासमेत मेला आयोजना गर्न सहयोग गरिरहेको आयोजक समितिका अध्यक्ष सूर्यबहादुर कार्कीले जानकारी दिए ।
आफ्नो ठाउँको धार्मिक स्थलको महिमा बढाउँदै जन्मथलो प्रति माया,सद्भाव र सहिष्णुता कामय राख्न साथै धार्मिक तथा सामाजिक सद्भाव बढाउने अपेक्षासहित धार्मिक कार्यक्रमको आयोजना गरिएको उनीहरु बताउँछन् । यस्तो कार्यले समुदायलाई एकताको भावनामा बाँध्न सहायता मिल्ने आर्थिक संकलन अभियानमा जोडिएका अभियानकर्ताहरुको ठम्याइ छ । प्राकृतिक रुपमा सु-सञ्जित देवशिला भएको देउमाई नगरपालिका ५ नम्बर वडामा रहेको यो धाम पहिलो तीर्थस्थलको रुपमा परिचति छ । यस ठाउँमा देवस्थल उत्पति भएपछि मन्दिर निर्माण गरियो । मन्दिर स्थापना कालदेखि हालसम्म संरक्षण समितिको अध्यक्ष खेल बहादुर डाँगी रहेका छन् ।
२०७४ सालमा उद्योग वाणिज्य संघ मंगलबारे शाखाका अध्यक्ष मातृका घिमिरेको प्रमुख आथित्यतामा मन्दिर उद्घाटन गरिएको थियो । त्यसपछि २०७७ सालमा नारायण खत्रीको अध्यक्षतामा पहिलो पटक ऐतिहाँसिक धार्मिक मेलाको आयोजना गरिएको थियो । पहिलो धार्मिक मेला उक्त समयमा पनि स्थानीयको आर्थिक सहयोगमा भव्यताका साथ सम्पन्न भएको थियो । आगामी समयमा यस प्रकारको धार्मिक मेलालाई स्थापित गर्दै निरन्तर आयोजना गर्ने स्थानीयबासीले लक्ष्य राखेका छन् ।