सरकारले पहल नगरे ‘नो केबलकार समूह’ फेरि आन्दोलनको तयारीमा

  नयाँ बुलन्द
217 Shares

इलाम :  सरकारी टोलीसँग वार्तामा सहमति हुन नसकेपछि ताप्लेजुङस्थित पाथीभरा (मुक्लुमलुङ) मा केबलकार निर्माणको विरोधमा आन्दोलनरत ‘नो केबलकार समूह’ ले थप आन्दोलन गर्ने तयारी गरेको छ।

आइतबार भएको वार्तामा कुनै सहमति हुन नसकी निष्कर्षविहीन टुंगिएपछि सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने आन्दोलनरत पक्षले जनाएको छ।

वार्ता सफल नभएपछि उक्त समूह काठमाडौंको माइतीघरमा भेला भएर ध्यानाकर्षण गराएको थियो। कर्मचारीस्तरको टोलीसँग वार्तामा कुनै निष्कर्ष निस्कन नसक्ने भन्दै आन्दोलनरत पक्षले उक्त टोली अस्वीकार भएको बताएको छ।

आन्दोलनरत पक्षका प्रतिनिधि सन्तोष मेहताले मन्त्रीस्तरीय वा उच्चस्तरीय वार्ता टोलीसँगमात्रै संवाद गरिने बताएका छन्। आज आइतबारसाँझसम्म यसका लागि सरकारले पहल नगरे आन्दोलनका कार्यक्रम घोषणा हुने उनको भनाइ छ।

वार्ताका क्रममा सरकारी टोलीले केबलकार बन्ने र त्यसका लागि सेयर, रोजगारीलगायतमा मिलाउने प्रस्ताव गरेको आन्दोलनरत पक्षले जनाएको छ । उक्त विषयमा आन्दोलनरत पक्षले असहमति जनाएको छ।

यसअघि माघ २२ गते भएको वार्तामा केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य तत्कालका लागि रोक्ने सहमति भएको थियो। सहमतिपछि आन्दोलन स्थगित भएको थियो।

यसैबीच, ताप्लेजुङबाट प्रतिनिधित्व गर्ने संघीय सांसद योगेश भट्टराईले आन्दोलनरत पक्षसँग कुराकानी गरेका छन्। कुराकानीपछि उनले गृहमन्त्रीसँग भेट गर्ने आन्दोलनकारीको आग्रह अनुसार भोलि सोमबार भेट हुने बताएका छन्।

आन्दोलनकारीसँगको भेटपछि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्–

आज बिहान १० बजेदेखि अपराह्न १२ बजेसम्म निर्माणाधीन पाथीभरा केवलकारका बारेमा आन्दोलनरत पक्षका प्रतिनिधि मित्रहरूसंग सौहाद्रपूर्ण संवाद गरियो। वहाँहरूका कुरा सुर्ने। मेरा कुरा भर्ने।

वहाँहरूले माननीय गृह मन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यस्को समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृह मन्त्रीज्यूलाई अनुरोध गरें। माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु।

आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्ता मार्फत् समस्याको समाधान गर्न अनुरोध गर्दछु।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार