महाशिवरात्रीका अवसरमा सिङ्गलप्पा फेदीमा धार्मिक मेला लाग्ने, नवनिर्मित मन्दिर उद्घाटन गरिन्दै

  युद्धबहादुर बोहोरा
322 Shares

इलामः इलामको देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाको संगमस्थल देउमाई खोला किनारमा अवस्थित धार्मिक स्थलमा मेला लाग्ने भएको छ । फाकफोकथुम ७ र देउमाइको ५ नम्बर वडास्थित सिंङ्गलप्पा फेदीमा रहेको देउमाई धार्मिक पर्यटकीय स्थल जट्टेश्वर महादेव धाममा महाशिवरात्री अवसरमा आगामी फागुन १४ गते धार्मिक मेला लाग्ने महाशिवरात्री धार्मिक मेला आयोजक समितिका अध्यक्ष सूर्य बहादुर कार्कीले जानकारी दिए । नगरपालिकाको पर्यटकीय गन्तव्यमा सुचीकृत भइसकेको यस धार्मिक स्थलमा श्रदालु भक्तजन र पर्यटकलाई भित्र्याउने उदेश्यले गरिएको मेलाको आयोजनाले यस ठाउँलाई धार्मिक पर्यटकी क्षेत्रको रुपमा विकाश गर्न सहायता पुग्ने स्थानीय शिक्षासेवी तथा बुद्धिजीवी भक्त कार्कीले बताए । चार रोपनी क्षेत्रफलमा रहेको यो प्राकृतिक धार्मिक स्थल भौगोलिक विकटताका कारण  प्रचारप्रसाको अभावमा ओझेल परेको छ । यस ठाउँमा अलवेदर सडक बन्ने हो भने आगन्तुकको भीड लाग्ने अनुमान गरिएको छ । यो स्थान धार्मिक पर्यटकीयसंभावना बोकेको गन्तव्य बन्ने स्थानीयको बुझाइ छ ।

प्राकृति शिलाहरुले सुसज्जित यस स्थानमा उत्पत्तीका समयदेखिनै लगातार मेला आयोजना गरिएको थियो । कोरोना महामारीको समयमा स्थगित भएको मेला पुनः भव्यताका साथ सुचारू गरिने जनाइएको छ । यसै अवसरमा नगरपालिकाको लगानीमा नवनिर्मित मन्दिर विधिपूर्वक पुजा आराधना, भजन किर्तनका समेत गरि उद्घाटन हुने भएको छ ।  साथै विभिन्न जातजातिका झाँकी प्रदर्शनलगायत मनोरञ्जनात्कम कार्यक्रमहरुको आयोजना गरिएको बताइएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साथमा वृहत साँस्कृतिक,सांगीतिक कार्यक्रमको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिए ।

यस्तो छ जट्टेश्वर महादेव उत्पत्तीको कहानी

देउमाइ नगरपालिका ५ नम्बर वडास्थित सिङ्गलप्पा टोल निवासी स्व.मतपसिंह र तिलरुपा कार्कीका छोरा भोलानाथ (धनबहादुर) कार्की एक सर्वसाधरण व्यक्ति हुन् । उनी कुनै पुजारी वा धार्मिक व्यक्ति थिएनन् । तर, २०७३ साल फागुन ७ गते अघि उनले फाकफोकथुम ७ र देउमाइ नगरपालिका ५ नम्बर वडास्थित सिंङ्गलप्पा फेदीमा रहेको देउमाई खोला किनार जहाँ पितृहरुलाई दाहसंस्कार गरिन्दै आएको ठाउँ छ त्यस स्थानमा देवशीला रहेको पटक-पटक सपनामा देखे । उक्त स्थानमा देवताका आकृति भएका प्राकृतिक शिलाहरु यत्र-तत्र छरिएर रहेको देखेपछि फागुन ७ गते बिहानै उठेर त्यहाँ हेर्दा सपनामा देखेको जस्तै पाए। त्यसपछि गाउँ टोलमा आएर छरछिमेकलाई सबै कहानी बताए । स्थानीय बासी गएर हेर्दा साक्षात देव मूर्ती शिलाहरु देखेपछि आश्चर्य चकित भए । उनीहरुले कुनै धार्मिक व्यक्ति जान्ने गुरुलाई ल्याएर देखाउने र शिलाहरुको विधिपुर्वक व्यवस्थापन गर्ने सल्लाह गरे । यसैक्रममा यस नगरपालिका -४ मंगलबारे नजिकै याक्सी निवासी निलकण्ठेश्वर महादेवका प्रतिरुप शिखर बाबा नामले चिनिने टंक खनाललाई बोलाउने निर्णय गरे । केही समयपछि शिखरबाबा पनि त्यहाँ पुगे ।

उनले शिलाहरुको अवलोकन गरी ध्यान दृष्टिले हेर्दा शिलाहरु साक्षात् देवताहरुकै अवतार हुन् । यी देवमूर्ति शिलाहरुलाई यसै ठाउँमा मन्दिर बनाइ विधिपुर्वक व्यवस्थापन गर्नुपर्छ भन्ने सल्लाह दिए । देखिएका शिलाहरुको नामाकरण गर्नुका साथै मन्दिरको नाम जट्टेश्वर महादेव मन्दिर रहनेछ भनि उनले नामाकरण गरी दिए । देव आकृतिका शिलालाई विधिपुर्वक व्यवस्थापन र पुजा विधिमा स्थानीय किराँत धर्मगुरु जयबहादुर लिम्बुको पनि महत्वपुर्ण योगदानसहित सहयोग गरे । त्यस पछि यस ठाउँमा हेर्न आउनेहरुको भीड लाग्न थाल्यो ।

प्राकृतिक देवस्थल उत्पत्ती भएपछि श्रद्धालु भक्तजनलाई सहज होस भन्ने हेतुले मन्दिर बनाउन गाउँबासी महिनौ सम्म लगातार श्रमदान र चन्दादान संकलनमा जुटे । यस ठाउँको खबर सुनेपछि टाढाबाट धार्मिक व्यक्तित्वहरुले पनि यथासक्य चन्दादान गरी सामान्य मन्दिर निर्माण कार्य २०७४ बैशाख महिनाको पहिलो सातामा सम्पन्न भयो ।

मन्दिर निर्माण कार्य सम्पन्न भएपछि ठूलो यज्ञ र पुजा विधिका साथ नगर भित्रका धार्मिक, सामाजिक गन्यमान्य व्यक्तिहरुको उपस्थितिमा हुन थाल्यो ।  बैशाख ३० गते धुमधामका साथ मन्दिरको उद्घाटन गरी मन्दिरमा नित्य पुजा आरधाना सुरु भयो। शिलाहरुलाई व्यवस्थित तरीकाले संरक्षण गर्दै नामकरण थालियो । हाल उक्त देव शिलाहरुलाई गणेश भगवान, बासुकी नाग, जट्टेश्वर महादेव, ज्योतिर्लिङ्ग, सूर्यबाहिनी, कोलधारी, कछुवा, खराउ, चक्र र कार्तिकेश्वर नाम दिइएको साथै शिलाहरु मन्दिर भित्र सजाइएर राखिएको छ ।

मन्दिर बाहिर नदिकै छेउमा शिवलिङ्ग पनि छन् । देउमाई नदी यसै ठाउँबाट बग्ने गर्दछ । खोलापारी किनारमै ठूलो शिलामा प्राकृतिक कुण्डहरु रहेका छन् । उक्त कुण्डको नाम सूर्य कुण्ड रहेको छ। त्यहाँ पुगेपछि उक्त कुण्डको पनि दर्शन गर्ने चलन छ ।

 

२०७४ साल बैशाख ३० गतेदेखि श्रदालु भक्तजनहरुलाई पुजा आराधना गर्नका लागि खुल्ला गरियो । त्यसपछि सपनामा देव आकृति त्यस ठाउँमा  देख्ने उनै भोलानाथ (धनबहादुर) कार्की पुजारीको रुपमा प्रकट भइ एक धार्मिक व्यक्ति धर्म गुरुका रुपमा परिणत भएका छन् । विशुद्ध प्राकृति शिलाहरुले सुसज्जित  जटेश्वर महादेव मन्दिर देउमाई नगरपालिकाको धार्मिक पर्यटकीय स्थल हो। यो धार्मिक स्थल सबै जाति र धर्मको साझा धरोहर रहेको छ । नगरपालिकाको प्राविधिक तथा आर्थिक सहयोगमा पक्की नयाँ मन्दिर पनि बनिसकेको छ । यसै स्थानमा बनेको नवनिर्मित मन्दिर  आगामी फागुन १४ गते महाशिवरात्रीका अवसरमा उद्घाटन गरिने कार्यक्रम रहेको छ ।

यस धार्मिक स्थलमा विभिन्न समस्या लिएर आउने मानिसहरुको उद्धार हुँदै आएको जनविश्वस छ । आजभोली धेरै भक्तजनहरुको धार्मिक आस्थाको केन्द्र बन्दै गएको स्थानीयहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार