पाँचथरः प्रेस चौतारी नेपाल पाँचथरको सातौं जिल्ला अधिवेशनबाट मदन थापा सर्वसम्मत अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
वर्ल्ड कम्युनिकेशन मिडिया प्रालिद्वारा संचालित विश्वसंञ्चार अनलाईनका संचालक समेत रहेका थापा लामो समयदेखि संचारकर्ममा आवद्ध छन् ।पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा कर्मथलो बनाएर ग्रामीण पत्रकारिता गरि रहेका उनी सरल र भद्र साथै मिलनसार युवा पत्रकारका रुपमा परिचित छन् । इलाम,पाँचथर र तेह्रथुम जिल्लाका हरेक गतिविधिलाई प्रसारण गर्ने विश्वसनीय संचार माध्यमको रुपमा उनले संचालन गरेको मिडिया स्थापित हुँदै गएको छ ।
संगठनको २७ औं स्थापना दिवशको अवसर पारेर मंगरबार फिदिमको आदर्श सरगम होटलमा सम्पन्न अधिवेशनले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिमा उपाध्यक्ष दुर्गा खनाल र जीवन गौतम रहेका छन् भने सचिव ईवारा जबेगू,सहसचिवमा राजकुमार ईसारा राई र चिरञ्जीवी विश्वकर्मा साथै कोषाध्यक्ष मौसम सम्बाहाम्फे चयन भएका छन् ।
सदस्यहरु विकास घिमिरे ,निसन लुईटेल,डेविट ओझा,मनोज थापा,अप्सना रम्तेत ,सन्तोष खनाल र पुङ्मिहाङ नेम्वाङ रहेका छन् । अधिवेशनले प्रदेश प्रतिनिधि रविन्द्र काफ्ले,केन्द्रीय प्रतिनिधिमा दिलकुमारी योञ्जन र सागर खनाललाई चयन गरेको छ ।
प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा पाँचथर जिल्ला इन्चार्ज अइन्द्र सुन्दर नेम्वाङ, विशिष्ट अतिथिमा नेकपा एमाले जिल्ला अध्यक्ष विष्णु प्रसाद सापकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सन्दीप राई,प्रदेश कमिटी सहसचिव नवराज विष्ट, जिल्लाका पार्टी नेताको उपस्थिति रहेको कार्यक्रममा पूर्वअध्यक्ष तुलसी थापा, दलित पत्रकार संघ प्रदेश सदस्यमा निर्वाचित चिरन्जीबी विश्वकर्मा र फोनिज प्रदेश सदस्यमा निर्वाचित मौसम सम्बाहाम्फेलाई कदरपत्रसहित दोसल्ला ओढाएर अतिथिले सम्मान गरेका थिए ।
नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भीम कुमार बाँस्कोटा, फोनिज प्रदेश अध्यक्ष विजयबोध लावती,प्रेस युनियनका जिल्ला अध्यक्ष खबिन लुइँटेल, प्रेस सेन्टर जिल्ला अध्यक्ष युद्धबहादुर बोहोरालगायतका अतिथिले शुभकामना राखेको अधिवेशन निवर्तमान अध्यक्ष रविन्द्र काफ्लेको अध्यक्षतामा भएको थियो।