भाषाविद् मलिसा याक्थुङ्बासहित दुई जनालाई सम्मान गर्दै जनकल्याण माविले मनायो सरस्वती पुजा

  युद्धबहादुर बोहोरा
518 Shares

पाँचथरः  भाषाविद् मलिसा याक्थुङ्बासहित दुई जनालाई सम्मान गर्दै फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाको कोल्बुङस्थित जनकल्याण माद्यमिक विद्यालयले सरस्वती पुजा मनाएको छ ।

पुजाका अवसरमा लिम्बु भाषाका  खोज, अनुसन्धानकर्ता तथा साहित्यकार महेन्द्र कुमार नेम्बाङ (मलिसा) ले भाषा तथा साहित्यमा पुर्याएको योगदानको कदर गर्दै उनलाई नगद, कदरपत्र र दोसल्लाले सम्मान गरिएको छ । फाल्गुनन्द आधारभूत विद्यालय फाल्गुनन्द- २ इम्बुङका प्रधानध्यापकसमेत रहेका नेम्बाङ लामो समयदेखि लिम्बु भाषा तथा साहित्यमा कलम चलाउँदै आएका छन् । उनले लिम्बु भाषामा आधारित विभिन्न कृतिहरु पनि प्रकाशन गरेका छन् ।

उनीसंगै जनकल्याण माविमा कक्षा ५ मा अध्ययनरत नोनिम लिम्बुलाई पनि नगद सहित सम्मान गरिएको छ । यस विद्यालयका विद्यार्थी मध्ये लिम्बु भाषामा उत्कृष्ट ज्ञान भएका लिम्बु सम्मानित भए । विद्यालयका संस्थापक स्व.सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा उनका परिवारले स्थापना गरेको छ लाख १५ हजार रुपैंया अक्षय कोषको व्याजबाट विभिन्न विधाका शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको हो ।

यसैबीच, गरीब तथा जेहेन्दार नर्सरी देखि १२ कक्षासम्मका ५५ जना छात्रछात्रालाई नगद छात्रवृत्ति समेत प्रदान गरिएको छ । पुस्तकालय  संचालन र व्यवस्थापन तर्फका २ जना शिक्षक करिस्मा लिम्बु र अविचन्द्र चेम्जोङलाई पनि पुरस्कृत गरिएको विद्यालयका शिक्षक बुसेन नेम्वाङले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर चेम्जोङको अध्यक्षतामा अक्षयकोषदाता परिवारका सदस्य दुर्गा चेम्जोङको प्रमुख आतिथ्यता, वडाध्यक्ष विष्णुकुमार चेम्जोङलगायतको  विशेष अतिथ्यमा सम्मानित हुनेहरुलाई पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना मन्तव्य राखेको कार्यक्रमलाई शिक्षक अम्बिका प्रसाद सापकोटाले संचालन गरेका थिए । विव्यसका सदस्य, शिक्षक अभिभावक संघका अध्यक्ष, भभिभावक तथा समाजसेवीहरुको उपस्थिति थियो ।

२०२३ सालमा स्थापना भएको यस विद्यालयले विभिन्न विधाका विद्यार्थी र शिक्षकलाई अक्षय कोषको व्याजबाट सम्मान गर्दै आएको छ । हालसम्म स्व.सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्रा स्मृतीसहित,मन बहादुर स्मृती, हर्कबोली जसरानी र भूतपर्व विद्यार्थी समाज गरी  चार वटा अक्षय कोष स्थापना भइ जम्मा १८ लाख ८१ हजार ६२० रुपैंया जम्मा रकम कोषमा खडा भइसकेको र थप हुने क्रम जारी रहेको जनाइएको छ ।

विद्यालयका प्रधानध्यापक पूर्ण कुमार सदेम्बाले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्य माथि प्रकाश पारे । उनका अनुसार स्व.सुवासचन्द्र चेम्जोङ र धर्मपत्नी पवित्राको नाममा रहेको छ लाख १५ हजार रुपैंयाको कोषबाट  स्व. चेम्जोङको जन्मदिन सरस्वती पुजाको अवसर पारेर सम्मान, पुरस्कार र छात्रवृत्तिको कार्यक्रम संचालन गरिएको जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार