लिम्बुवानका नौ जिल्ला आजदेखि बन्द, बन्दकर्ता ओर्लिए सडकमा

  नयाँ बुलन्द
1.2k Shares

फाइल तस्बिर

इलाम : ताप्लेजुको मुक्कुमलुङ (पाथीभरा) मा निर्माणाधीन केबलकारको विषयलाई लिएर ६ दिनदेखि मेची राजमार्गमा यातायात बन्द छ । बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दकाे प्रभाव आजदेखि अरुणपूर्वको नौ जिल्ला लिम्बुवान क्षेत्रमा फैलिएको छ ।

झापा, सुनसरी तथा मोरङमा पनि बिहानैदेखि सडकमा बन्दकर्ताहरू निष्किएर यातायात बन्द गरेका छन् । ती जिल्लामा मात्र नभएर पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभालगायतका जिल्लामा पनि यातायात बन्द भएको छ । बन्दकर्ताले यसअघि नै आइतबारदेखि लिम्बुवानका नौ जिल्ला बन्द गर्ने घोषणा गरेका थिए

६ दिनको बन्दले जनजीवन कष्टकर बन्दै जान थालेको छ । दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । खाना पकाउने ग्यास, चामल, तेललगायतका खाध्य वस्तुको समेत अभाव हुन थालेको छ ।

‘नो केबलकार समूह’ले गत माघ १२ गते भएको घटनालाई लिएर मेची राजमार्ग, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ आउने सबै नाकाहरूबाट प्रवेश बन्द गरेका थिए भने आजदेखि लिम्बुवानको नौ जिल्लामा बन्दको प्रभाव परेको छ ।

आन्दोलनकर्ताहरूले प्रहरीले नियन्त्रणमा लिएका तीनजनालाई रिहाइ गर्नुपर्ने, केबलकार निर्माण कार्य बन्द गर्नुपर्ने, काफ्लेपाटीमा रहेको  सशस्त्र प्रहरी फिर्ता गर्नुपर्ने माग राख्दै बन्दकाे आह्वान गरेका छन् । आफूहरूले राखेका मागको सम्बाेधन नभएमा ‘नो केबलकार समूह’ले २२ गतेदेखि आमहडतालको घोषणासमेत गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार