इलाम : पाथीभरा/मुक्कुलुङ केवलकार परियोजनाको विषयलाई लिएर ताप्लेजुङमा भएको झडप र त्यसपछि गरिएको अनिश्चितकालीन यातायात बन्दले इलाम सहित पुर्बी पहाडको जनजीवन अस्तव्यस्त बनेको छ । मेची राजमार्ग लगायत अन्य सडक सञ्जाल ठप्प हुँदा उद्योग, व्यापार, व्यवसाय र कृषिजन्य उत्पादनको निर्यातमा गम्भीर असर परेको भन्दै उद्योग वाणिज्य संघ, इलामले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।
संघले विवाद समाधानका लागि वार्ता र सहमतिको विकल्प नभएको भन्दै सबै सरोकारवालालाई शान्तिपूर्ण संवादको वातावरण बनाउन आग्रह गरेको छ।
“कुनै पनि असमझदारीलाई संवादको माध्यमबाट निकास निकाल्न सकिने भएकाले आधारभुत सेवा अवरोध जस्ता गतिविधिले दीर्घकालीन समाधान दिन सक्दैनन्,” संघका अध्यक्ष चेतनाथ पौडेल र महासचिव हेमन्त गौतमले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। “व्यवसायिक तथा आर्थिक स्थायित्व जोगाउन, पर्यटन प्रवर्द्धन गर्न, र स्थानीय जनताको हित सुनिश्चित गर्न शान्तिपूर्ण संवादको वातावरण निर्माण गर्नु आवश्यक छ।”
संघले सबै पक्षलाई संयमित रहन र जनजीवनलाई सहज बनाउन आग्रह गरेको छ। यातायात बन्दले दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ भने बिरामीहरुलाई अस्पताल पुर्याउन समेत समस्या भएको छ । यसले स्थानीय अर्थतन्त्रमा समेत नकारात्मक असर पारेको छ।
पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर स्थानीयवासी र निर्माण पक्षबीच विवाद चुलिएको छ। यसको समाधानका लागि दुवै पक्ष लचक हुन आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ।